PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

'अढाई वर्षीय बालकको अपहरण गरी क्रुरतापूर्वक हत्या, बली दिने झाँक्री पक्राउ'



पहिलोपोस्ट

'अढाई वर्षीय बालकको अपहरण गरी क्रुरतापूर्वक हत्या, बली दिने झाँक्री पक्राउ'

काठमाडौँः अढाई वर्षीय बालकको अपहरणपछि हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। धनुषा प्रहरीले हत्याको अभियोगमा धनुषा मिथिला नगरपालिका वडा नम्बर ६ बस्ने ५५ वर्षीय शत्रुधन महतोलाई बुधबार नियन्त्रणमा लिएको हो।

महतोले वैशाख २३ गते धनुषा मिथिला नगरपालिका ६ बस्ने शम्भुकुमार साहका अढाइ वर्षीय छोरा आर्यन भन्ने समीर कुमार साहको अपहरणपछि क्ररतापूर्वक हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

वैशाख २४ गते बालकको शव आफ्नै घर नजिकै रहेको खेतको झाडीमा धारिलो हतियारले घाँटी रेटी हत्या गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो।

महतोले बालककी आमा रेणुदेवी घाँस काट्न गएको अवस्थामा घरमा कोही नभएको मौका छोपी अपहरण गरेको प्रारम्भिक अनुसन्धामा खुलेको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी हरि बहादुर पालले बताए।

डिआइजी पालले अन्धविश्वासमा शत्रुधनले बालकलाई बली दिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको पनि बताए। पालले भने 'अपहरणपछि बालकलाई आफ्नै घरमा बन्धक बनाई राखेको देखियो। वैशाख २४ गते बिहान २ बजेतिर शत्रुधनले धामी झाँक्रीको काममा दख्खल बढाई शक्तिशाली हुने अन्धविश्वासमा नरबलीको रूपमा घर आँगनमा धारिलो हतियारले क्रुरुतापूर्वक घाँटी रेटी बालकको शव खेतमा फालेको देखिएको छ।'

मृतकका हजुरबुबा पीताम्बर साहले शत्रुधनका नाममा अपहरण गरी शरीर बन्धक कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन्।

प्रहरीले अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ। घटना अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell