PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

जोखिम मोलेर लाखदेखि करोड कमाउन, यसरी हुन्छ पाटनतिर यार्सा टिप्नेको यात्रा



पी बी खड्का

जोखिम मोलेर लाखदेखि करोड कमाउन, यसरी हुन्छ पाटनतिर यार्सा टिप्नेको यात्रा

सुर्खेत: प्राकृतिक सम्पदाले सुन्दर कर्णाली। जल, जमिन र जंगलले भरिएको। पानीको स्रोत पर्याप्त, भुगोल ठुलो र जडिबुटीको खानी।

जडिबुटीमा सम्भावित कर्णालीमा यतिबेला बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनको लहर शुरु भएको छ।

हिमाली जिल्ला डोल्पा र मुगुमा चार दिनअघि यार्सा संकलनको अनुमति दिएसँगै यतिबेला यार्सा टिप्न पाटन जानेको लर्को लागेको छ। यार्सा संकलनका लागि अहिले डोल्पा र मुगु गरी १६ वटा नाका खुला गरिएको छ। डोल्पाका १४ नाका र मुगुको २ वटा। सर्वसाधारणलाई एक महिनासम्म खुला रहने छ यी नाका।

डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको माथिल्लो डोल्पा, रिग्मो, साल्दाङ्, धो, त्रिपुराकोट, तोइजुम, खालीवन, सुलिगाड, भिजेर, सुम्दुवा, छेप्का, पलमलगायत १४ वटा पाटनक्षेत्र र मुगुको डोल्फु र किम्री पोष्टबाट यार्सा संकलनका लागि अनुमति दिएको हो। यसअघि हिउँ परेका कारणले यार्सा संकलन गर्न नसकिने हुँदा अहिलेसम्म यार्सा संकलनका लागि ५० बढी पाटन खुलिसकेका छन्।

निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवकाअनुसार संकलकलाई छुट्टाछुट्टै प्रवेश शुल्क लिएको छ। उनले दिएको जानकारी मध्यवर्ती क्षेत्रका सर्वसाधारणलाई ५ सय, मध्यवर्ती क्षेत्रबाहेक जिल्ला भित्रका सर्वसाधारणका लागि २ हजार र जिल्ला बाहिरका सर्वसाधारणका लागि ३ हजार प्रवेश शुल्क लिएको हो। हरेक वर्ष यार्सा संकलन गर्न जुम्ला, मुगु, हुम्ला, डोल्पा, जाजरकोट, रुकुम पश्चिम र रुकुम पूर्व लगायतका छिमेकी जिल्लाहरुका सर्वसाधारणहरु यार्सा टिप्न पाटन पुग्ने गर्दछन्।

 

यार्सा टिप्न तछाडमछाड

यार्साको आम्दानी लोभलाग्दो भए पनि संकलन गर्न भने सजिलो छैन। कतिपयको यही मृत्यु हुन्छ, कतिपय वीचबाटोमै लुटिन्छन्। भौगोलिक विकटतासँग पौठेजोरी खेल्दै ज्यानको बाजी थापेर यार्सा संकलन गर्ने गर्छन्। ज्यान जोगाउन भने निकै मुश्किल हुने गर्छ। अझै कतिपय नागरिक बिरामी परेर बीचबाटै फर्कनुपर्ने, लेक लागेर मृत्यु हुने हुन्छ।

कोही बिरामी भएर बीचमै फर्कनुपर्ने बाध्यता हुन्छ भने कसैको त लेक लागेर ज्यानै जान्छ। यी जोखिम भए पनि समग्रमा यार्साको आम्दानी भने राम्रो देखिन्छ। जसले गर्दा पनि यार्सा संकलनका लागि पाटन जानेहरु तछाडमछाड गर्छन्। यार्साबाटै आफ्नो वर्षदिनको खर्च जोहो गर्नेहरु पनि छन्। बर्षौदेखि यार्सा संकलन गर्दै आएका व्यक्ति र परिवारले न्युनतम लाखदेखि  करोडसम्म कमाउने गर्छन्।

 

कहाँ पुग्छ यहाँको यार्सा ?

बहुमूल्य जडिबुटी यार्सा स्वदेशमा उपयोग हुन नसक्दा विदेशिने गरेको छ। स्वदेशमा जडिबुटीको प्रवर्द्धन गर्न नसक्दा नेपाली यार्सा अधिकांश अवैधरुपमा विदेशिने गर्छ। यार्सा हाल चीन, भारत लगायतका देशमा निर्यात हुन्छ।

सीमा जोडिएका विशेष गरेर चीनको छोङछाओ, तोङछोङ, स्याछाओ लगायतका शहरमा यसको माग निकै बढेको व्यापारीहरु बताउँछन्। त्यहाँका स्थानीयले सिंगै यार्सा वा त्यसबाट बनेका विभिन्न ‘डायटरी सप्लिमेन्ट’ का क्याप्सुल एकअर्कालाई उपहार दिन्छन्। चीनले यार्साबाट चुरोटदेखि ह्विस्की र विभिन्न औषधिहरु उत्पादन गरी बजारमा पठाउने गरेको छ।

 

कति पाउँछन् यार्साको मूल्य?

जोखिम मोलेर संकलन गरेको यार्साको मूल्य भने आकर्षक रहेपनि यहाँका नागरिकले न्युन मूल्यमा बेच्नुपर्ने बाध्यता छ। यार्सा निर्यात गर्ने एजेण्डले ठुलो मात्रामा कमिसन लिने हुँदा संकलनकर्ताको हातमा भने मूल्य न्युनमात्र पर्छ।

भर्खर टिपेको र ढुसी नपरेको एउटा यार्साको सामान्यतया मूल्य तीन सय पर्छ। किलोमा कम्तीमा २० लाखदेखि ३० लाख रुपैयाँसम्म। तर, यो मूल्य पनि निकै कम हो।

चीनमा यसको एक किलो यार्साको मूल्य एक करोडको हाराहारीमा पुग्छ। यार्सा लैजाने एजेन्डहरुले आफूखुशी मूल्य तोक्छन्। वर्षैपिच्छे नेपाल सरकारले यार्साको मूल्य तोकेपनि त्यो मूल्य यहाँका संकलकले पाउँदैनन्।

 

यार्साको खोजीले विद्यालय बन्द

यतिबेला हिमाली जिल्ला डोल्पाका अधिकांश विद्यालय बन्द छन्। विद्यार्थी र शिक्षकहरु यार्सा संकलनमा गएपछि यहाँका विद्यालय बन्द हुन पुगेका हुन्। आम्दानीको स्रोत राम्रो हुने भएपछि अभिभावकसँगै विद्यार्थीहरु पाटनतिर पुगेका छन्। विद्यार्थीहरु नभएपछि त्रिपुरासुन्दरी नगरपालिकामा १ को त्रिपुरा मावि काटियाँचौर, वडा नं २ मा त्रिपुराकोट मावि, जनप्रभा मावि लिकु, मुकुटेश्वर मावि फुल्चिङ, कस्तुरी आभारभूत विद्यालय भुतिङ्ग्रा, आदर्श मावि जुफाल, सरस्वती मावि दुनै, लक्ष्मी मावि थर गाउँ, अन्नपूर्ण मावि शर्मी, त्रिपुरा मावि काइगाउँ, भगवती मावि थरगाउँ, तापरिजा मावि फोक्सुण्डो लगायतका विद्यालयहरु बन्द भएका छन्।

यता, जनप्रभा मावि लिकुका प्रधानाध्यापक यामप्रसाद शर्माले ९५ प्रतिशत विद्यार्थी उपस्थित नभएपछि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको बताए। शर्मा भन्छन् ‘९५ प्रतिशत विद्यार्थी अनुपस्थित छन्। विद्यार्थी सबै यार्सा टिप्न गए। विद्यार्थी नआएपछि के पढाउनु? विद्यालयनै बन्द गर्नुपर्ने अवस्था आयो।’

विद्यार्थी नभएकै कारण विद्यालय बन्द गर्नुपरेको उनको दाबी छ। डोल्पाका एक सय १४ विद्यालयमध्ये अधिकांश विद्यालय एक महिनाका लागि बन्द भएका छन्। यार्सा संकलनले यहाँका विद्यार्थीको पढाई प्रभावित भएको छ।

 

औषधिसहितको स्वास्थ्यकर्मी

यार्सा संकलकको स्वास्थ्यलाई मध्येनजर गर्दै डोल्पामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ। यार्सा संकलनका क्रममा बिरामी हुने, लेक लाग्ने, चोटपटक लाग्ने भएकाले स्वास्थ्यकर्मी परिचालन गरिएको हो। आवश्यक औषधीसहित नौँ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।

 

सुरक्षाकर्मी परिचालन

यार्सा संकलनका क्रममा सुरक्षा व्यवस्थालाई मध्येनजर गरी सुरक्षाकर्मी परिचालन गरिएको छ। यो समयमा अराजक गतिविधि बढ्ने भएकाले स्थानीय प्रशासन डोल्पाले यार्सा संकलन पाटनमा सुरक्षाकर्मी परिचालन गरेको छ। प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार यार्सा संकलनलाई सहज र अपराधमुक्त गराउन विशेष सुरक्षा योजना लागु गरिएको छ।

यतिबेला यार्सा संकलन गर्ने पाटनमा अक्सिजनसहितका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निकुञ्जका कर्मचारी परिचालित भएका छन्। यार्सा संकलनको अवधिभर पाटनमा मदिराजन्य पदार्थ, जुवातास र खेलकुद लगाएत अन्य कुनैपनि गतिविधिमा रोक लगाईएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell