PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

नारै नाराले समृद्ध बजेट : कोही भोकै पर्दैन, भोकले कोही मर्दैनदेखि नेपालको पानी, जनताको लगानीसम्म



पहिलोपोस्ट

नारै नाराले समृद्ध बजेट : कोही भोकै पर्दैन, भोकले कोही मर्दैनदेखि नेपालको पानी, जनताको लगानीसम्म

काठमाडौं : समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेको ने क पा अध्यक्ष केपी शर्मा ओलीको सरकारले बजेटमार्फत् केही नाराहरु अघि सारेको छ। संघीय संसदमा बुधवार आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दा अर्थमन्त्री युवराज खतिवडाले केही नाराहरु अघि सारेका छन्। सरकारका अनुसार सामाजिक न्यायसहितको तीव्र विकास, सुशासनसहितको जनउत्तरदायी राज्य र सभ्य, सुसंस्कृत एवं कर्तव्यनिष्ठ समाज निर्माण समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने मापदण्ड हुन्। के छन् त सरकारका नारा र त्यसलाई पूरा गर्ने तरिका? 

साक्षर नेपाल, सबै बालबालिकालाई विद्यालय पठाऔं

सरकारले आगामी आगामी आर्थिक वर्षसम्म ७० जिल्लालाई पूर्ण साक्षर बनाउने लक्ष्य राखेको छ।  साक्षर नेपाल घोषणा गर्न साक्षरता अभियानको साथै विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय पठाऔं भन्ने नारा सरकारले अघि सारेको छ। यो लक्ष्य प्राप्तिका लागि मदरसा, गुरुकुल र गुम्बा शिक्षालाई समेत आधुनिक शिक्षाको मुलधारमा ल्याइने अर्थमन्त्रीले बताएका छन्।

चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश

सरकारले संघीय बजेटमा राखेको अर्को नारा हो चिनौं आफ्नो माटो, बनाऔं। यस अभियानमा प्राविधिक विषयमा स्नातकोत्तर तथा स्नातक युवालाई विद्यालयमा स्वयंसेवकको रुपमा खटाउने उल्लेख गरिएको छ। शिक्षक कम भएका विद्यालयमा गणित, अंग्रेजी र विज्ञान शिक्षकका रुपमा त्यस्ता युवाहरुलाई परिचालन गर्ने सरकारको योजना छ। स्वयंसेवक र उल्लेखित बिषयहरुका शिक्षकको शिक्षण सिकाइका लागि सरकारले १ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ।

कोही भोकै पर्दैन, भोकले कोही मर्दैन

सरकारले जनतामा रहेको गरीबीको मनोविज्ञान हटाएर आत्मविश्वाश जागृत गर्ने नारा अघि सारेको छ। यस अन्तर्गत शहीद, द्वन्द्व पीडित परिवार र घाइतेलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएको छ। त्यस्तै गरीवसँग विश्वेश्वर कार्यक्रमलाई अन्य कार्यक्रमसँग समन्वय गरी चरम गरीवीमा रहेका स्थानीय तहमा गरीवी निवारणका कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेको छ।

युवाको जाँगर, समृद्धिको आधार

सरकारले आगामी आर्थिक वर्षलाई युवा परिचालन वर्षको रुपमा मनाउने घोषणा गरेको छ। यस अभियानमा लैङ्गिक, जातीय र छुवाछुत लगायतका सामाजिक विभेदको अन्त्य गर्न जनचेतनाका कार्यक्रम सञ्चालन गर्नेछ। स्थानीय तहको सहकार्यमा शैक्षिक संस्था, नेपाल स्काउट, राष्ट्रिय युवा परिषद तथा गैरसरकारी संस्थाहरुबाट युवा परिचालन गरिने बताएको छ। जनचेतनाका साथमा मानवीय सेवा, विपद व्यवस्थापन, वातावरण संरक्षजस्ता क्षेत्रमा युवा परिचालन गर्ने परिकल्पना बजेटले गरेको छ।

सबैलाई स्वस्थ्य आहार

सरकारले आगामी आर्थिक वर्षमा सबैलाई स्वास्थ्य आहार अभियानलाई जनस्तरसम्म पुर्‍याउने बताएको छ। यसका लागि सरकारले सबै प्रदेशमा खाद्य गुणस्तर प्रयोगशाला स्थापना गरिने परिकल्पना गरेको छ। खाद्यान्न भण्डारणको क्षमतामा वृद्धि गर्नेदेखि खाद्य वस्तुमा गुणस्तर कायम गर्न किटनाशक विषादीको प्रयोगलाई सुरक्षित गर्नेसम्मका योजना अघि सारिने पनि बजेट भाषणमा उल्लेख छ।

आधुनिक जग्गा प्रशासन, पारदर्शिता र सुशासन

आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत् सरकारले अघि सारेको अर्को नारा हो पारदर्शिता र सुशासनको। यसका लागि सरकारले जग्गा प्रशासन सम्बन्धी कार्य अनलाइन प्रविधिबाट गर्ने बताएको छ। त्यस्तै भूकम्पका कारण क्षति पुगेका स्थानहरुमा नियन्त्रणका विन्दुहरुको सञ्जाललाई सुदृढ गराउने र त्यस्ता ठाउँको विकास निर्माणको लागि भू-सुचना उत्पादनको लागि लाइडर प्रविधि सञ्चालनमा ल्याइने बताएको छ। ‘लाइडर’ (लाइट डेटक्सन् एण्ड रेञ्जिङ्) प्रविधि भन्नाले ‘रिमोट सेन्सिङ्’ प्रविधिबाट जमिनको सतहको परीक्षण गरिने प्रविधि हो। यसका लागि सरकारले ७५ करोड रकम विनियोजन गरेको छ।

नेपालको पानी, जनताको लगानी

यो नारा अन्तर्गत सरकारले प्रत्येक नेपालीलाई आफ्नो क्षमता अनुसार लगानीको अवसर प्रदान गरिने बताएको छ। बजारमा छरिएको पूँजीलाई जलविद्युत विकासमा परिचालन गर्ने यो नाराको उद्देश्य हो। यस नारा अन्तर्गत माथिल्लो अरुण, किमाथान्का अरुण, त्रिशुली ३ बी, सान्जेन, माथिल्लो सान्जेन, फुकोट कर्णालीलगायतका १८ आयोजना निर्माणमा यो पूँजी लगानी गर्ने सरकारको योजना छ।

खोलौं बैंक खाता

सरकारले आगामी आर्थिक वर्षको अन्त्यसम्ममा सबै बालिग नेपालीको बैंक खाता खोलिसक्ने भन्दै खोलौं बैक खाता भन्ने नारा अघि सारेको छ। यसअन्तर्गत सरकारी निकायले प्रदान गर्ने सबै सुविधाहरु बैंकमार्फत् भुक्तानी गरिने बताएको छ। त्यस्तै नागरिकले सम्पत्तिको रुपमा आर्जन गरेका सुन, चाँदीजस्ता महँगा धातुहरुलाई बैंकमा निक्षेपको रुपमा जम्मा गर्ने व्यवस्था गरिने पनि बजेट भाषणमा उल्लेख गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell