PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

डोजर काण्डले रोकियो रंगशाला निर्माणको काम : सुन्तली भन्छिन्, डोजर लगाउनेलाई कालोमोसो दलेर कोर्रा हान्नु पर्छ



पहिलोपोस्ट

डोजर काण्डले रोकियो रंगशाला निर्माणको काम : सुन्तली भन्छिन्, डोजर लगाउनेलाई कालोमोसो दलेर कोर्रा हान्नु पर्छ

  • सूर्यप्रकाश कँडेल

चितवन : भरतपुर महानगरपालिकाको बैठक कक्षमा बिहीबार सर्वदलीय एवं सर्वपक्षीय बैठक डाकिएको थियो। बैठकको एकमात्र एजेण्डा थियो, क्रिकेट रंगशाला निर्माणस्थलमा भएको अराजक गतिविधि र ध्वंस। महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकमा बोल्ने क्रममा कुञ्जना घिमिरे सुन्तली निकै आक्रोशमा आइन्। उनको यो आक्रोशले रंगशालाको बार भत्काइँदा उनीमाथि परेको चोट व्यक्त गरिरहेको थियो।

धुर्मुस सुन्तली फाउण्डेसनका उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीले रंगशालामा डोजर लगाइएको नभई जनताको छातीमाथि डोजर चलाइएको अनुभूति आफूलाई भएको बताइन्। उनले रंगशालामा डोजर चलाएर बार भत्काउने मुख्य नाइके प्रकाश कँडेललाई कालोमोसो दलेर जुत्ताको माला लगाएर कोर्रा हान्न माग गरिन्। आफूहरुको ज्यानमाथि खतरामा रहेको बताउँदै सुन्तलीले सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्म निर्माण कार्य सुरु गर्न नसकिने अवस्था सिर्जना भएको बताइन्।

 

को हुन् कँडेल ?

क्रिकेट रंगशालाको तारबार भत्काउने कामको मुख्य नाइके ठानिएका प्रकाश कँडेल गृहमन्त्री रामबहादुर थापा बादलनिकट मानिन्छन्। तत्कालीन एकीकृत नेकपा माओवादीबाट फुटेर मोहन वैद्यले छुट्टै पार्टी गठन गरेपछि उक्त पार्टीको विद्यार्थी संगठनमा सक्रिय थिए। पार्टीमा रहँदा अराजक गतिविधिमा संलग्न रहेको भन्दै उनलाई पार्टीले पहिले पनि आन्तरिक कारबाही गरेको पार्टी नेताहरु बताउँछन्।

वैद्य समूहबाट गृहमन्त्री बादल, उनका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकसहित केही नेता, कार्यकर्ता पुनः प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा प्रवेश गर्दा कँडेल पनि बादलको पछि लागे। स्थानीय तहको निर्वाचनमा उनी महानगर प्रमुख रेनु दाहालको चुनावी गतिविधिमा दाहालसँगै भेटिन्थे।

नारायणी नदीको गिट्टी, बालुवा निकासीको ठेक्का हात पारेका कँडेलले उद्योगी, ब्यवसायीलाई आफ्नो सामान खरिद गर्न दबाव दिने गरेको र उनको विरुद्धमा आवाज उठाउने कोही निस्के धम्की दिने गरेको स्रोत बताउँछ। यसअघिको वर्ष पनि उनले नारायणी नदीको ठेक्कापट्टा आफ्नो पोल्टामा पार्न सफल भएका थिए।

रंगशालामा बाटो नछोडेका कारण त्यहाँ लगाइएको बार स्थानीयले भत्काएको भन्ने बहाना बनाइए पनि बार भत्काउनुको खास कारण रंगशाला निर्माणमा निर्माण सामग्री आफूबाटै लिनु पर्ने र अन्यत्रबाट लिएमा पाँच प्रतिशत कमिसन दिनु पर्ने भनी कँडेलले फाउण्डेसनका कर्मचारीसँग बार्गेनिङ गरेको भन्ने बुझिएको छ।

 

दोषीलाई छाडिन्न : प्रजिअ

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले यो घटनामा संलग्न कसैलाई पनि कुनै पनि हालतमा नछाडिने बताएका छन्। बैठकमा बोल्ने क्रममा जागीर गए पनि, सरुवा भए पनि, बढुवा रोकिए पनि जुनसुकै हालतमा घटनाका सबै दोषीलाई कारबाही हुने र घटनाका मुख्य योजनाकारलाई हदैसम्मको सजाय गरिने प्रजिअ बस्नेतले बताए। उनले निर्माणस्थलमा भएको क्षतिको लगत लिएपछि बिगो उनीहरुबाटै भराइने बताए।

घटनाका दोषी जो भए पनि कहीँ कतैबाट संरक्षण नगर्ने महानगरमा आयोजित बैठकका सहभागी सबैले प्रतिवद्धता जनाएका थिए। बैठकको अध्यक्षता गरेकी महानगर प्रमुख दाहालले घटना जघन्य प्रकारको भएकाले दोषीलाई हदैसम्मको कारबाही गर्न सुरक्षा निकायलाई आग्रह गरिन्।

 

पार्टीबाट प्रकाश निलम्बित

भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तारबार भत्काउने कार्यको नेतृत्व गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उनलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला अध्यक्ष यमबहादुर परियारले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै तारबार भत्काउने घटनाका मुख्य नाइके पार्टी सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्बन गरी कारबाही गरिएको बताएका हुन्। विज्ञप्तिमा अर्का पार्टी सदस्य भैरव बस्ताकोटीलाई भने दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार, जिल्लाका सबै राजनीतिक पार्टी, भरतपुर महानगरपालिका लगायत सबैको सहयोग र सहानुभूति रहेको रंगशालाको निर्माणमा ठूलै हौसला बोकेर अगाडि बढेको धुर्मुस सुन्तली फाउण्डेसनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हाम्रो पार्टी नेकपा चितवन साथ र सहयोगका लागि हरदम तयार रहेको प्रतिवद्धता जनाउन चाहन्छ।’

यसैबीच, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पनि बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भत्र्सना गरेका छन्। उनले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै नेपाली काँग्रेसले ध्वंस र हिंसामा होइन, निर्माणमा विश्वास गर्ने उल्लेख गरेका छन्।

 

महानगरको माग : हदैसम्मको कानुनी कारबाही

भरतपुर महानगर प्रमुख रेनु दाहालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तारबार डोजर लगाई भत्काउने कार्यमा संलग्न दोषीमाथि हदैसम्मको कानुनी कारबाहीको माग गरेकी छिन्।

‘यस महानगरको वडा नम्बर १५ स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा केही अराजक व्यक्तिहरुको नेतृत्वमा भएको तोडफोड र डोजर लगाई सार्वजनिक सम्पत्ति क्षति पुर्‍याउने कार्य भएकोमा उक्त आपराधिक कार्यप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको छ’ दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सुनियोजित रुपमा घटेको आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्न चाहन्छु। यस गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कानूनी कारबाही र क्षतिको यकिन गरी बिगो बमोजिम क्षतिपूर्ती भराउने कार्यका लागि सम्बन्धित निकायलाई अनुरोध गर्दछु।’

जनस्तरको सहयोगबाट निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजना निर्माण कार्यलाई निरन्तरता दिन धुर्मुस सुन्तली फाउन्डेसनलाई अनुरोध गर्दै महानगर प्रमुख दाहालले उक्त आयोजनाको सफल कार्यान्वयनका लागि सबै पक्षबाट पूर्ण सहयोग हुने विश्वास व्यक्त गरेकी छिन्।

 

रंगशाला निर्माणस्थलमा काम स्थगित

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य स्थगित भएको छ। बुधबार रंगशाला निर्माण परिसरमा लगाइएको जस्तापातासहितको तारबार केही असन्तुष्ट स्थानीयले डोजर लगाएर भत्काएपछि तत्कालका लागि स्थगित भएको धुर्मुस सुन्तली फाउण्डेसनले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ।

फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले विज्ञप्ती जारी गर्दै सुरक्षित वातावरणमा काम गर्ने अवस्था नभएसम्मका लागि सम्पूर्ण काम यथास्थितिमा स्थगित गरिएको जनाएका हुन्। यसअघि पनि कर्मचारी र कामदारलाई धम्क्याउने, थर्काउने गरिरहेकोमा एकाएक डोजर लगाएर तारबार भत्काएपछि काम गर्ने वातावरण नभएको विज्ञप्तिमा उल्लेख छ।

निर्माणमा खटिने कर्मचारी र कामदारको जीउज्यान र भौतिक सम्पत्तिको सुरक्षामाथि खतरा उत्पन्न भई गम्भीर परिस्थिति सिर्जना भएकाले सबै काम स्थगित गरिएको जनाउँदै विज्ञप्तिमा यसबाट सहयोगी दाताहरुमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell