PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विश्वकप क्रिकेट २०१९ : घरेलु टोली इंग्ल्याण्डको विजयी सुरुवात, बेन स्टोकको अलराउण्ड प्रदर्शन



पहिलोपोस्ट

विश्वकप क्रिकेट २०१९ : घरेलु टोली इंग्ल्याण्डको विजयी सुरुवात, बेन स्टोकको अलराउण्ड प्रदर्शन

चार खेलाडीको अर्धशतक अनी जोफ्रा आर्चरको उत्कृष्ट बलिङमा घरेलु टोली इंग्ल्याण्डले आइसीसी विश्वकप क्रिकेट २०१९ मा विजयी सुरुवात गरेको छ।

बिहीबारबाट सुरु भएको १२औं संस्करणको विश्वकपको उद्घाटन खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको हो।

लण्डनको ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर ३११ रन बनाएको थियो। ३१२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३९.५ ओभरमा २०७ रनमा अलआउट भयो।

खेलको पहिलो ओभरमै इंग्ल्याण्डले जोनी बेयर्स्टोबलाई शून्यमा गुमाएको थियो। विश्वकपको इतिहासमै प्रतियोगिताको पहिलो ओभर बलिङ गर्ने स्पिनर बनेका दक्षिण अफ्रिकामा इमरान ताहिरले बेयर्स्टोबको विकेट लिएका थिए।

तर दोस्रो विकेटका लागि ज्यासन रोए र जोए रुटले १०६ रनको साझेदारी गरेपछि इंग्ल्याण्ड सम्हालिएको थियो। रोएले ५४ र रुटले ५१ रन जोडे। इंग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रन बनाए। उनले ७९ बल खेल्दै ९ चौका प्रहार गरे। इंग्ल्याण्डका लागि इयान मोर्गनले मात्र छक्का प्रहार गरे। उनले ६० बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गर्दै ५७ रन योगदान गरे।

जोस बटलरले १८ र क्रिस वोक्सले १३ रन जोडे।

बलिङमा लुंगी एनगिदिले ३ तथा इमरान ताहिर र कगिसो रबाडाले २-२ विकेट लिए। १० ओभर स्पेलमा एनिगिदी र रबाडाले समान ६६ रन खर्चदा ताहिरले ६१ रन खर्चे।

३१२ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाका लागि दुई खेलाडीले अर्धशतक प्रहार गरेपनि जितसम्म पुर्‍याउन सकेनन्। ओपनर क्वेन्टन डे कक र रासे भान डेर डुसानले अर्धशतक बनाए।


जोफ्रा आर्चरले अइडेन मारक्रम ११ र कप्तान फाप डु प्लेसिस ५ लाई आउट गर्दै इंग्ल्याण्डलाई सुरुवाती सफलता दिलाएका थिए। त्यसअघि ओपनर हसिम अमला आर्चरको बाउन्सरले हेलमेटमा लागेर रिटायर्ड हर्ट भएका थिए। तर पछि अमलाले क्रिजमा फर्केर पुन: ब्याटिङ गरे।

दशौँ ओभरमा ४४-२ को अवस्थामा रहेको दक्षिण अफ्रिकाका लागि डे कक र भान डेर डुसानले तेस्रो विकेटका लागि ८५ रनको साझेदारी गर्दै आशा जगाएका थिए। तर २३औँ ओभरमा लियम प्लनकटले डे ककलाई जोए रुटबाट क्याचआउट गराएपछि दक्षिण अफ्रिकाको विकेट पतन सुरु भयो। कक ७४ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतमा ७८ रन बनाए। त्यसपछि क्रिज पुगेका जेपी डुमिनी ८ तथा ड्वाने प्रेटोरिओस् १ रन बनाएर आउट भए। भान डेर डुसानले ६१ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा ५० रन जोडे। एन्ड्र पेहलुक्वायोले २४ रन बनाए।  

दक्षिण अफ्रिकालाई अलआउट गर्न आर्चरले ३, लियम प्लनकट र बेन स्टोकले २-२ तथा एदिल रसिद र मोइन अलीले १-१ विकेट लिए। पहिलो पटक विश्वकप खेलिरहेका आर्चरले ७ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर ३ विकेट लिए।

ब्याटिङमा सर्वाधिक ८९ रन बनाएका स्टोकले बलिङमा पनि अन्तिम २ विकेट लिएका थिए। उनले एक शानदार क्याचसहित दुई क्याच समेत गरे। ब्याटिङ, फिल्डिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेका स्टोक खेलको म्यान अफ दि म्याच घोषित भए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell