PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

अध्यागमनका अधिकृतको मासिक आय दुई लाखभन्दा बढी, दुई करोडको भ्रष्टाचार मुद्दा दायर



पहिलोपोस्ट

अध्यागमनका अधिकृतको मासिक आय दुई लाखभन्दा बढी, दुई करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अढाई करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ। सार्वजनिक सेवामा बहाल रहेकै अवस्थामा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अर्यालविरुद्ध अख्तियारले मुद्दा चलाएको हो।

सेवा प्रवेशपछिको सम्पत्ति विश्लेषणमा अख्तियारले अर्यालसँग कूल चार करोड ५६ लाख ८१ हजार ८४० रुपैयाँ सम्पत्ति मूल्याङ्कन गरेको छ। जसमा तलब भत्ता, पैतृक सम्पत्ति तथा अन्य आयसमेत गरी अर्यालको  दुई करोड ४९ लाख ९२ हजार ७३० रुपैयाँ वैद्य आय रहेको अख्तियारको ठहर छ। स्रोत नखुलेको दुई करोड ६ लाख ८९ हजार १११ रुपैयाँ पाइएको अख्तियारको दाबी छ।

स्रोत नखुलेको रकम पदीय मर्यादा उल्लङ्घन गरी आर्जन गरेको दाबी अख्तियारको छ।

अर्यालले अकुत सम्पत्ति आफूसहित श्रीमती सरिता नेपाल समेतका नाममा जग्गा खरिद¸ घर निर्माण¸ सवारीसाधन खरिद¸ तथा विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूमा बचत गरेको अख्तियारको दाबी छ।

अख्तियारले अर्यालको आय र जीवनस्तरलाई अमिल्दो र अस्वाभाविक भनेको छ। अख्तियारले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २०(१) बमोजिमको कसुरमा अर्याललाई मुद्दा दायर गरेको हो। अर्यालकी श्रीमती सरितालाई पनि अख्तियारले प्रतिवादी कायम गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell