PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

अर्बको प्रोजेक्ट, अलपत्र पारा : ३ वटा पुल टेन्डरसमेत नभइ सकियो ६ लेन सडक आयोजनाको अवधि



एम बम

अर्बको प्रोजेक्ट, अलपत्र पारा : ३ वटा पुल टेन्डरसमेत नभइ सकियो ६ लेन सडक आयोजनाको अवधि

कैलाली : २०७६ साल ज्येष्ठ ९ गते काम सम्पन्न गर्ने गरी कैलालीको धनगढीदेखि अत्तरीया सम्मको १४ किलोमिटर मुख्य सडकलाई छ लेनमा बिस्तार गर्ने कार्य २०७४ सालबाट थालियो।

सडकको २०७४ साल ज्येष्ठ १ गते तीन प्याकेज बनाएर शर्मा अमर नागार्जुन, लुम्बिनी राजेन्द्र डाँफे र लामा राजेन्द्र डाँफेसँग निर्माण सम्झौता भएको हो। सम्झौताअवधि अनुसार झन्डै पौने ५ किलोमिटर सडक निर्माण गरिरहेको शर्मा अमर नागार्जुनको जेठ ९ गते ठेक्का सम्झौता मिति सकिएको छ।

दोस्रो र तेस्रो प्याकेजको बाँकी झन्डै ९ किलोमिटर सडकको निर्माण गरिरहेको लुम्बिनी राजेन्द्र डाँफे र लामा राजेन्द्र डाँफेको भने वैशाख ३० गते नै सम्झौता अवधि सकिएको हो।

यस अवधिभित्र सडकको भौतिक प्रगति ४२ प्रतिशतमात्रै सम्पन्न भएको मोहनापुल अत्तरीया छ लेन सडक आयोजनाले जनाएको छ। आयोजनाका अनुसार त्यसमा बित्तीय प्रगति भने २८ प्रतिशत मात्रै छ।

निर्माण कम्पनीहरूले समयावधि थपका लागि निवेदन दिएको मोहनापुल अत्तरीया छ लेन सडक आयोजनाका प्रमुख होमबहादुर एसीले बताए।

‘एक नम्बर प्याकेजबाट २० महिना काममा अवरोध भयो भनेर सो अवधि थप्न माग गरिएको छ,’ उनले भने, ‘२ र ३ नम्बर प्याकेजको भने १८ महिना अवधि थप्न माग गरिएको छ।’तर, निर्माण व्यवसायीहरूले माग गरे अनुसार अवधि नथपिने उनको भनाइ छ। जति काममा अवरोध भएको हो, मूल्यांकन गरेर त्यो भन्दा बढी समय नथपिने एसीले बताए।

आयोजनाको काममा रुख कटानीको आदेशमा भएको ढिलाइ, खानेपानी, टेलिकमको लाइन, विद्युत पोलले अवरोध पुर्‍याएको थियो। सडकको सीमाभित्र परेका भौतिक संरचना हटाउने विषयमा सर्वोच्चमा रिट परेपछि साढे तीन महिनासम्म काम प्रभावित बनेको थियो। अहिले भने त्यस्तो कुनै समस्या नरहेको आयोजनाको भनाइ छ।

तीन वटा पुलको टेण्डर नै भएन

उक्त सडक खण्डमा तीन वटा पुल छन्। ती तीनै पुलको अहिलेसम्म टेन्डर भएको छैन।

उक्त सडक खण्डमा परेका तीन वटा पुलको सुरुमा टेन्डर नभए पनि आगामी आर्थिक वर्ष भित्रै टेन्डर गरिसक्ने आयोजना प्रमुख एसीले बताए।

काम लम्बिँदै गएपछि स्थानीयलाई भने सास्ती भएको छ। प्रदेशको मुख्य व्यापारिक नगरी धनगढी भित्रिने र धनगढीबाट बाहिरिने एक मात्र सडकलाई छ लेन विस्तारका नाममा ठाउँठाउँमा खनेर अस्तव्यस्त पारिएपछि अहिले उक्त सडक हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने गरेको छ।

झन्डै १४ किलोमिटर सडकको ११ ठाउँमा कलभर्ट निर्माणका लागि खनिएपछि दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ। सडकले स्थानीय व्यवसायीको व्यापार व्यवसाय पनि चौपट पारेको छ।

सडक छेउमै व्यापार गर्नेहरूले घर भाडा तिर्न नसकेर व्यापार नै छोड्ने गरेको स्थानीय व्यवसायी राजेशप्रसाद पौडेलले बताए।

‘सडकको धुलोले पसलमा बस्नै सकिँदैन,’उनले भने, ‘आयोजनाले काम कलपत्र पारेर छोडेको छ।’ सम्बन्धित निकायले मौन बन्न नहुने भन्दै काममा तदारुकता देखाउन उनले आग्रह गरे।

सडकको कामलाई तीव्रता दिन र धुलोधुवाँको सस्तीले आजित भएर स्थानीय नागरिकहरू थुप्रै पटक आन्दोलित समेत भइसकेका छन्।

आयोजना प्रमुखको सरुवा प्रकरणले पनि काम लम्बिँदै गएको हो। २ वर्षको अवधिमा उक्त आयोजनामा ४ जना प्रमुख फेरिएका छन्।

सडक अत्तरियादेखि बोराडाडीसम्म १ अर्ब १० करोडमा र बाँकी बोराडाँडी देखि मोहनासम्म ५१ करोड ७० लाखमा निर्माण कार्य भइरहेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell