काठमाडौं : गत साता इन्टरपोल रेड कर्नर नोटिसमा राखिएका परशुराम गुरुङलाई नेपाल ल्याइयो। थाइल्यान्डमा बसेर नेपालीलाई प्रलोभन देखाउँदै ठग्दै आएका उनलाई थाइ प्रहरीको सहयोगमा नेपाल ल्याइयो। धेरै नाम राखेर ठगी गरेका उनलाई प्रहरीले सार्वजनिक गरेपछि 'ठगिने'हरुको संख्या थप बढ्यो। त्यसपछि ठगिएको रकम फर्किने आशामा पुगे धेरै। सरोज फुयाल तीमध्ये एक हुन्। विदेशमा रोजगारी दिलाउने भन्दै थाइल्यान्ड बोलाउने र त्यहाँ ठगेर अलपत्र पार्ने नटवरलाल परशुराम गुरुङ समातिए पनि पीडितहरुको प्रश्न छ : हाम्रो ठगिएको रकम चाहिँ खोइ?
‘सिआइवीले खुङखार ठगलाई पक्राउ गर्यो भनेर आफ्नो सान त बढायो। तर, हामीले के पायौँ?,' बालाजुमा बस्दै आएका सरोज फुयालले भने। केही अघिसम्म उनमा ठगिमा परेको रकम फिर्ताको आशा थियो। तर त्यो पनि गुम्दै गएको बताउँछन् उनी।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी), पीडित र इन्टरपोल शाखाको सहयोगमा थाइल्यान्डलाई आधार बनाएर मानव तस्करीमा सक्रिय गुरुङलाई प्रहरीले गत शनिवार सार्वजनिक गरेको थियो। वैदेशिक रोजगारमा लगाउने भन्दै २ सयभन्दा धेरैबाट १३ करोड रुपैयाँभन्दा बढी ठगेको अभियोग छ उनीमाथि।
गुरुङलाई ल्याएको खबर पाएका पीडित शनिवार नै सिआइवी प्राङगणमा भरिभराउ थिए। तर, धेरैको अनुहार मलिन। त्यही भिँडमा भेटिएका एक पात्र हुन्, सरोज। ‘सिआइवीका सरहरूले तपाईँहरूको आवश्यकता पर्यो भने खबर गर्छु भन्नुभएको छ। तर, अहिलेसम्म के हुँदैछ थाहा छैन,' एक सातापछि सरोजले सुनाए।
मध्यवर्गीय परिवारका सरोज पैसा कमाउने आशामा मकाउ जाने तर्खरमा थिए। उनको मकाउ जाने व्यवस्था गर्ने अरु कोही होइन, उनै परशुराम गुरुङ नै थिए। करिब करिब उनको विदेश जाने निश्चित भयो। वेदबहादुर बाँडालाई केही रकम काठमाडौँमै बुझाए। त्यसपछि हानिए थाइल्यान्ड।
उनी एक्लै थाइल्यान्ड भन उडेका थिएनन्। उनीजस्तै मकाउका लागि सपना सजाएका अन्य १७ जना साथी पनि थिए साथमै। १७ दिन थाइल्यान्डको बसाइ राम्रो नै भयो। दंग पनि थिए उनी। ‘बिहान ब्रेकफास्ट, राम्रो लन्च अनि घुम्न जाँदा प्राइभेट गाडी। बसाइ एकदम राम्रो थियो,' सरोजले त्यतिखेरको अवस्था सम्झिए।
थाइल्यान्डमा परशुरामले नै सम्पूर्ण व्यवस्थापन मिलाएका थिए। १७ दिनपछि मकाउ जाने दिन आयो। होटेलबाट ब्याग प्याकिङ गरेर एयरपोर्ट लगियो उनीहरुलाई। कागजपत्र एयरपोर्टमा नै दिने शर्त थियो। एयरपोर्टभित्र छिराएर कागजपत्र थमाइयो सबैलाई। मकाउ जाने सपना पूरा हुँदै थियो। जब एयरपोर्ट भित्र छिरे उनीहरूलाई ठूलै झड्का लाग्यो।
मकाउका लागि भनेर दिइएको हवाई टिकट त नेपाल जाने रहेछ। ‘के गर्ने एयरपोर्टबाट निस्कने कुरा भएन। अनि ठगियौं भन्ने सोचेर नेपाल नै आइयो,' सरोजले विस्तारमा सुनाए। मकाउको सपना बुन्दै छिरेकाहरुको विमान काठमाडौँमा अवतरण भयो।
त्यतिखेर सरोजको पाँच लाख पचास हजार रुपैयाँ फसिसकेको थियो। मकाउ जानका लागि घरबाट बिदा लिएर हिँडेका थिए। उनको पाइला घरतिर बढेन। सिधै सिआइवी पुगे। प्रहरीमा उजुरी दिए। ‘तीन दिनसम्म घर नै गइन। के गर्ने भनेर सोचेर साथीकहाँ नै बसेँ,' सरोजले थपे।
घटनाको पाँच वर्षपछि गुरुङ पक्राउ परेका छन्। ‘मेरो पैसा उठ्छ भन्ने अब आशा छैन। अरू ठगिनबाट जोगिए यसैमा खुशी छु,' उनले भने।
काठमाडौँ आएपछि सरोज र अन्य साथीको मनमा छटपटी भने रोकिएन। काठमाडौँमा केही रकम बुझाएका बेदबहादुर बाँडाको खोजीमा लागे। केही दिनपछि बाँडाको ठेगाना पत्ता लाग्यो। बागबजारमा उसको फोटो स्टुडियो रहेछ। सर्ट फिल्मका सोखिन रहेछन् बाँडा।
‘हामीले एउटा योजना बनायौँ। त्यही योजना अनुसार काम गर्यो,' सरोजले भने। एउटा अपरिचित व्यक्तिलाई बाँडाकहाँ फिल्म बनाउने योजना बनाएर भेट्ने वातावरण बनाए। बाँडा भेट्ने बहनामा प्रहरीले उनलाई नियन्त्रणमा लियो। ‘सबै कागजपत्र थिए। १८ महिनापछि छुट्यो भनेको सुनेँ। के भयो थाहा छैन,' उनले भने।
गुरुङविरुद्ध ५० जनाभन्दा धेरैले उजुरी गरेका थिए प्रहरीकहाँ। अभियुक्त गुरुङको २०७२ साल जेठ २२ गते राहदानी रद्द गरिएको थियो भने असार १८ गते इन्टरपोलमा राखिएको थियो।
पासपोर्ट विना नै ट्राभल डकुमेन्ट बनाएर थाइल्यान्डमा बस्दै आएका उनलाई थाइ प्रहरीले गएको चैत १३ गते समातेको थियो। थाइ प्रहरी र नेपाली दूतावासको सक्रियतामा उनलाई नेपाल ल्याइएको हो।
सरोज मात्र होइन अर्का पीडित सुरज पन्तको अवस्था उस्तै छ। क्यानडा जाने भनेर उनले पनि करिब ६ लाख रुपैयाँ डुबाए। थाइल्यान्डसम्म पुर्याएर नेपाल फर्किएका हुन् उनी पनि। ‘हाम्रो पैसाले विलासी जीवन बिताएको थियो। सयौँ जनाको रकम कसरी तिर्छ?' सुरज उल्टै सोध्छन्।
गुरुङले थाइल्यान्डमा तीन जनासँग बिहे गरेको खुलेको छ। रकम ठग्ने र उडाउने उसको स्वभाव नै रहेछ ‘थाइल्यान्डमा तीन जना श्रीमती रहेको बुझिएको छ। एकदमै सौखिन जीवन। उनको लगानी कहाँ के छ खोजी गर्दैछौं,' केन्द्रीय अनुसन्धान ब्युरोका डिआइजी नीरज शाहीले भने।