PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

विश्वकप क्रिकेट : कमब्याक खेलमा वार्नरको नटआउट ८९ रन, अष्ट्रेलियाको विजयी सुरुवात



पहिलोपोस्ट

विश्वकप क्रिकेट : कमब्याक खेलमा वार्नरको नटआउट ८९ रन, अष्ट्रेलियाको विजयी सुरुवात

१४ महिनापछि पहिलो पटक राष्ट्रिय टोलीका लागि आधिकारिक खेल खेलेका डेविड वार्नरले अर्धशतक प्रहार गरेपछि अष्ट्रेलियाले आइसीसी विश्वकप क्रिकेट २०१९ मा विजयी सुरुवात गरेको छ। निवार ब्रिस्टोलमा भएको खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो।

वार्नरसँगै कप्तान आरोन फिन्चको अर्धशतक मद्दतमा अष्ट्रेलियाले २०८ रनको लक्ष्य ३४.५ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो। वार्नले नटआउट ८९ रन बनाए।

बल टेम्परिङ स्क्याण्डलको १४ महिनापछि वार्नर र स्टिभ स्मिथले सँगै खेलेका हुन्। २०१८ मार्चमा दक्षिण अफ्रिका विरुद्धको टेष्टको क्रममा बल टेम्परिङ स्क्याण्डमा परेपछि यी दुई खेलाडी एक वर्षयता राष्ट्रिय टिम बाहिर थिए।

पहिलो विकेटका लागि फिन्च र वार्नले ९६ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई गतिलो सुरुवात दिलाएका थिए। फिन्चले ४९ बल खेल्दै ६ चौका र ३ छक्काको मद्दतमा ६६ रन बनाए। वार्नलरे फिन्चसँग ओपनिङ गरेपछि तेस्रो नम्बरमा झरेका उस्मान खवाजाले १५ रन बनाए।

वार्नरसँगै बल टेम्परिङ स्क्याण्डलमा परेका तत्कालिन कप्तान स्टिभ स्मिथले पनि राष्ट्रिय टिमको लागि यसै खेलमा पुनरागमन गरे। फिन्च र खवाजा आउट भएपछि वार्नर र स्मिथले एकसाथ ब्याटिङ गरे। दुवै खेलाडीले उक्त घटनापछि पहिलो पटक राष्ट्रिय टिमको जर्सीमा आधिकारिक खेल खेले।

वार्नर स्मिथले तेस्रो विकेटका लागि ४९ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई जितसम्म पुर्‍याए। स्मिथले १८ रन बनाए। वार्नरले ११४ बल खेल्दै ८ चौकाको मद्दतमा ८९ रन बनाए। ३५औँ ओभरको पाँचौ बलमा ग्लेन म्याक्सवेलले चौका प्रहार गर्दै अष्ट्रेलियाको जित पक्का गरे।

अफगानिस्तानका लागि मुजिव उर रहेमान, गुल्वादिन नइब र रसिद खानले १- विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले खराब सुरुवात गरेपनि नजिबुल्लाह जद्रानको अर्धशतक मद्दतमा २०७ रन बनाउन सफल भएको थियो। प्याट कमिङ र एडम जाम्पाको ३ तथा मार्कुस स्टोइनिसले २ विकेट लिएपछि अफगानिस्तान ३८.२ ओभरमा २०७ रनमा अलआउट भयो।

पहिलो ओभरमा मिचेल स्टार्कले मोहम्मद शेहजादलाई र दवस्रो ओभरमा प्याट कमिङले हज्रतुल्लाह जजाईलाई आउट गरेपछि अष्ट्रेलियालाई गतिलो सुरुवात दिलाएका थिए। तेस्रो विकेटका लागि रहेमत शाह र शजमतुल्लाह साहिदीले ५१ रनको साझेदारी गरे। रहेमतले ४३ र साहिदीले १८ रन जोडे। दुवैलाई एडम जाम्पाले आउट गरेका थिए।

त्यसपछि मोहम्मद नावी ५ रनमा आउट भएपछि अफगानिस्तान ७७-५ को स्थितीमा पुगेको थियो। तर नजिबुल्लाह जद्रान र कप्तान गुल्बादिन नइवले छैटौँ विकेटका लागि ८५ रनको साझेदारी गर्दै अफगानि इनिङ्स उकासे।

३४औँ ओभरमा दुवै खेलाडी आउट भए। उक्त ओभरको पहिलो बलमा मार्कुस स्नोइनिसले नइबलाई र पाँचौ बलमा नजिबलाई आउट गरे। नजिबले ४९ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए। नइवले ३१ रन जोडे। आठौँ नम्बरमा ब्याटिङ गरेका रसिद खानले ११ बल खेल्दै २ चौका र ३ छक्काको मद्दतमा २७ रन बनाएपछि अफगानिस्तानले दुई सय रन पूरा गरेको थियो। रसिदलाई जाम्पाले आउट गरे। यस्तै मुजिव उर रहेमानले ९ बलमा ११ रन जोडे। कमिङले दवलत जद्रान र मुजिवलाई आउट गरेपछि अफगानिस्ता अलआउट भएको थियो।

कमिङले ८.२ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए। जाम्पाले ८ ओभरमा ६० रन खर्चेर ३ विकेट लिए। स्टोइनिसले ७ ओभरमा १ मेडन राख्दै ३७ रन खर्चेर २ विकेट लिए। स्टार्कको नाममा १ विकेट रह्यो।

नटआउट ८९ रन बनाएका वार्नर खेलको म्याच अफ दि म्याच बने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell