PahiloPost

May 15, 2024 | २ जेठ २०८१

विप्लवका पोलिटब्युरो सदस्यलाई स्वागत गर्दै प्रचण्डले भने, 'विप्लव पनि आउनै पर्छ, छोराछोरी घर छाडेर जाँदा चिन्ता लाग्छ'



विधुर ढकाल

विप्लवका पोलिटब्युरो सदस्यलाई स्वागत गर्दै प्रचण्डले भने, 'विप्लव पनि आउनै पर्छ, छोराछोरी घर छाडेर जाँदा चिन्ता लाग्छ'

काठमाडौं: नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)मा प्रवेश गरेका छन्। उनलाई ने क पाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा स्वागत गरेका हुन्।

तत्कालिन नेकपा माओवादीका पोलिटब्युरो सदस्य राई माओवादी विभाजन हुँदा मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीमा गएका थिए। पछि विप्लवले मोहन वैद्य नेतृत्व फुटाएपछि उनी विप्लवसँगै लागेका थिए।

पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेर भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका राईलाई गत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बम प्रहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

विप्लवले बनाएको जनसरकारको उपप्रमुखसमेत रहेका राईलाई अदालतको आदेशपछि रिहा गरिएको थियो।

उनले गणतन्त्र दिवसको दिन आयोजित संविधानसभा पदक वितरण समारोहमा सहभागी भइ पदकसमेत लिएका थिए।

पार्टी प्रवेश गर्दै राईले विप्लव नेतृत्वको पार्टीले गरेका पछिल्ला गतिविधि मन नछुने खालका भएको भन्दै पार्टी परित्याग गरेको बताए।

'म कुनै डर त्रास र धम्कीले सुरक्षित हुन यहाँ आएको होइन। म केही अपेक्षासहित यहाँ आएको छु,' उनले भने, 'एकीकृत जनक्रान्ति भन्दै म पनि लागेको थिएँ। तर पछिल्ला केही गतिविधिहरु मन छुने खालका भएनन्। हामीसँग अहिले १७ हजार योद्धाहरु छैनन्। अब फेरि जनतालाई दु:ख दिएर उपलब्धी संस्थागत हुन सक्दैनन् त्यसैले यहाँ आएँ।'

उनले सरकारले गठन गरेको सोमप्रसाद पाण्डेको नेतृत्वको वार्ता टोलीसँग आफूले पटक पटक सम्पर्क र वार्ताको पहल गरेको भन्दै त्यही सुत्रबाट ने क पाका नेताहरुसँग भेट गरेको थियो।

पछिल्लो पटक राई सीधै प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा 'बादल'को सम्पर्कमा रहेका थिए।

एक दिन विप्लव पनि आउनैपर्छ: प्रचण्ड

यसैबीच ने क पाका अध्यक्ष प्रचण्डले बाटो बिराएर गएका विप्लव पनि एक दिन यही ठाउँ (ने क पा) मा आउनुपर्ने बताए।

'हामी सुरु देखिसँगै थियौँ। बीचमा केही विभाजनको शृंखला चल्यो केही कन्फ्यूजनको अवस्था आयो,' प्रचण्डले भने, 'गलत बाटोबाट राष्ट्र र जनताको हित हुँदै भनेर राई जी आज आउनुभयो। एक दिन विप्लव पनि यही आउनुपर्छ। अन्य साना कम्युस्ट पार्टी खोलेर समूह चलाएकाहरु पनि यही आउनुपर्छ।'

प्रचण्डले विप्लवहरु प्रति चिन्ता व्यक्त गर्दै घर फर्किन आग्रह गरे। 'आफ्ना छोराछोरी घर छोडेर गए भने दिन भर मन चिन्तित हुन्छ। राति घर फर्किएपछि मात्र बल्ल ढुक्क हुन्छ,' उनले अगाडि भने 'हिजो हामीसँगै हिँडेका हामीले नै प्रशीक्षित गरेकाहरु बाटो विराएर हिँड्दा चिन्ता लाग्छ। आज राई जि फर्किनुभयो अलि ढुक्क भयो। अरु पनि फर्किनुपर्छ।'

कारवाहीमा राई

यसैबीच विप्लव नेतृत्वको नेकपाले राईलाई कारवाही गरेको छ। नेकपाका प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै पार्टी पोलिट्ब्युरो सदस्य पदम राईलाई पार्टीको सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेका हुन्।

प्रकाण्डले आइतबार विज्ञप्ति जारी गर्दै राईलाई रूपान्तरण र उपचारको अथक प्रयास गर्दागर्दै असम्भव भएपछि र पार्टी नीति र कार्यक्रमको विरुद्ध गएपछि निष्कासन गरिएको जनाएका छन्। राईलाई नेकपाको गत स्थायी समिति बैठकले निलम्बन गरेको गरेको थियो। निलम्वनमा रहेका राई पार्टीकाविरुद्ध अन्तर ध्वंस र अपराधपूर्ण कार्यमा संलग्न रहेको प्राकाण्डले आरोपसमेत लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell