PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

प्रधानमन्त्री कप क्रिकेट : दिपेन्द्र ऐरीको अर्को ५ विकेट, पुलिस लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनलमा



पहिलोपोस्ट

प्रधानमन्त्री कप क्रिकेट : दिपेन्द्र ऐरीको अर्को ५ विकेट, पुलिस लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौँ : विभागीय टोली नेपाल पुलिस समूह चरणमा अपराजित रहँदै तेस्रो प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह बी अन्तर्गत आइतवार कीर्तिपुरमा भएको खेलमा पुलिसले प्रदेश नम्बर २ लाई १५६ रनले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको हो।

यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको त्रिभुवन आर्मी क्लब समूह बी को उपविजेता बनेको छ।

पुलिसको जितमा ब्याटिङमा अमित श्रेष्ठले अर्धशतक प्रहार गर्दा बलिङमा दिपेन्द्र सिंह ऐरीले ५ र ललित नारायण राजवंशीले ३ विकेट लिए।

टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले अमितको अर्धशतक मद्दतमा ५० ओभर खेल्दै ९ विकेट गुमाएर २५३ रन बनाएको थियो। जवाफमा प्रदेश २ ले  ९७ रन मात्र बनाउन सक्यो।

पुलिसका अमितले ४२ बल खेल्दै ५ चौका र १ छक्काको मद्दतमा ५० रन बनाए। यस्तै सुनिल धमलाले ४३, अनिल कुमार शाहले ३७, कुशल भुर्तेलले ३५ र आरिफ शेखले ३२ रन जोडे।

बलिङमा प्रदेश २ का सांसद शेखले ४ तथा रसिद खानले २ विकेट लिए।

२५४ रनको लक्ष्य पछ्याएको प्रदेश २ पुलिसको उत्कृष्ट बलिङ सामु टिक्न नसक्दा २९ ओभरमा ९७ रनमा अलआउट भयो। प्रदेश २ का हरिशंकर शाहले २९, कप्तान मेहबुब आलमले २१, रवि शाहले १५ र सुरज पटेलले १२ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

प्रदेश २ लाई अलआउट गर्न पुलिसका दिपेन्द्रले ५ विकेट लिए। उनले १० ओभर बलिङ गर्दा १ मेडन राख्दै २८ रन खर्चेर ५ विकेट लिए। प्रतियवगितामा उनले एकै खेलमा ५ विकेट लिएको यो दोस्रो पटक हो। यसअघि प्रदेश १ विरुद्ध पनि दिपेन्द्रले ५ विकेट लिएका थिए। प्रदेश २ विरुद्ध १८ रन समेत बनाएका दिपेन्द्र खेलको म्यान अफ दि म्याच घोषित भए।

यस्तै पुलिसका लागि ललित नारायण राजवंशीले ६ ओभरमा ३ मेडन राख्दै २१ रन खर्चेर ३ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell