PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

विश्वकप क्रिकेट : बंगलादेशद्वारा दक्षिण अफ्रिका पराजित, शकिबको यस्तो कीर्तिमान



पहिलोपोस्ट

विश्वकप क्रिकेट : बंगलादेशद्वारा दक्षिण अफ्रिका पराजित, शकिबको यस्तो कीर्तिमान

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उच्च स्कोर बनाएको खेलमा बंगलादेशले आइसीसी विश्वकप क्रिकेट २०१९ मा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको छ।

शकिब हल हशन  र मुस्फिकर रहिमको उत्कृष्ट ब्याटिङ मद्दतमा ३३० रन बनाएको बंगलादेशले दक्षिण अफ्रिकालाई ३०९ रनमा रोक्दै १२औँ संस्करणको विश्वकपको पहिलो खेलमै जित हात पारेको हो।

लण्डस्थित ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले दुई खेलाडीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर ३३० रन बनाएको थियो। शकिब र मुस्फिकरले तेस्रो विकेटका लागि १४२ रनको साझेदारी गरेपछि बंगलादेशले उच्च स्कोर बनाएको हो।

यसअघि बंगलादेशले २०१५ मा ढाका पाकिस्तान विरुद्ध बनाएको ३२९ रन नै एक दिवसीयमा उसको उच्च स्कोर थियो।

मुस्फिकरले सर्वाधिक ७८ रन बनाउदा शकिबले ७५ रन बनाए। यस्तै महमुदुल्लाहले नटआउट ४६ रन बनाए भने ओपनर सौम्य सरकारले ४२ रन योगदान गरे।

दक्षिण अफ्रिकाका एन्डिल फेहलुकवायो, क्रिस मोरिस र इमरान ताहिरले २-२ विकेट लिए।

३३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३०९ रन मात्र बनाउन सक्यो।

दक्षिण अफ्रिकाका लागि कप्तान फाप डु प्लसेसिसले अर्धशतक प्रहार गरे। डु प्लेसिसले सर्वाधिक ६२ रन बनाएको इनिङ्समा एइडेन मारक्रम र जेपी डुमिनीले ४५-४५ रन जोडे। यस्तै भान डेर डुसेनले ४१,डेविड मिलरले ३८ र क्वेन्टन डे ककले २३ रन बनाए।

बंगलादेशका लागि बलिङमा मुस्ताफिजर रहेमानले ३ र मोहमद सैफुदिनले २ विकेट लिए।

दक्षिण अफ्रिकाको यो लगातार दोस्रो हार हो। दक्षिण अफ्रिका पहिलो खेलमा घरेलु टोली इंग्ल्याण्डसँग पराजित भएको थियो।


शकिबको कीर्तिमान

बंगलादेशको शानदार जितमा म्यान अफ दि म्याच प्रदर्शन गरेका अलराउण्डर शकिब अल हसनले पनि कीर्तिमान बनाए।

उनी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबै भन्दा छिटो २५० विकेट लिने र ५ हजार भन्दा बढी रन बनाउने खेलाडी बनेका छन्।

यसअघि श्रीलंकाका सनथ जयसूर्याले ३०४ र पाकिस्तानका शाहिद अफ्रिदीले २७३ खेलमा यो सफलता हात पारेका थिए। यस्तै दक्षिण अफ्रीकाका ज्याक कालिसले २९६ तथा पाकिस्तानका अब्दुल रज्जाकले २३४ खेलमा यस्तो उपलब्धी हात पारेका थिए।

१९८औं एक दिवसीय अन्तर्राष्ट्रिय खेल्ने क्रममा शकिबले यो उपलब्धी हात पारेका हुन्। शकिबले बलिङमा दक्षिण अफ्रिकाका एइडेन मारक्रमको विकेट लिएका थिए भने ब्याटिङमा महत्वपूर्ण ७५ रन बनाए। शकिबले तेस्रो विकेटको लागि मुस्फिकर रहिमसँग १४२ रनको साझेदारी गरका थिए। एक दिवसीयमा बंगलादेशको त्यो अहिलेसम्मको उच्च साझेदारी हो। बलिङमा शकिबले १० ओभर बलिङ गर्दै ५० रन खर्चेर १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell