PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

'के हो इन्डो प्यासिफिक स्ट्राटेजी?' नेपालको संलग्नताबारे जवाफ खोज्दै सांसद



विधुर ढकाल

'के हो इन्डो प्यासिफिक स्ट्राटेजी?' नेपालको संलग्नताबारे जवाफ खोज्दै सांसद

काठमाडौं: अमेरिकी रक्षा नीति 'इन्डो प्यासिफिक स्ट्राटेजी'ले संघीय संसदमा प्रवेश पाएको छ। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राजपा नेपालका सांसद राजकिशोर यादवले यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग गरेका छन्।

'इन्डो प्यासेफिकमा नेपाल संलग्न भएको कुरा आएको छ। यसको सत्यतथ्य के हो? यसमा परराष्ट्रमन्त्रीबाट जानकारी चाहियो। यसबारेमा यसअघि मन्त्रीले नेपाल सहभागी छैन भन्नुभएको थियो अहिले सहभागी भएको भन्ने धारणा आएको छ। यसबारेमा सरकारले स्पष्ट पार्नुपर्छ। परराष्ट्रमन्त्रीले जवाफ दिनुपर्छ,' उनले भने।

गत पुस ४ गते परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणका क्रममा त्यहाँका विदेशमन्त्री माइक पोम्पओसँग भएको द्विपक्षीय वार्तापछि अमरिकी रक्षा नीति 'इन्डो प्यासिफिक स्ट्राटेजी'मा नेपाल तानिँदै गएको छ।

अमेरिका भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र संयुक्त राज्य अमेरिकाका समकक्षी माइक पोम्पिओबीच भेटवार्ता भएको छ।

भेटवार्तामा खुला, स्वतन्त्र र समृद्ध इन्डो–प्यासिफिक क्षेत्रमा नेपालको भूमिकाको विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयका सह प्रवक्ता रोवर्ट पालाडिनोले जनाएका थिए।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइलाई खण्डन गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले भेटवार्ताका क्रममा इन्डो प्यासिफिक 'स्ट्राटेजी' नभइ 'रिजन'मा छलफल भएको स्पष्टीकरण दिएका थिए

पछिल्लो समय इन्डो प्यासिफिक कमाण्डको सक्रियतासमेत नेपालमा बढ्दै गएको छ। २०१९ को सुरुवातमै यसका प्रमुख कमाण्डर एड्माइरल फिलिप एस डेभिडसनले नेपालको भ्रमण गरेर फर्किएका छन्। उनी मात्र होइन नेपाल र अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका सैन्य अधिकारीहरुबीच नेपालमा पटक पटक संयुक्त सैन्य अभ्यास तथा गोष्ठीहरु हुँदै आएका छन्

पछिल्लो पटक नेपाल चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को रणनैतिक साझेदारी बनेर चीनसँग नजिकिँदै गएको छ। यस्तोमा अमेरिकाले नेपाललाई आफ्नो रक्षा रणनीति इन्डो प्यासिफिक स्ट्राटेजीमा तान्ने प्रयास गरिरहेको छ।

सन् २०१९ लागेपछि मात्र अमेरिकाबाट उपमन्त्री स्तरका दुई अधिकारीहरु नेपाल आएर बीआरआईको आलोचना गर्दै नेपाललाई यसमा तान्ने प्रयास गरेका छन्। गत फेब्रुअरीमा नेपाल आएका अमेरिकी रक्षा उपराज्यमन्त्री जोसेफ फ्लेटरले त बीआरआईको आलोचना गर्दै नेपाललाई इन्डो प्यासिफिक स्ट्राटेजीको हिस्साको रुपमा चर्चा गरेका थिए।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको प्रतिनिधि मण्डल टोलीले नेपाल र चीनबीच सन् २०१६ मा भएको पारवहान सन्धीको प्रोटोकलमा हस्तक्षर गरेर नेपाल फर्किएको साता पछि नै अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला हेर्ने कार्यबाहक अमेरिकी उपमन्त्री डेभिड रान्जले नेपालको भ्रमण गरे। उनले नेपालमा राजनीतिक भेट गर्दै यो रणनीतिमा नेपालको सहभागिताका विषयमा छलफल गरे

अमेरिकी रक्षा मन्त्रालयको प्रतिवेदनमा नेपाल

जुन १ मा मात्र अमेरिकी रक्षा मन्त्रालयले इन्डो प्यासिफिक स्ट्राटेजी रिपोर्ट सार्वजनिक गरेको छ। एक लाख २८ हजार अमेरिकी डलर खर्च गरेर तयार पारिएको रिपोर्टको परिचय खण्डमै नेपाल समावेश छ।

इन्डो प्यासिफिकले विश्वको दुई तिहाइ कुल ग्राह्यस्थ उत्पादनमा सहयोग गर्ने लेखेको छ। यस क्षेत्रले विश्वका ठूला अर्थतन्त्रहरु संयुक्त राज्य, चीन र जापानसँगै विश्वका छ तीब्र आर्थिक वृद्धिदर भएका देशहरु भारत, कम्बोडिया, लाओस, बर्मा, नेपाल र फिलिपिन्सलाई समेट्ने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनको 'क्षेत्रीय उद्देश्य प्राप्तिका लागि अमेरिकी प्रभुत्वको मजबुती' खण्डमा नेपालसँग पनि रक्षा साझेदारीलाई अगाडि बढाएको उल्लेख छ। 'दक्षिण एसियामा हामी भारतसँग मुख्य रक्षा साझेदारीमा काम गरिरहेका छौँ। त्यस्तै श्रीलंका, मालदिभ्स, बंगलादेश र नेपालसँगको रक्षा साझेदारीलाई बढाउँदै लगेका छौँ,' प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनमा आफ्ना साझेदारहरुसँग राष्ट्रिय सुरक्षा रणनीति अनुरुप साझेदारी गरिरहेको उल्लेख छ।

नेपाललसहित दक्षिण एसियाका पाँच मुलुकसँग हिन्द प्रशान्त (इन्डो प्यासिफिक) रणनीतिअन्तर्गत रक्षा सहकार्य विस्तार गर्ने रणनीति सार्वजनिक गरेको अमेरिकाले नेपालसँग हाइ एविलिटी/डिजास्टर रिकभरी (प्राकृतिक प्रकोप मानविय सहायता), शान्ति स्थापना सहकार्यक, रक्षा व्यवसायिकता, स्थल सैन्य क्षमता अभिवृद्धि तथा प्रति आतंकवादको क्षेत्रमा रक्षा साझेदारी बढाउन चाहेको जनाएको छ।

प्रतिवेदनमा दुई देशबीच रक्षा साझेदारी बढ्दै गएको कुरालाई २०१८ मा अमेरिकी सेनाको प्यासिफिक लिड ल्याण्डफोर्स टक नेपालमा हुनुले पुष्टि गर्नेसमेत उल्लेख छ। त्यस्तै नेपालमा भएको युएस इन्डो प्यासिफिक कमाण्डका कमाण्डर र रक्षा उपराज्यमन्त्रीको भ्रमणले पनि रक्षा साझेदारी बढ्दै गएको देखाउने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा नेपाललाई इन्डो प्यासिफिकमा २०१९ मा जोडिएको राष्ट्रको रुपमा राखिएको छ।

१९९३ बाट अमेरिकाले युरोपेली मुलुकबाट सुरु गरेको रक्षा साझेदारी पछिल्लो समय ८६ देशसँग भएको र १२ देश इन्डो प्यासिफिक क्षेत्रका रहेको प्रतिवेदनमा भनिएको छ। २०१९ मा नेपालसँगै श्रीलंकलाई पनि यो साझेदारीमा जोडिएको उल्लेख छ।

त्यस्तै इन्डो प्यासिफिक कमाण्ड र अमेरिकी विदेश मन्त्रालयले ग्लोबल पिस अप्रेसन इनिसियटिभलाई मजबुद बनाउनका लागि नेपालसँगै इन्डो प्यासिफिकका १२ साझेदारसँग मिलेर काम गर्ने प्रतिवेदनमा उल्लेख छ।

के हो अमेरिकी इन्डो प्यासिफिक रणनीति?

सुरुमा एसिया प्यासिफिकको रुपमा चिनिँदै आएको यस क्षेत्रलाई सन् २०१७ बाट इण्डो प्यासिफिकको रुपमा चिनिँदै आएको छ।

सन् २०१७ को नोभेम्बरमा भियतनाममा आयोजित दक्षिणपूर्वी देशका कार्यकारी प्रमुखहरुको सम्मलेनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इण्डो–प्यासिफिक अवधारणा र दृष्टिकोण अघि सारेका थिए। पछि उनले यो दृष्टिकोणलाई अमेरिकी सुरक्षा रणनीतिको अंगको रुपमा कायम गरे।

अमेरिकाको इन्डो प्यासिफिक रणनीतिले अमेरिकाको पश्चिमी तटदेखि भारतको पश्चिमी तटसम्म अर्थतन्त्र, प्रशासन र सुरक्षालाई समेट्छ। अमेरिकाको काउन्सिल अन फरेन रिलेसन्सका अनुसार इण्डो–प्यासिफिक रणनीतिले भारतलाई केन्द्रबिन्दुमा राख्छ। एसिया क्षेत्रमा चीनको बढ्दो उपस्थितिलाई रोक्न भारतलाई अगाडि सार्दै अमेरिकाले आफ्नो रणनीतिलाई बिस्तार गरिरहेको छ। यही अनुरुप अमेरिकाले एसिया प्रशान्त क्षेत्रका चीनको प्रभावमा रहेका मुलुकहरु आफ्नो उपस्थिति बढाउँदै गएको छ।

पछिल्लो समय चीनको प्रभाव बढिरहेको श्रीलंका र माल्दिभ्समा अमेरिकाले गत वर्ष नै आफ्ना अधिकारीहरु पठाएर इन्डो प्यासिफिक रणनीतिमा सहभागी गराउने प्रयास गरेको थियो। त्यसैको कडी स्वरुप अमेरिकी विदेशमन्त्री पोम्पिओले नेपाली समकक्षीलाई नै वासिङ्टन निम्त्याए।

अमेरिकामा परराष्ट्र मन्त्री ज्ञवाली र अमेरिकी समकक्षी पोम्पिओसँगको भेटपछि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको वक्तव्यमा ‘इन्डो प्यासिफिक क्षेत्र’मा नेपालको केन्द्रीय भूमिका हुन सक्ने विषयमा छलफल भएको उल्लेख थियो।

यसले परराष्ट्र मन्त्रीको आलोचना भयो। उनले स्पष्टिकरण दिए- इन्डो प्यासिफिक ‘रिजन’ हो ‘स्टाटेजी’ होइन भन्दै। तर, उनको स्पष्टिकरणले अमेरिकाको स्वार्थ भने बदलिने होइन।

के हो इन्डो प्यासिफिक कमाण्ड?

अमेरिकी सेनाको युनिफाइड कम्ब्याटेन्ट कमाण्ड हो इन्डो प्यासिफिक कमाण्ड। यो इन्डो प्यासिफिक क्षेत्रप्रति उत्तरदायी छ। यो अमेरिकी सेनाको पूरानो र ठूलो युनिफाइड कमाण्ड हो। सन् १९४७ जनवरी १ मा निर्माण भएको यो कमाण्ड सुरुमा युसएस प्यासिफिक कमाण्डको रुपमा चिनिन्थ्यो। सन् २०१८ मे ३० मा यसको नाम युएस इन्डो प्यासिफिक कमाण्ड राखियो।

यो कमाण्डको कमाण्डरले एसिया प्रशान्त क्षेत्रको २६ करोड वर्ग किलोमिटर क्षेत्रफलमा सैन्य अपरेसन चलाउने अधिकारी र उत्तरदायित्व राख्छ, जुन पूरै पृथ्वीको करिब ५२ प्रतिशत क्षेत्र हो। यसले अमेरिकाको पश्चिमी सामुद्रिक तटदेखि भारतीय सामुद्रिक तट हुँदै पूरा आर्टिक र अन्टार्टिक क्षेत्र घेर्छ। यसको सोझै रक्षामन्त्रीमार्फत् अमेरिकी राष्ट्रपतिसमक्ष रिपोर्ट गर्छ।

यो कमाण्ड ३६ वटा देशमा फैलिएको छ। यो कमाण्डमा अमेरिकी सेनाको युएस आर्मी प्यासिफिक, मरिन फोर्स प्यासिफिक, युस प्यासिफिक फ्लिट, प्यासिफिक एयर फोर्स, युएस फोर्स जापान, युएस फोर्स कोरिया, स्पेसल अपरेसन कमाण्ड कोरिया र स्पेसल अपरेसन कमाण्ड प्यासिफिक सम्मिलित छन्।

यसको मुख्यालय हवाईमा रहेको छ। हवाई संयुक्त राज्य अमेरिकाको पचासौं राज्य हो जुन उत्तर अमेरिकाबाट बाहिर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell