PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

महिला बास्केटबल लिग : समृद्धि गोरिल्लाजको लगातार तेस्रो जित

महिला बास्केटबल लिग : समृद्धि गोरिल्लाजको लगातार तेस्रो जित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्ले फर डिप्राइभ्ड चिल्ड्रेन (पीडीसीएन) को आयोजनामा भइरहेको क्वीक्स महिला बास्केटबल लिगमा भाटभटेनी समृद्धि गोरिल्लाजले लगातार तेस्रो जित हात पारेको छ।

लिग अन्तर्गत सोमवार टाइम्स कलेजको बास्केटबल कोर्टमा भएको खेलमा गोरिल्लाजले साइपाल एकेडेमीलाई ४०-२२ ले पराजित गरेको हो।

गोरिल्लाजले यसअघि नेपाल पुलिस र आइएसओ काइट्सलाई पराजित गरेको थियो। चार टोली सहभागि लिगमा गोरिल्लाजले पहिलो चरणमा तीन वटै विपक्षीलाई पराजित गर्दै आफूलाई उपाधिको दाबेदारको रुपमा अगाडि राखेको छ।

राष्ट्रिय टिमकी कप्तान सदिना श्रेष्ठ समेत रहेको गोरिल्लाज ३ खेलबाट ५ अंक जोड्दै फेरी शीर्ष स्थानमा उक्लेको छ। ३ खेल नै खेलेको पुलिस २ जित र १ हारपछि ५ अंकसहित दोस्रो स्थानमा छ।

गोरिल्लाजले पहिलो क्वाटरमा ९-७ को अग्रता बनाएको थियव। तर साइपालले दोस्रो क्वाटर ९-४ ले आफ्नो पक्षमा पार्दै १६-१३ को अग्रता बनायो। तर तेस्रो क्वाटरमा १०-२ ले सहजै आफ्नो पक्षमा पारेको गोरिल्लाजले २३-१८ को अग्रता बनाउन सफल भयो। चौथो क्वाटर १७-४ ले आफ्नो पक्षमा पारेपछि गोरिल्लाजले ४०-२२ को सहज जित हात पारेको हो।

खेलमा १२ अंक स्कोर गरेकी गोरिल्लाजकी एलिना गुरुङ प्लेअर अफ दि म्याच घोषित भइन्।

आजै भएको पहिलो खेलमा पुलिसले आइएसओ काइट्सलाई ७६-६३ ले पराजित गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell