PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा : सौरभको इनिङ्सले छायामा परेको अनिल गुरुङको शतक



पहिलोपोस्ट

प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा :  सौरभको इनिङ्सले छायामा परेको अनिल गुरुङको शतक
शतक प्रहार गरेपछि खुशी मनाउँदै अनिल गुरुङ

काठमाडौं : राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको प्रदेश नम्बर ३ प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपाल इन्टरनेशनलको व्यवस्थापनमा भइरहेको प्रधानमन्त्री कपको तेस्रो संस्करणमा अन्तिम चारमा पुग्ने प्रदेश ३ एक्लो प्रदेश टोली समेत हो।

यसअघि नै विभागीय टोलीहरु साविक विजेता एपीएफसहित त्रिभुवन आर्मी र नेपाल पुलिसले सेमिफाइनलमा स्थान बनाइसकेका छन्।

प्रतियोगितामा १० टिमको सहभागिता रहेकोमा ६ प्रदेशको टिम समूह चरणबाटै आउट भए।

अब सेमिफाइनलमा प्रदेश ३ र आर्मी तथा पुलिस र एपीएफबीच खेल हुनेछ।

आइतवार समूह ए अन्तर्गत प्रदेश ३ र सुदूरपश्चिम तथा गण्डकी प्रदेश र प्रदेश नम्बर ५ को खेल थियो। प्रदेश ५ ले गण्डकी प्रदेशलाई पराजित गर्ने अनी प्रदेश ३ पराजित भएमा प्रदेश ५ पनि सेमिफाइनल पुग्ने थियो।

खेल हुनुअघि प्रदेश ३ सँगै प्रदेश ५ को पनि सेमिफाइनल सम्भावना बाँकी नै थियो। तर प्रदेश ३ ले मुलपानी क्रिकेट मैदानमा सुदूरपश्चिमलाई सहजै ६ विकेटले पराजित गरेपछि कीर्तिपुरमा भएको गण्डकी प्रदेश र प्रदेश ५ को खेलको नतिजाले कुनै अर्थ नराख्ने भयो।

तैपनि यो खेलमा रोमाञ्चकताको कमि भएन। गण्डकी प्रदेशका अनिल गुरुङको शतक, प्रदेश ५ का अनिल खरेलको ५ विकेट अनि प्रदेश ५ कै सौरभ खनालको ब्याटिङले खेल प्रतिस्पर्धात्मक र रोमा१चक बनाएको थियो।

प्रदेश ३ ले सुदूरलाई हराएपछि साविक विजेता समेत रहेको एपीएफलाई रनरेटमा पछि पार्दै समूह ए को विजेता कै हैसियतमा सेमिफाइनल स्थान बनायो। प्रदेश ३ संग पहिलो खेल हार्दै प्रतियोगिता सुरुवात गरेको त्यही प्रदेश ५ ले बाँकि खेलमा भने हार बेहोर्नु परेन। दोस्रो खेलमा वर्षाका कारण सुदूरपश्चिमसँग अंक बाँड्नु नै प्रदेश ५ को लागि दुर्भाग्यो। त्यो खेलमा १ अंक पाएको प्रेदश ५ ले बाँकी २ खेल जित्दै समूह ए मा ४ खेलबाट ५ अंक जोड्दै तेस्रो स्थान हात पार्‍यो।

उता यसअघि नै समूह चरणबाट बाहिरसकेको गण्डकी प्रदेशले भने तेस्रो हार बेहवर्‍यो। अब समूह चरणको अन्तिम खेलमा भोली गण्डकी र सुदूरपश्चिम खेल्दैछन्। जितिविहन रहेको दुवै टोली जितका साथ सुदख अन्त्य गर्ने योजनामा छन्।


अनिलको शतक, अनिलको ५ विकेट अनि सौरभको ब्याटिङ

टीयू मैदानमा टस जितेर ब्याटिङ रोजेको गण्डकीले ओपनर अनिल गुरुङको शतक मद्दतमा ४९.२ ओभरमा सबै विकेट गुमाएर २३४ रन बनाएको थियो। जवाफमा सौरभ खनाले उत्कृष्ट ब्याटिङ गर्दै ९० रन बनाएपछि प्रदेश ५ ले एक बल बाँकी छँदा लक्ष्य पूरा गर्‍यो।

११२ बल खेलेका सौरभले १२ चौकाको मद्दतमा ९० रन बनाए। टिमलाई जितनजिक पुर्‍याएपनि सौरभ अन्तिम ओभरको तेस्रो बलमा आउट भएका थिए। त्यसअघि प्रनित थापा मगरले ४५ र निश्चल चौधरीले ३३ रनको योगदान गरेका थिए।

बलिङमा गण्डकीका किशोर महतोले २ विकेट लिए।

त्यसअघि अनिल गुरुङको शतकमा गण्डकीले सम्मानजनक स्कोर बनाएको थियो।  आधा भन्दा बढि इनिङ्स एक्लै खेलेका अनिलले १५२ बल फेस गर्दा ५ चौका र १ छक्काको मद्तमा ११५ रन बनाएका थिए। उनी यस संस्करणमा शतक प्रहार गर्ने तेस्रो खेलाडी हुन्। यसअघि प्रदेश ३ का ज्ञानेन्द्र मल्ल र नेपाल पुलिसका अमित श्रेष्ठले शतक प्रहार गरेका थिए।

यस्तै अर्का ओपनर गोविन्द प्रधानले २६ र मेख बहादुर सेनले २३ रन जोडे। फास्ट बलर दिपेश श्रेष्ठले २० बल खेल्दै १ चौका र २ छक्काको मद्दतमा २८ रन बनाउँदा अर्का बलर किशोर महतोले ७ बल खेल्दै ३ छक्काको मद्दतमा २० रन जोडे। बलिङमा प्रदेश ५ का अनिल खरेलले ९.२ ओभरमा २८ रन खर्चेर ५ विकेट लिए। उनले शतक बनाएका अनिलको समेत विकेट लिएका थिए।
५ विकेट लिएका अनिल खरेल

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell