PahiloPost

Dec 10, 2019 | २४ मंसिर २०७६

मुहानै फोहोर छ, चुहान कहाँबाट सफा हुन्छ? कांग्रेसको जागरण अभियान निरर्थकः चिरञ्जीवी वाग्ले



पहिलोपोस्ट

मुहानै फोहोर छ, चुहान कहाँबाट सफा हुन्छ? कांग्रेसको जागरण अभियान निरर्थकः चिरञ्जीवी वाग्ले

एक ताका कांग्रेसका प्रभावशाली नेता थिए चिरञ्जीवी वाग्ले। २०४८ सालदेखि २०५८ सालसम्मको दश वर्षमा ७ पटक मन्त्री पनि भए। नेपाली कांग्रेसबाट छुट्टिएर बनेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) मा उनको प्रभाव छुट्टै थियो। काँग्रेसका तीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवा सरकार प्रमुख भएका बेला उनी प्राय: हरेकपटक मन्त्री हुन्थे।

पार्टीमा गिरिजाप्रसादको ‘एकछत्र’ शासनको विरुद्ध थिए उनी। नेपाली कांग्रेस फुट्दा उनी शेरबहादुरसँगै नेपाली कांग्रेस (प्रजातान्त्रिक) तिर लागेका उनलाई शेरबहादुरका विश्वासपात्रको रूपमा हेरिन्थ्यो। अहिले तिनै शेरबहादुर पार्टी सभापति छन्। वाग्ले चाहिँ राजनीतिबाट टाढा। यसै विषयमा वाग्लेसँग पहिलोपोस्टका लागि नेत्र तामाङले गरेको कुराकानीको सम्पादित अंश:

अचेल केमा व्यस्त हुनुहुन्छ?

म अहिले साहित्यतिर नै अलि बढी व्यस्त छु। यसअघि ४ वटा किताब प्रकाशित भएका छन्। अब दुई वटाको तयारी गर्दैछु। 'बलिदानले बनेको देश' लेख्दैछु।

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाह हुन्। तर त्यसपछि पनि अरू धेरै उल्लेख्य व्यक्तिहरू छन् जसले एकीकरणमा योगदान दिएका छन्। बहादुर शाह अर्का ऐतिहासिक व्यक्ति हुन्। म आजकाल यिनै पात्रहरूबारे पढ्ने लेख्ने गर्दैछु। 'कांग्रेसको इतिहास' पनि लेख्ने भनेर लागिररहेको छु। स्वास्थ्यले साथ दिएमा २/३ वर्षमा २/३ वटा किताब बजारमा आउँछन्।

भनेपछि राजनीतिमा फर्किनुहुन्न अब?

म एक राजनीतिक व्यक्ति हुँ। त्यसैले राजनीतिमा फर्किन्नँ भन्न सकिन्नँ। राजनीतिक रूपमा पार्टीले सहयोग गर्नुपर्‍यो भन्यो भने म तयार छु।

सक्रिय राजनीतिमा फर्कने कि नफर्कने स्पष्ट भन्दिनुस् न।

परिस्थिति र घटनाक्रमले साथ दिए फर्कन्नँ भन्ने छैन। ५५/६० वर्ष काम गरेँ राजनीतिमा। पछिल्लो महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा लडेको हुँ नि। तर सहयोग पाइएन। मलाई व्यापार गर्न आउँदैन, कृषि गर्न पनि आउँदैन। त्यसैले राजनीतिबाट भागिहाल्छु भन्ने छैन। राजनीतिमा सहयोग गर्छु। अरू बाटो पनि छैन। घटना र परिस्थितिले साथ दिएमा सक्रिय राजनीतिमा आउँछु नै। साथमा लेखन पनि छ नि।

कांग्रेसबाटै राजनीति गर्नुहुन्छ कि अरू कुनै पार्टीबाट? या नयाँ पार्टी खोल्नुहुन्छ?

म कांग्रेस नै जन्मिएँ राजनीतिक रूपमा। त्यसैले म अन्त जान्नँ। पार्टी खोल्ने पनि सोच छैन। जहाँ जन्मेँ त्यही मर्ने हो। हिन्दु भएर जन्मेँ। हिन्दु भएरै मर्ने हो। कांग्रेस भएर जन्मेँ। कांग्रेस भएरै मर्ने हो।

तपाईँसँग त्यति नजिक रहनुभएका सभापति हुनुहुन्छ। उहाँले त तपाईँलाई ठाउँ नै दिनुभएन नि? अहिले कतिको भेट हुन्छ?

त्यो बेला म देउवासँग हैन। देउवा मसँग नजिक थिए। उनको मसँग काम हुन्थ्यो। उनको स्वार्थपूर्ति हुन्थ्यो। अहिले मसँग उनको काम नै छैन। त्यसो भएपछि उनले मलाई ठाउँ दिने भन्ने कुरै भएन। भेटै नहुने भन्ने त होइन, हुन्छ नि।

भनेपछि पार्टी सभापतिसँगको सम्बन्ध राम्रो छैन?

शेरबहादुरजीसँग त्यस्तो नराम्रो सम्बन्ध भन्ने पनि होइन। पहिलाजस्तो नभएको मात्र हो।

पार्टीमा ५५ वर्ष काम गरेँ भन्नुहुन्छ, यतिकै माया मार्न सकिन्छ राजनीतिको रजगज?

मैले २०/२१ सालबाट पार्टीमा काम गरेको हुँ। अहिले चाहिँ के लाग्या छ भने मसँगै कांग्रेसका कति मन्त्री भए। सँगैको मन्त्रीमण्डलमा काम गरेका मन्त्रीको नाम पनि भन्न नसक्ने अवस्था थियो। त्यसैले सधैँ मन्त्री हुनुपर्छ भन्ने नि छैन। कमसेकम लेख्ने काम गरेमा बढ्ता बाँचिन्छ भन्ने लागेको हो।

२९ सालतिर गोरखापत्र मधुपर्कमा साहित्यिक लेख लेख्थेँ। त्यति बेला नेविसंघमा थिएँ। कुन बाटो लाग्ने भन्ने भयो। राजनीतिमा कि लेखनमा। त्यही क्रममा एउटा केसमा दुई वर्ष जेल बसेँ। फेरि पक्रे। थुने। परिस्थिति, घटनाक्रमले राजनीतिमा ल्यायो। मन्त्री बनेँ। हुन बाँकी प्रधानमन्त्री हो। कार्यवाहकसम्म त भएँ। सधैँ मन्त्री हुनुपर्छ भन्ने पनि छैन।

हुने पनि किन? सम्पत्ति केही होइन रहेछ भन्ने कुरो त अलेक्जेन्डर दि ग्रेटकै उदाहरण हेरे पुग्छ। उनले मर्ने बेला मरेपछि कफनमा दुइटा हात देखिने गरी राख्नु भनेछन्। आधा विश्व जितेका अलेक्जेन्डर खाली हात आएको थियो। खाली हातै गयो भन्ने बुझोस् भनेर। लाउन खान पुगोस्। औषधि मुलो गर्न पुगोस्। बढी भए एउटा गाडी न हो चाहिने।

अहिले पार्टी नराम्रोसँग हारेको छ। कम्युनिस्टले पेले भनेर केन्द्रीय नेताहरूले बारम्बार भनिरहेका छन्। कतिको माया लाग्छ पार्टीको?

कमजोर हुँदा मनमा चोट त पर्छ। तर सवाल के हो भने नि आमा बिरामी भइन् भने आमालाई क्यान्सर भयो भने बचाउने प्रयत्न गर्ने हो। प्रयत्न गर्दागर्दै बिसेक भएन भने त आमा त मर्छिन्। अब आमा मरिन् भनेर दु:ख त लाग्छ तर केही गर्न सकिन्नँ। पार्टीको कुरा पनि त्यही हो। क्यान्सरको उपचार बेलैमा गर्नुपरो। सारै भयो भने त त्यसैले खान्छ।

पार्टी बलियो होस् भनेर मैले आफ्नो किताब विमोचनमै पार्टीका नेताहरूलाई बोलाएँ। रामचन्द्र पौडेल युरोप गएका थिए। सभापतिदेखि अरू आइपुगे। मैले कसैलाई एकले अर्कोलाई हिलो छ्याप्ने गरी नबोल्नु भनेँ। अनि मिल पनि भनेको छु। मिलोस् भन्ने मेरो चाहना हो।

गिरिजाबाबुसँग हामीले पनि झगडा गरेकै हो। तर यसको अन्त्य त हुनुपर्‍यो नि। कतिन्जेल लड्ने?

यस्तै भयो अब सुध्रिनुपर्‍यो भनेर अहिले जागरण अभियानमा छ त काँग्रेस?

जागरण अभियान निरर्थक छ। केन्द्रमा सुधार छैन। मुहान नै फोहोर छ त, चुहान कहाँबाट सफा हुन्छ। गुटको कुरा लिएर जागरणमा जाने? एकले अर्काको खिलाफमा बोलेको छ। त्यही हो जागरण? यसको कुनै अर्थ नै छैन। केन्द्रमा गुटैगुट, जिल्लामा त्यही केन्द्रको गुट। अनि केको जागरण, कसरी जागरण?

मुहान सफा भए चुहान सफा हुन्छ। मुहानमा गन्धकी र फोहोर हुने अनि चुहान सफा खोज्ने?

कांग्रेसको मुहान सफा हुन के हुनुपर्छ त?

कांग्रेसको नेतृत्वमा सुधार आयो भन्ने वातावरण बताउनुपर्‍यो नि। कार्यकर्तालाई नेताले अन्याय गर्दैनन्, भेदभाव गर्दैनन्, पक्षपात गर्दैनन् भन्ने महसुस गराउनुपर्‍यो। ०३५/३६ सालतिर एक दुई ठाउँमा झगडा हुन्थ्यो। केन्द्रमा गएपछि न्याय पाइन्थ्यो। अहिले पाइन्नँ।

गोरखामा मैले भनेको थिएँ। वडामै मिल। क्षेत्रमा आए अन्याय हुन्छ। जिल्लामा आए अली बढी अन्याय हुन्छ। केन्द्रमा आए त झन् बढी अन्याय हुन्छ। अनि चुनावै हार्छ।

न्यूनतम सहमति त हुनुपर्‍यो नि।

मेरो विश्वासमा मैले जे आर्जन गरेको छु त्यो अरूले खोस्न सक्नु हुन्नँ। म अलिकति धार्मिक मान्छे। अरूले ल्याएको मैले खोस्न सक्दिनँ। फलाना अगाडि आयो भने मेरो भाग खोसिन्छ भन्ने कुरा बिल्कुल गलत हो। माथि मिलाए तल स्वतः मिल्छ नि।

कांग्रेसमा महाधिवेशन पनि निर्धारित मितिमा नहुने देखिन्छ, कतिले ‘अर्ली महाधिवेशन’को माग गरेका थिए, तपाईँलाई कस्तो लाग्छ?

‘अर्ली महाधिवेशन’ हुँदैन भन्ने कुरा त कुरा उठाउनेहरूलाई नै पनि थाहा होला। तर महासमितिमा विधानमा एउटा संशोधन माग गरिएको थियो। निवर्तमान केन्द्रीय सदस्य एकपटक स्वत: केन्द्रीय सदस्य हुने कुरा हटाउ भने।

चुनेर आयो भने हुन्छ। तर केन्द्रीय समितिले मानेन। हार्छ भनेर किन डराउने? हाम्रो त मनोनीत गर्ने ठाउँ छ नि। कुनै कारणले अधिवेशनबाट आएन तर त्यसको सेवा पार्टीलाई आवश्यकता छ भन्ने लाग्यो भने त्यसलाई ठाउँ दिने बाटो लागि राखेको हो। किन महासमितिको विपरीत जानुपर्‍यो।

एउटा मिटिङमा मैले भन्या थिएँ। हाम्रो अगाडि देश पनि छैन। प्रजातन्त्र पनि छैन। पार्टी पनि छैन। हाम्रो अगाडि हामी छौँ। आफू छौँ। अब हामी नहुँदा पार्टी कसलाई चलाउन दिने?

प्रियसीलाई। नभए पत्नी। नभए नजिकका मान्छे। अन्ध समर्थक। अन्ध समर्थक पार्टीको हो? अन्ध समर्थकले पार्टीलाई भोट हाल्ला। तर पार्टी त राम्रो हुँदैन नि। प्रजातन्त्र पनि हुँदैन र देश पनि सुधार हुँदैन। यसरी पार्टी कहीँ पनि पुग्दैन।

अबको महाधिवेशनमा काँग्रेसको सभापति बन्न लायक को देख्नहुन्छ?

अहिले जो-जो सभापतिका प्रतिस्पर्धी देखिन्छन् ती भन्दा अरू दर्जन छन् लायक। तर उनीहरू अगाडि आउने, प्रतिस्पर्धा गर्ने वातावरण नै छैन। सभापति हुन योग्यता, क्षमता र पपुलिराटीमात्र भएर भएन अब गुट चाहिन्छ नि अहिले त। गुट पनि दुई तीन ठाउँमा बाँडिएको छ। लगाम पट्टी लगाएको घोडाजस्तो छ। अन्त हेर्दै नहेर्ने भइसकेको छ। राम्रो होस् या नराम्रो। बलको लिडरसिप छ, प्रतापको लिडरसिप छैन।

प्रतापको लिडरसिप भनेको कस्तो?

बंगालमा हिन्दु मुस्लिम दङ्गा भयो। अंग्रेजको शासन थियो। ५० हजार अंग्रेजको सशस्त्र सिपाही जाँदा दङ्गा शान्त भएनन्। खाली खुट्टा खाली हात महात्मा गान्धी एक्लै गए। मिलेर बस भने। शान्ति भयो। ५० हजार सेनाले नसकेको ठाउँमा महात्मा गान्धी एक्लैले भनेको कुरा माने। यो प्रताप हो।

सङ्ख्या, बल भएकोलाई कसरी प्रतापको भन्ने। शेरबहादुरजीमाथि प्रश्न नउठाउने को छ? गिरिजाप्रसाद पनि संख्याकै आधारमा काम गर्थे। अहिलेका सभापतिले पनि चार वर्ष भयो हुन लाग्यो। विभाग बनाउन सकेको छैन। २५/३० औँ विभाग हुन्छ।

विद्यार्थी पनि मेरै। मजदुर पनि मेरै। महिला पनि मेरै चाहिन्छ भनेर लाग्या छ। पार्टीको नीति विपरीत काम गरे निकाल्न पाइन्छ। हैन भने स्वतन्त्रता चुनाव गराउन सक्दैनन्?

भनेपछि तपाईँ जुन कुराका लागि गिरिजाप्रसादसँग लड्नुभएको थियो, त्यही कुराका लागि शेरबहादुरसँग लडिरहनु भएको छ?

हुन त गिरिजाबाबुसँग हामी लड्यौँ। साथीहरू पनि लड्यौँ। मलाई स्पोर्टस्म्यान बनाए। गिरिजाबाबुलाई प्रधानमन्त्री पनि चाह्यो। सभापति पनि चाह्यो। पार्टी पनि चाह्यो। गुटगत राजनीति भयो। गुट क्यान्सर भन्नुहुन्थ्यो कृष्णप्रसाद भट्टराई। गुटले तत्काल व्यक्तिलाई फाइदा हुन्छ। दीर्घकालीन रूपमा यो घाटा हो।

शेरबहादुरजीको बाटो पनि गिरिजाकै बाटो हो। कुनै बेला शेरबहादुरजीले भन्नुहुन्थ्यो - म गिरिजाको चेलो। गिरिजाको चेलो भनेको पार्टीभित्रको कुनै राम्रो बाटो होइन। बीपीको चेलो भए पो हुने। कृष्णप्रसादको चेलो, गणेशमानको चेलो भए पो हुने। गिरिजाको चेलो भनेको त त्यही हैन। गिरिजाको बाटो लागे सबै। सुशील पनि त्यही बाटोमा लागे।

तपाईँ सत्तामा पटकपटक पुग्नुभएको मान्छे, तर तपाईँको सहभागिता बिनै संघीयता आयो कस्तो लाग्छ?

सहज रूपमा मुलुकको परिस्थिति अझै नि जान्छ जस्तो लाग्दैन। तैपनि त्यस्तो अनिष्ट नहोस् भन्ने चाहन्छु। फेरि यस्तो नहोस्। मान्छे मारिने, जेल जाने नहोस्। तर मैले र तपाईँले चाहेर पनि हुँदैन। केही न केही दुर्घटना हुन्छ। संरचना पनि परिवर्तन हुन्छ जस्तो लाग्छ।

के राजतन्त्र फर्किन्छ त त्यसो भए?

पार्टीहरूको अहिलेको अवस्थाबाट आउन सक्ने देख्दिनँ। बाहिरी शक्ति लागे भित्री फोर्स प्रभावित हुन्छन्। अहिले शक्तिशाली पार्टी राजाका पक्षमा छैनन्। त्यसैले त्यस्तो नहुन सक्छ।

त्यसो भए कस्तो खालको अनिष्ट होला त?

विप्लव शान्ति प्रक्रियामा आएका हुन् नि। किन छाडेर गएको? छाडेर गएको कारण त तर्कसंगत छैन। मोहन वैद्यले किन छाडे?

मधेसका मुद्दा यथावत् छन्। पार लाग्न सकेको छैन।

ऋतिक रोशन केसमा काठमाडौँ जल्यो। यो कुनै मुद्दा हैन नि। त्यसैगरी केही न केही हुन सक्छ।  नोक्सान के होला त? यसले संघीयतामै नोक्सान हुन सक्छ। यो काम पनि थिएन।

स्थानीयलाई बलियो बनाएर केन्द्र सरकारले काम गरे भइहाल्थ्यो नि। यता हात पसारे मन्त्री भेट हुन्छ। उता हात पसारे सरकार भेटिन्छ। यत्रो सानो देशले खर्च कसरी धान्ने?

मिलाउन लागि परेका छन् नि दलहरू?

यही सेटलमेन्टमा लाने हो भने लिडरसिप चाह्यो यो दुबै ठूला पार्टीको जिम्मेवारी हो। ने क पा र कांग्रेस दुबै पार्टीले राम्रोसँग मिलेर निकास खोज्नेतिर लागे भने दुर्घटना रोकिन सक्छ। त्यसतर्फ जाने मानसिकता बनिहल्ला जस्तो देख्दिनँ। ने क पाभित्र पनि सन्तुष्टि त्यति देख्दिनँ। असन्तुष्टि बन्ने देखिन्छ। कांग्रेसको नि त्यही हो अरू पार्टीको पनि त्यही हो। कलह हो। देश बचाउने संस्कार देखिएन।

किन यस्तो भएको होला त?

संविधान जारी गर्न हतार गर्‍यो। अढाई वर्ष त समय थियो। मधेशको मुद्दालाई यथासम्भव छलफल गरी जारी गरेको भए हुन्थ्यो। हिन्दुत्वमा भारतले प्रेसर गर्छ भनेर रातारात लागे। हिन्दुत्वको प्रेसर भए गाह्रो हुन्छ भनेर। चार वर्षका लागि चुनेको डेढ वर्ष बाँकी हुँदै संविधान जारी भयो।

८१ प्रतिशत हिन्दु भएको मुलुक हो नि हाम्रो। पश्चिमाको प्रभावमा परेर उहाँहरूले संविधान जारी गर्नुभयो। संविधान संशोधनको कुराहरूलाई मिलाउ भनेर हामीले सुशीललाई भनेका थियौँ। पछि खेल्न दिनुहुन्न भनेका थियौँ। हाम्रो काम हामीले हाम्रो लागि गर्ने हो। धर्म निरपेक्षता नेपालीको लागि होइन।

योभन्दा अघिको भारतीय राजदूतले अबको १० वर्षपछि नेपालको अवस्था कस्तो हुन्छ भनेर सोधेको रहेछ।

नेपालको राजनीतिक पार्टीले बुद्धि पुर्‍याउन नसके अहिलेको भन्दा अवस्था फरक हुन्छ। चीनको खिलाफमा भारततिर लाग्न नि भएन। भारतको खिलाफमा चीनतिर लाग्न पनि भएन। अमेरिका र युरोपियन मुलुकलाई बाहेक गर्न पनि भएन।

यो संविधान चीन र भारतको इन्ट्रेस्टविरुद्ध भयो। तर अमेरिका र युरोपियनको इन्ट्रेस्टमा गयो।

अन्त्यमा, तपाईँ यति धेरै इज्जत कमाएको मान्छे, आखिरीमा भ्रष्टाचारी ठहर भएर खुम्चिनुपर्दा कस्तो लागिरहेको छ?

सामाजिक प्रतिष्ठा केलाई भन्ने? यसलाई फसाइयो, अन्याय गरियो भनेर धेरैले भन्छन्। अनि अर्का थरी हुन्छन् गाली गर्ने। गाली गर्नेसँग मुखमुखै लाग्न नि सकिन्नँ। ईश्वरलाई त गाली गर्छन्, म त झन् सामान्य मान्छे।

पढ्नुस्ः मन्त्रीको साइरनदेखि किताब लेखनका 'कैरन'सम्म



मुहानै फोहोर छ, चुहान कहाँबाट सफा हुन्छ? कांग्रेसको जागरण अभियान निरर्थकः चिरञ्जीवी वाग्ले को लागी ४ प्रतिक्रिया(हरु)

Devendra Basnet [ 2019-07-31 09:30:32 ]
Yesta corrupted manchhe harulai kina ra kasari thau dinchha ho Media le? Gorkha ma kehi nabhaeko manchhe ko ahile ko sampannata ta bhrastachar nai ho ni hoina.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Keshudev [ 2019-07-02 15:19:26 ]
चिरन्जीवी वाग्ले खासमा नराम्रा मान्छे होइनन् । उनले घूस खाएका होइनन् । उनलाई भजाएर खानेहरुले उनको बदनाम गरे र राजनीतिक छविसमेत धूमिल बनाइदिए । अहिलेका नेताहरुमा राजनीतिक आचरण कमैमात्र देख्न सकिन्छ । नेपालका ठूला नेताहरुको अकूत सम्पत्ति खोइ छानबिन भएको ? अरबौँ रुपैयाँ विदेशमा राख्ने, अमूर्त व्यक्तिका नाममा लगानी गर्नेहरुको सम्पत्तिबारे खोइ चासो र चिन्ता ? प्रतिशोधमा चिरन्जीवी घानमा परेकामात्रै हुन् । उनले गोर्खाली जनताको थुप्रै कल्याण गरेका छन् । यस्ता व्यक्तित्व फेरि राजनीतिमा पुनरागमन हुनुपर्छ ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Ram [ 2019-06-06 20:27:16 ]
खोर्सानी साहिँलो भन्थे यस्लाई। ४६ सालमा केहि गरिब काग्रिँसी कार्यकर्ताले नँया चप्पल किनेर दिएको कुरा अझै गर्दै छन्। त्यसपछि यो मन्त्री भयो। बेपर्वाह धुश खायो। अदालतमा प्रभाव प्रयोग गरेर कम सजायमा जेलबाट निस्क्यो। अहिले मुल फोहर छ भन्छ। हो मुल फोहर छ, तर यसले भन्न सुहाउँछ। शरम नभएको बेवकुफ। यसलाई पत्रिकाले कसरी ठाँउ दिए? किताब लेख्छ रे? कसले पढ्ला यो अनैतिकको किताब।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Keshab Shrestha [ 2019-06-04 16:39:15 ]
Afule khanu khayo ra jail basera aayeko manchhe le arulai ghuskhor banne?

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell