PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

प्रधानमन्त्री कपको समूह चरणका खेलहरु सकिए, धेरै रन बनाउने र विकेट लिनेमा को अगाडि?



पहिलोपोस्ट

प्रधानमन्त्री कपको समूह चरणका खेलहरु सकिए, धेरै रन बनाउने र विकेट लिनेमा को अगाडि?
पारस खड्काको कप्तानीमा रहेको प्रदेश ३, सेमिफाइनलमा पुग्ने एक मात्र प्रदेश टोली

काठमाडौं : राष्ट्रिय खेलुकद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थानमा जेठ १0 गतेबाट शुरु भएको तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह चरणका खेलहरु आजबाट सकिएको छ।

मंगलवार भएको समूहको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गर्दै सुखद अन्त्य गरेको छ।

यस्तै सेमिफाइनल समीकरण पनि पूरा भएको छ। समूह ए बाट प्रदेश ३ र एपीएफ तथा समूह बी बाट नेपाल पुलिस र त्रिभुवन आर्मी अन्तिम चारमा पुगेका छन्। अब प्रदेश ३ र आर्मी तथा पुलिस र एपीएफबीच खेल हुनेछ।

 

अहिलेसम्म धेरै रन बनाउने खेलाडीहरु

समूह चरणमा कूल २० खेलहरु भए। जसमा ३ शतक प्रहार भए। प्रतियोगिताको उद्घाटन खेलमै प्रदेश ३ का ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका थिए। तर उनको शतकले पनि टिमलाई दिलाउन सकेन र प्रदेश ३ एपीएफसँग पराजित भयो।

यस्तै नेपाल पुलिसका अमित श्रेष्ठले प्रदेश १ विरुद्ध १०६ रन बनाए। उनकै शतक मद्दतमा पुलिसले जित हात पारेको थियो। यस्तै गण्डकी प्रदेशका अनिल गुरुङले प्रदेश ५ विरुद्ध शतक प्रहार गरेका थिए। अनिलले ११५ रन बनाए पनि टिम भने ३ विकेटले पराजित भयो।

यस्तै त्रिभुवन आर्मीका राजु रिजालले २ अर्धशतक प्रहार गरे। यस संस्करण राम्रो प्रदर्शन गरेका राजुले चार खेलबाट सर्वाधिक १७८ रन बनाएका छन्।

यस्तै एक शतक प्रहार गरेका अमित श्रेष्ठ १६५ रनसहित दवस्रो स्थानमा छन्। उनले एक अर्धशतक समेत प्रहार गरेका थिए।

यस्तै शतक प्रहार गर्ने अनिल गुरुङ १३६ रनका साथ छैटौँ स्थानमा छन् भने ज्ञानेन्द्र मल्ल ११७ रनसहित ११औं स्थानमा छन्। ज्ञानेन्द्रले चार खेल खेलेपनि एपीएफ विरुद्धको पहिलो खेल बाहेक अन्य खेलमा ब्याटिङ गरेका छैनन्।

 

धेरै विकेट लिने खेलाडीहरु

समूह चरणमा यस पटक केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। ७ खेलाडीले एकै खेलमा ५ वा त्यो भन्दा बढी विकेट लिएका छन्। नेपाल पुलिसका दिपेन्द्र सिंह ऐरीले दुई पटक एकै खेलमा ५ विकेट लिए। उनी सर्वाधिक विकेट लिनेमा पनि शीर्ष स्थानमा छन्।

उनले ४ खेलबाट १३ विकेट लिएका छन्। पुलिसकै ललित नारायण राजवंशी १२ विकेटसहित दोस्रो स्थानमा छन्। १२ विकेट नै लिएका प्रदेश १ का पुष्प थापा तेस्रो स्थानमा छन्।

समूह चरणमा उत्कृष्ट प्रदर्शन भने प्रदेश नम्बर २ का कुमार थापाले गरेका थिए। उनले एकै खेलमा २२ रन खर्चेर ७ विकेट लिएका थिए।

कुमारसँगै आर्मीका शहाब आलम र सुशन भारी, सुदूरपश्चिमा विनोद लामा तथा प्रदेश ३ का सूर्य तामाङले समान ११ विकेट लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell