PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपाल बास्केटबल लिग : आर्मी शीर्ष स्थानमा रहेर प्लेअफमा



पहिलोपोस्ट

नेपाल बास्केटबल लिग : आर्मी शीर्ष स्थानमा रहेर प्लेअफमा

काठमाडौं : गत संस्करणको उपविजेता त्रिभुवन आर्मी क्लबले क्विक्स नेपाल बास्केटबल (एनबीएल) को आफ्नो अन्तिम लिग खेलमा कीर्तीपुर बास्केटबल क्लबलाई पराजित गरेको छ।

लिगमा १३औँ जित हात पारेको आर्मी २७ अंक जोड्दै शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको छ। आर्मीले यस सिजन एकमात्र खेलमा हार बेहोरेको थियो।

मंगलबार भएको खेलमा आर्मीले कीर्तिपुर बास्केटबल क्लबलाई ८९-७७ ले पराजित गर्‍यो।

कीर्तिपुरको घरेलु कोर्टमा भएको खेलमा आर्मीले २४-२३, २०-१६, २०-२०, २५-१८ को अग्रता बनाउँदै खेल जितेको हो।

आर्मीको जितमा रोविन खत्रीले उत्कृष्ट प्रदर्शन गर्दै २७ अंक स्कोर गरे। उनी खेलको प्लेयर अफ दि म्याच घोषित भए।

यस्तै राष्ट्रिय टिमका कप्तान सदिश प्रधानलगायत खेलाडीहरु समावेश टाइम्स इन्टरनेसनल क्लब १४ खेलबाट २६ अंक जोड्दै दोस्रो भएर प्लेअफ पुगेको छ।

अब प्लेअफ खेल्ने बाँकी दुई टिमको टुङ्गो लाग्न बाँकी छ।

प्लेअफमा पहिलो र दोस्रो हुने टोलीले पहिलो क्वालिफायर खेल्नेछन्। यस खेलको विजेता सीधै फाइनल पुग्नेछ। यस्तै तेस्रो र चौथो हुने टोलीले एलिमिनेटर खेल्नेछन्। एलिमिनेटर जित्ने पहिलो क्वालिफायरको पारजित टोलीसँग फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्नेछ।

क्वालिफायर र एलिमिनेटर खेलहरु बेस्ट अफ थ्रीका आधारमा हुनेछन् भने फाइनलमा एक खेलमात्र हुनेछ।

प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पीडीसीएन) को आयोजनामा भइरहेको लिगको विजेताले २ नगद लाख पुरस्कार हात पार्नेछन् भने दोस्रो हुनेले १ लाख प्राप्त गर्नेछन्।

लिगको मोस्ट भ्यालुएबल प्लेअर र हाइएस्ट स्कोररलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell