PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विश्वकप क्रिकेट: नुवान प्रदीप र मालिंगाले उत्कृष्ट बलिङ गर्दै जिताए श्रीलंकालाई, अफगानिस्तानको दोस्रो हार



पहिलोपोस्ट

विश्वकप क्रिकेट: नुवान प्रदीप र मालिंगाले उत्कृष्ट बलिङ गर्दै जिताए श्रीलंकालाई, अफगानिस्तानको दोस्रो हार

नुवान प्रदीपले एक दिवसीय करियरको उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि श्रीलंकाले आइसीसी विश्वकप क्रिकेट २०१९ मा पहिलो जित हात पारेको छ।

अफगानिस्तानलाई डिएल मेथडमा ३४ रनले पराजित गर्दै श्रीलंकाले यस विश्वकपमा पहिलो अंक जोडेको हो। यसअघि पहिलो खेलमा श्रीलंका न्यूजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो।

वर्षाले प्रभावित खेलमा श्रीलंकाले अफगानिस्तानलाई जितका लागि १८७ रनको लक्ष्य दिएको थियो। पहिलो इनिङ्सका क्रममा खेल वर्षाले अबरुद्ध भएपछि खेल ४१-४१ ओभरमा घटाइएको थियो।

अफगानिस्तानका मोहम्मद नावीले ४ विकेट लिएपछि श्रीलंकाले ३६.५ ओभरमा सबै विकेट गुमाएर २०१ रन बनाएको थियो। तर डिएल मेथडमा पछि रिभाइज्ड टार्गेटमा अफगानिस्तानले ४१ ओभरमा १८७ रन मात्र बनाउनुपर्ने भएको थियो।

तर प्रदिपले ४ र लासिथ मालिंगाले ३ विकेट लिएपछि अफगानिस्तान ३२.४ ओभरमा १५२ रनमै अलआउट भयो।

अफगानिस्तानका लागि नजिबुल्लाह जद्रानले सर्वाधिक ४३ रन बनाए। यस्तै हज्रतुल्लाह जजईले ३० र कप्तान गुल्वादन नइवले २३ रन जोडे।

बलिङमा प्रदीपले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ४ विकेट लिए। यस विश्वकपमा प्रदीपको यो पहिलो खेल हो। उनी अघिल्लो खेलमा खेलेका जीवन मेन्डिजको स्थानमा टिममा परेका थिए। त्यसलाई सही सावित गर्दै श्रीलंकालाई जिताउन महत्वपूर्ण भूमिका खेले। मालिंगाले ६.४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए। ३ विकेट लिएपछि मालिंगा विश्वकपमा सर्वाधिक विकेट लिनेमा पाँचौ स्थान उक्लेका छन्। मालिंगाले अहिलेसम्म २४ खेलबाट ४६ विकेट लिएका हुन्। यस्तै समग्रमा भने मालिंगा आफ्नै देशका सनथ जयासूर्यालाई पछि पार्दै दशौँ स्थानमा उक्लेका छन्। मालिंगाले ओडिआईमा ३२५ विकेट पुर्‍याएका छन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले उत्कृष्ट सुरुवात गरे पनि अफगानिस्तानका मोहम्मदले नावीले ४ विकेट लिएपछि श्रीलंकाली इनिङ्स धर्माराएको थियो।

पहिलो विकेटका लागि कप्तान दिमुथ करुणारत्ने र विकेटकिपर कुशल परेराले १३.१ ओभरमा  ९४ रनको साझेदारी गरेका थिए। अफगानिस्तानका नावीले करुणारत्नेलाई नजिबुलल्लाह जद्रानको हातबाट क्याचआउट गराउँदै साझेदारी तोडेका थिए। करुणारत्नेले ३० रन बनाए। त्यसपछि दोस्रो विकेटका लागि कुशल परेराले लहिरु थिरिमानेसँग ५२ रनको साझेदारी गरे। तर २२औँ ओभरमा नावीले ३ विकेट लिएपछि श्रीलंकाले १४६ रनमा ४ विकेट गुमायो। थिरीमाने २५ रन बनाएर आउट भए। कुशल मेन्डिस २ रन बनाएर आउट हुँदा एन्जेलो म्याथ्युजले खाता खोल्न सकेनन्। इरुस उदानाले १० रन जोडे।

कुशल परेराले ८१ बल खेल्दै ८ चौकाको मद्दतमा ७८ रन बनाए। सुरंगा लकमल १५ रनमा नटआउट रहे।

अफगानिस्तानका लागि नावीले ९ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए। दवलत जद्रान र रसिद खानले २-२ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell