PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विश्वकप क्रिकेट : चाहलको ४ विकेट र रोहितको शतकमा भारतको विजयी सुरुवात, दक्षिण अफ्रिकाको लगातार तेस्रो हार



पहिलोपोस्ट

विश्वकप क्रिकेट : चाहलको ४ विकेट र रोहितको शतकमा भारतको विजयी सुरुवात, दक्षिण अफ्रिकाको लगातार तेस्रो हार

स्पीनर युजभेन्द्र चाहलको ४ विकेट अनी रोहित शर्माको शतक मद्दतमा भारतले आइसीसी विश्वकप क्रिकेट २०१९ मा विजयी सुरुवात गरेको छ। १२औँ संस्करणको पहिलो खेलमै रोहित शर्माले शतक प्रहार गरेपछि भारतले दक्षिण अफ्रिकालाई बुधवार ६ विकेटले पराजित गरेको हो।

भारतले २२८ रनको लक्ष्य १५ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको हो। भारतको जितमा रोहितले नटआउट १२२ रन बनाए।

भारतले विजयी सुरुवात गर्दा दक्षिण अफ्रिकाले भने लगातार तेस्रो हार बेहोरेको छ। दक्षिण अफ्रिका यसअघि घरेलु टोली इंग्ल्याण्ड र बंगलादेशसँग पराजित भइसकेको छ।

साउथह्याम्पटनका भारतीय कप्तान विराट कोहलीले टस जितेर फिल्डिङ रोजेपछि दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२७ रन बनाएको थियो।

८९ रन हुँदा ५ विकेट गुमाएको दक्षिण अफ्रिकाका लागि तीन फास्ट बलर एन्डिल फेलुकवायो, क्रिस मोरिस र कगिसो रबाडा मिलेर १०७ रन बनाएका थिए। मोरिसले सर्वाधिक ४२ रन बनाएको इनिङ्समा कप्तान फाप डु प्लेसिसले ४२, फेहलुकवायोले ३४ र डेविड मिलरले ३१ रन बनाएका थिए। रबाडाले नटआउट ३१ रन बनाए।

भारतका लागि चहलले १० ओभरमा ५१ रन खर्चेर ४ विकेट लिए। यस्तै भुवनेश्वर कुमार र जसप्रित बुमराहले २ विकेट लिए।

२२८ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ओपनर शखर धवन (८) लाई छैटौँ ओभर र कप्तान विराट कोहली (१८) लाई १६औँ ओभरमा गुमाएको थियो। तर अर्का ओपनर रोहित शर्माले केएल राहुलसँग चौथो विकेटका लागि ८५ रनको साझेदारी गर्दै जितको आधार खडा गरे। ओडिआई करियरको २३औँ शतक प्रहार गरेका रोहितले १४४ बल खेल्दै १३ चौका र २ छक्काको मद्दतमा १२२ रन बनाए। रोहितले महेन्द्र सिंह धोनीसँग चौथो विकेटका लागि ७४ रनको साझेदारी गरे।

धोनीले ३४ रन योगदान गरे। चौका प्रहार गर्दै भारतलाई जिताएका हार्दिक पाण्ड्याले ७ बल खेल्दै नटआउट १५ रन बनाए। उनले ३ चौका प्रहार गरे।

दक्षिण अफ्रिकाका लागि रबाडाले १० ओभरमा १ मेडन राख्दै ३९ रन खर्चेर २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell