PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चाइनिज ताइपेईविरुद्ध हाम्रो कडा परीक्षा हुनेछ: कलिन



पहिलोपोस्ट

चाइनिज ताइपेईविरुद्ध हाम्रो कडा परीक्षा हुनेछ: कलिन
PHOTO : NSJF

काठमाडौं: राष्ट्रिय फुटबल टिमका प्रशिक्षक योहान कलिनले चाइनिज ताइपेईविरुद्ध हुने खेल नेपालका लागि कडा परीक्षा हुने बताएका छन्।

नेपालले बिहीबार चाइनिज ताइपेईसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ। र बुधबार भएको प्रिम्याच कन्फ्रेन्समा कलिनले बलियो टिमसँग खेल्ने अपेक्षा व्यक्त गरेका छन्।

'हामी यहाँ आउँदा खुसी छौँ। यो हाम्रो लागि कडा परीक्षा हुनेछ। बलियो टिमविरुद्ध खेल्ने अपेक्षा राखेका छौँ। हामी उत्कृष्ट युवा टोली छौँ। हामीलाई थाहा छ खेल कठिन हुनेछ तर आशा छ हाम्रो लागि यो राम्रो अनुभव हुनेछ।' कलिनले बुधबार ताइपेईमा स्थानीय सञ्चार माध्यमसँग भने।

यस्तै कलिनले चोट र फिटनेसका कारणले खेलाडी परिवर्तन भइरहने बताए। 'खेलाडी घाइते भइरहेका हुन्छन्। हामीले फरक खेलाडीलाई परीक्षण गरिरहेका छौँ। सधैं सबै खेलाडी फिट होस् भन्ने चाहना हुन्छ तर यो सम्भव पनि छैन। तै पनि म हामीसँग भएको खेलाडीबाट खुसी छु।'

यसअघि मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलमा चोट लागेका अञ्जन विष्ट ताइपेई नगई नेपाल फर्किएका छन्। कलिनले मलेसिया जानुअघि पनि फिट खेलाडीमात्रै लैजाने भन्दै भरत खवास र विमल घर्ती मगर जस्ता खेलाडीलाई फिटनेसकै कारण टिममा राखेका थिएनन्।

'म आएपछि हामीले तीन खेल खेलिसक्यौँ। पछिल्लो खेल मलेसियासँग थियो। हामीले चाहेको जस्तो नतिजा आउन सकेन। त्यसअघि हामीले कुवेतसँग दुई खेल खेल्दा एकमा बराबरी र एकमा हारको नतिजा निकाल्यौँ। तर म टिमको प्रदर्शनबाट खुसी छु।'

उनले चाइनिझ ताइपेई उत्कृष्ट टिम भएको पनि बताए। 'प्रदर्शन र फर्मको आधारमा हाम्रो विपक्षी धेरै बलियो टिम हो। वर्ल्डकप क्वालिफायर्स हाम्रो लागि कठिन खेल हुनेछ। त्यस बेलासम्म हामी टिममा सुधार गर्नेछौँ।'

नेपाल र चाइनिज ताइपेईबीचको खेल बिहीबार काओसिङ स्टेडियममा नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell