
न्यूजिल्याण्डले आइसीसी विश्वकप क्रिकेट २०१९ मा लगातार दोस्रो जित हात पारेको छ। म्याट हेनरीको ४ विकेट अनी रोस टेलरको ८० रन मद्दतमा न्यूजिल्याण्डले आफ्नो दोस्रो खेलमा बंगलादेशलाई २ विकेटले पराजित गरेको हो।
१२औं संस्करणको विश्वकपमा न्यूजिल्याण्ड लगातार दुई खेल जित्ने पहिलो टोली बनेको छ। दुई खेलबाट ४ अंकसहित किवी टोली अंकतालिकामा शीर्ष स्थानमा छ।
पहिलो खेलमा दक्षिण अफ्रिकामाथि शानदार जित हासिल गरेको बंगलादेशका लागि शकिब अल हशनले अलराउण्ड प्रदर्शन गरे पनि जिताउन भने सकेनन्। उनले ब्याटिङमा अर्धशतक बनाउँदा बलिङमा २ विकेट लिएका थिए।
रोस टेलरले अर्धशतकLय पारी खेलेपछि न्यूजिल्याण्डले २४५ रनको लक्ष्य ४७.१ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो। टेलरले ९१ बल खेल्दै ९ चौकाको मद्दतमा ८० रन बनाए। यस्तै कप्तान केन विलियमसनले ४० तथा मार्टिन गप्टिल र जेम्स निसामले २५-२५ रन जोडे।
बंगलादेशका मेहदी हशन मिराज, शकिब अल हशन, मोहमद सैफुदिन र मोसेक हवसेनले २-२ विकेट लिए।
त्यसअघि लण्डनस्थित ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४४ रन बनाएको थियो। शकिबले ६८ बल खेल्दै ७ चौकाको मद्दतमा सर्वाधिक ६४ रन बनाए। सैफुदिनले २९, सौम्य सरकारले २५ र टमिम इकवालले २४ रन बनाए।
बलिङमा न्यूजिल्याण्डका म्याट हेनरीले ९.२ ओभरमा ४७ रन खर्चेर ४ विकेट लिए। ट्रेन्ट बोल्टले २ विकेट लिए।