PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

विश्वकप क्रिकेट: कल्टर नाइल र स्टार्कले जिताए अष्ट्रेलियालाई, स्टार्कको कीर्तिमान



पहिलोपोस्ट

विश्वकप क्रिकेट: कल्टर नाइल र स्टार्कले जिताए अष्ट्रेलियालाई, स्टार्कको कीर्तिमान

नाथन कल्टर नाइलको विष्फोटक ब्याटिङ अनी मिचेल स्टार्कको ५ विकेटको मद्दतमा अष्ट्रेलियाले आइसीसी विश्वकप क्रिकेट २०१९ मा लगातार दोस्रो जित हात पारेको छ।

साविक विजेता अष्ट्रेलियाले बिहीबार भएको खेलमा वेष्ट इन्डिजलाई १५ नले पराजित गरेको हो।

वेष्ट इन्डिजको भने यो पहिलो हार हो।

नटिङहमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले खराब सुरुवात गरे पनि स्टिभ स्मिथ र मल्टर नाइलको अर्धशतक प्रहार गरेपछि सम्हालिएको थियो। ७९ रन हुँदा ५ विकेट गुमाएको अष्ट्रलियाको लागि स्मिथ र नाइलले छैटौँ विकेटका लागि १०२ रनको साझेदारी गरे। स्मिथले ७३ रन बनाए। आठौं नम्बरमा ब्याटिङ गरेका कल्टर नाइलले ६० बल खेल्दै ८ चौका र ४ छक्काको मद्दतमा ९० रन जोडे।

अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २८८ रन बनाएको थियो। वेष्ट इन्डिजका लागि कार्लोस ब्रेइथवेइटले ३ तथा ओसाने थोमस, सेल्डन कट्रेल र आन्द्रे रसेलले २-२ विकेट लिए।

२८९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७३ रन मात्र बनाउन सक्यो। वेष्ट इन्डिजका लागि साइ होपले ६८ र कप्तान ज्यासन होल्डरले ५१ रन बनाए पनि जितका लागि पर्याप्त भएन।

वेष्ट इन्डिजलाई लक्ष्यसम्म पुग्न नदिन अष्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दै ४६ रन खर्चेर ५ विकेट लिए।

 

स्टार्कको कीर्तिमान

अष्ट्रेलियालाई जित दिलाउन सहयोग गरेका स्टार्कले एक दिवसीय क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेका छन्। उनी सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका छन्।

विश्वकपमा दोस्रो पटक एकै खेलमा ५ विकेट लिएका स्टार्क सबैभन्दा थोरै खेलमा १५० विकेट पुर्‍याउने खेलाडी बने। उनले ६७ खेलमा यो सफलता हात पारे। स्टार्कले पाकिस्तानका सक्लेन मुस्ताकको नाममा रहेको २४ वर्ष पुरानो कीर्तिमान समेत तोडे। मुस्ताकले सन् १९९५ मा ७८ खेल खेल्दै १२५ विकेट लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell