PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

किन छिनछिनमा बदली भइरहेको छ मौसम, कहिलेसम्म हुन्छ सुधार?



पहिलोपोस्ट

किन छिनछिनमा बदली भइरहेको छ मौसम, कहिलेसम्म हुन्छ सुधार?

काठमाडौँः बारा र पर्सामा गत महिना आएको 'टर्नाडो'का कारण ठूलो जनधनको क्षति भयो। त्यसयता नियमितजसो नै हावाहुरी र पानी आउने क्रम रोकिएको छैन।

बिहीबार साँझ एक्कासी सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा ठूलो हावाहुरी आयो। दुई जनाको मृत्यु भइसकेको छ। ठूलो भौतिक क्षति भएको बताइए पनि पूर्ण विवरण आएको छैन। १०० को हाराहारीमा घाइते भएको सरकारको तथ्याङ्क छ।

कहिलेसम्म यस्तो प्रभाव देखिन्छ?

मनसुन सक्रिय भइसकेको हो?

धेरैको मनमा यस्तै प्रश्न उब्जिएका छन्। किनकी बारा पर्साको क्षतिले धेरैलाई त्रसित बनाएको छ।

गृह मन्त्रालयले हावाहुरी सुदूरपश्चिमबाट पूर्वतर्फ सर्दै गइरहेकाले सचेत हुन आग्रह गरिसकेको छ। तर, मौसम पूर्वानुमान महाशाखाका अनुसार ठूलो वर्षाको सम्भवना भने छैन।

मौसमविद् भने स्थानीय वायुको प्रभावका कारण सुदूरपश्चिममा हावाहुरी आएको दाबी गर्छन्। मौसमविद् वरुण पौड्याल भन्छन्,’ यो स्थानीय वायुको प्रभाव हो। स्थानीय वायुलाई पश्चिमी वायुले केही सपोर्ट गरेकाले हावाहुरी पनि आयो।‘

सुदूरपश्चिमको कैलाली, कञ्चनपुर लगायतका जिल्लामा केही दिनदेखि अधिकतम तापक्रम ४३ डिग्रीसम्म पुगेको थियो। आकासमा बादल भने देखिएको थिएन। एक्कासी आकाशमा साना टुक्रा बादल एकीकृत भएकाले हावाहुरी विकास भएको मौसमविद् पौड्याल बताउँछन्।

‘यो कुनै समुन्द्री वायुको प्रभाव होइन। यसले सानो क्षेत्रमा मात्र असर पार्ने गर्छ। अत्याधिक तापक्रम र आकासमा बादल बन्दै जाँदा यो अवस्था भएको हो‘ पौड्यालले भने।

 

मौसम सक्रिय भएको हो?

गत वर्ष जुन ८ बाट मनसुन सक्रिय भएको थियो। तर यस पटक भने केही ढिलो मनसुन सक्रिय हुने पौड्यालको भनाई छ। अहिले देशका विभिन्न भागमा भइरहेको वर्षा भने मनसुन होइन। ‘प्रि मनसुनमात्र सक्रिय भएको हो। अहिले नै मनसुन सक्रिय हुने देखिँदैन‘ उनले भने।

 

कहिले हुन्छ सुधार?

सुदूरपश्चिमका केही जिल्लामा बिहीबार राति देखिएको हावाहुरी शुक्रबार बिहान काठमाडौँ हुँदै पूर्वतिर पुगेको छ।

पूर्वका केही स्थानमा साँझ हावाहुरी र वर्षासम्म हुन सक्ने देखिएको मौसमविद् पौड्याल बताउँछन्। तर यसले सानो क्षेत्रलाई मात्र प्रभावित पार्ने उनको तर्क छ। ‘वायु अहिले पूर्वतर्फ लागेको छ। पूर्वको केही सानो क्षेत्रमा साँझतिर यसको प्रभाव देखिन सक्छ‘ पौड्यालले भने।

यो क्रम छोटो अवधिमात्र कायम रहने पौड्यालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell