PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

कैलाली अपडेट: घाइते दुई जनालाई उपचारका लागि भारत पठाइयो, क्षतिको विवरण संकलन गर्न प्रजिअ सहितको टोली प्रभावित क्षेत्रमा



एम बम

कैलाली अपडेट: घाइते दुई जनालाई उपचारका लागि भारत पठाइयो, क्षतिको विवरण संकलन गर्न प्रजिअ सहितको टोली प्रभावित क्षेत्रमा

कैलाली: बिहीबार साँझ कैलालीमा गएको हावाहुरीबाट घाइते भएका दुई जनालाई थप उपचारका लागि भारत पठाइएको छ। कैलालीमा उपचार हुन नसके पछि उनीहरूलाई थप उपचारका लागि भारत पठाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए। 

त्यस्तै, गम्भीर घाइते भएका अन्य दुई जनालाई भने नेपालगन्ज पठाइएको छ। 

सुदूरपश्चिमका विभिन्न जिल्लामा बिहीबार साँझ हावाहुरी जाँदा ठुलो जनधनको क्षति पुगेको छ। हालसम्म कैलालीमा हावा हुरीबाट दुई जनाको मृत्यु भएको छ। 

त्यस्तै घाइते मध्य ६७ जना उपचार पछि घर फर्किसकेको प्रमुख जिल्ला अधिकारी बोहराले जानकारी दिए। अन्य केहीको कैलाली स्थित अस्पतालमा उपचार भइरहेको छ। 

यसैबिच धनगढी उपमहानगरपालिकाको नगरस्तरिय विपत् व्यवस्थापन समितिको बैठकले अन्तरिम राहत वितरण गर्ने निर्णय गरेको छ।

 कैलालीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित बसेको बैठकले तत्काल अन्तरिम राहत वितरण गर्नका लागि लागत संकलन गरी खाद्यान्न वितरण गर्ने निर्णय गरेको हो। 

यता सुदूर पश्चिम प्रदेश सरकारले पनि धनगढी उपमहानगरपालिका सहितका स्थानीय तहसँग समन्वय गरी राहत वितरण गर्ने भएको छ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले उपमहानगरपालिका तथा क्षति पुगेका स्थानीय तहसँग समन्वय गरेर राहत वितरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिए। 

यसैबीच हुरी प्रभावित क्षेत्रमा लगत संकलनका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुखसहित स्थानीय जनप्रतिनिधिको टोली प्रभावित क्षेत्रको अनुगमनका लागि निस्किएको छ। 

हावाहुरीका कारण कैलाली जिल्लामा विद्युत् आपूर्ति अवरुद्ध बनेको छ। विद्युतका पोलहरू ढल्दा विद्युत् आपूर्ति बन्द भएको र क्षतिको विवरण संकलन गरिरहेको विद्युत् प्राधिकरणले जनाएको छ। 

ढलेका पोलहरू परिवर्तन गरी साँझ सम्म धनगढी बजार क्षेत्रमा पुन: विद्युत् आपूर्ति गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell