PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

पल्सर स्पोर्ट्स अवार्डलाई रुस्लानको साथ 



पहिलोपोस्ट

पल्सर स्पोर्ट्स अवार्डलाई रुस्लानको साथ 

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७५ का लागि विजय डिस्ट्रिलरीको रुस्लान फुटबलले सह–प्रायोजन गर्ने भएको छ। 

शुक्रबार एक कार्यक्रमबीच मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र जावलाखेल ग्रुप अफ ईन्डस्ट्रिजका कार्यकारी निर्देशक शशिन जोशीले प्रायोजन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौताको अवधि एक वर्षको रहने छ। रुस्लान फुटबल अवार्ड कार्यक्रमको सह–प्रायोजकको रुपमा रहने उल्लेख छ। 

जावलाखेल ग्रुप अफ ईन्डस्ट्रिजका कार्यकारी निर्देशक जोशीले खेलकुद क्षेत्रको विकासमा मञ्चले खेलेको भुमिकाको प्रशंसा गर्दै आफुहरुले सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

मञ्चका पूर्व अध्यक्ष महेश आचार्यले घरेलु खेलकुदमै प्रतिष्ठित अवार्डको गरिमालाई कायम राख्दै कार्यक्रमलाई विवाद रहित बनाउने प्रतिवद्धता व्यक्त गरे। मञ्चका अध्यक्ष सुवेदीले नीजि क्षेत्रको सहयोगबाट अवार्ड सम्भव भएको भन्दै कार्यक्रमलाई थप परिस्कृत बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे। 

नेपाली खेलकुदकै प्रतिष्ठित खेलकुद अवार्डको १६ औं संस्करण आगामी असार १७ गते आयोजना हुँदैछ। यस पटकको अवार्ड कार्यक्रममा नौ विधाका खेलाडी र खेलकर्मी सहित एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। 

यसअघि नै कार्यक्रमको पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक भईसकेको छ। वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने छ। यस्तै, लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेशल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा कार्यक्रमकै दिन गरिनेछ। 

यसपटक पनि उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकलाई पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ। अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको पल्सर मोटरसाईकल रहेको छ। अन्य प्रायोजकहरूमा सूर्य नेपाल प्रालि, टी.एच.टी लाईभ ३७७२२, सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, एभिन्युज खबर, केल्मी, इमेजिङ, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटि रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell