PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

महिला बास्केटबल लिग : लगातार पाँच खेल जित्दै समृद्धि गोरिल्लाज फाइनलमा, पुलिसको सम्भावना कायमै



पहिलोपोस्ट

महिला बास्केटबल लिग : लगातार पाँच खेल जित्दै समृद्धि गोरिल्लाज फाइनलमा, पुलिसको सम्भावना कायमै

काठमाडौँ : लिग चरणमा लगातार पाँच खेल जित्दै भाटभटेनी समृद्धि गोरिल्लाज कवीक्स महिला बास्केटबल लिगको फाइनलमा प्रवेश गरेको छ।

शुक्रवार भएको खेलमा आइएसओ काइट्सलाई ५४-४४ ले पराजित गर्दै पाँच खेलसम्म अपराजित रहेको गोरिल्लाजले एक खेलअघि नै फाइनलमा स्थान पक्का गरेको हो।

गोरिल्लाजले पहिलो क्वाटर १६-१३ ले आफ्नो पक्षमा पारेको थियो भने दोस्रो क्वाटरमा दुवैले १०-१० अँक जोडेका थिए। तेस्रो क्वाटर काइट्सले १६-१३ ले आफ्नो पक्षमा पारेपछि स्कवर ३९-३९ बनेको थियो। चौथो तथा निर्णायक क्वाटरमा १५-५ ले सहजै आफ्नो पक्षमा पारेपछि गोरिल्लाजले खेल जितेको हो। खेलमा १२ अंक स्कोर गरेकी गोरिल्लाजकी सृजना गिरी प्लेअर अफ दि म्याच घोषित भइन्।

प्ले फर डिप्राइभ्ड चिल्ड्रेन पीडीसीएनले पहिलो पटक आयोजना गरिरहेको यस लिगमा चार महिला बास्केटबल टिमले प्रतिस्पर्धा गरेका छन्। दुई चरणको लिगपछि शीर्ष दुई टोली फाइनल पुग्ने आयोजकले जनाएको छ।

अब शनिवार हुने लिग चरणका बाँकी दुई खेलपछि फाइनल पुग्ने अर्को टिमको टुङ्गो लाग्नेछ।

यस्तै शुक्रवारै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिसले साइपाल एकेडेमीलाई ७१-५८ ले पराजित गर्दै फाइनल पुग्ने सम्भावना कायम राखेको छ। ५ खेलबाट ३ जित र २ हारपछि पुलिस ८ अंकसहित दोस्रो स्थानमा छ। समान खेलपछि २ जित र ३ हारको नतिजासहित ७ अंक जोडेको आइएसओ काइट्स तेस्रो स्थानमा छ।

अब शनिवार हुने यी दुई टोलीबीचको विजेता फाइनल पुग्नेछ। लगातार ५ खेल हारेको साइपाल भने लिग चरणबाटै बाहिरिएको छ।

पुलिसले साइपाल विरुद्धको खेल १५-१४, २०-१४, २१-१५, १५-१५ ले आफ्नो पक्षमा पारेको हो। खेलमा २० अंक स्कोर गरेकी पुलिसकी अनुसा मल्ला प्लेअफ अफ दि म्याच घोषित भइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell