PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

राहतको पर्खाइमा कैलालीका हावाहुरी पीडित, लगत संकलनमा जनप्रतिनिधिहरु



एम बम

राहतको पर्खाइमा कैलालीका हावाहुरी पीडित, लगत संकलनमा जनप्रतिनिधिहरु

कैलाली : गएराती गएको हावाहुरीले कैलाली र कञ्चनपुर लगायतका सुदुर पश्चिमका जिल्लाहरुमा जनधनको ठूलो क्षति भएको छ। तर राहत वितरणमा ढिलाइ हुँदा पीडीतलाई समस्या भएको छ। राहत र उद्दार नुहँदा आफुहरु खुला आकाशमुनि भोकभोकै बस्न वाध्य भएको पिडीतहरूको गुनासो छ।   

धनगढीकी स्थानीय शारदा दमाईले अहिलेसम्म राहतका लागि सरोकारवाला नआएको गुनासो गरिन्। 'घरका छाना उडाएर खुला आकाशमुनी सुत्नुपर्ने अवस्था छ,’ उनले भनिन् ‘हाम्रा लागि त जनप्रतिनिधि पनि खै कता हराएछन्?’

धनगढी ४ की पार्वती चौधरीको पनि उस्तै गुनासो छ। उनी एकल महिला हुन्। ‘घरमा दुई छोरा एक बुहारी छन्,’ उनले भनिन्, ‘आफु एकल महिला, मजदुरी गरेर खान्छौं। घरमा एक दुई दिन खानलाई त सामान थियो त्यो पनि पानीले हावाहुरीले सखाप पारिदियो।’ अहिलेसम्म राहत वितरणका लागि आफु कहाँ कोही पनि नआएको उनको गुनासो छ।  

धनगढी १ का दिल बहादुर शाहीले पनि राहत वितरणमा ढिलाई भएको भन्दै गुनासो गरे। ‘स्थानीय सरकार हाम्रै घरको सरकार हो सोचेका थियौं,’ उनले भने ‘तर, आज खै कहाँ हराए जनप्रतिनिधिहरु।’

जनप्रतिनिधि पुगेका ठाउँमा भने स्थानीय खुसी छन्। हावाहुरीले खान बस्न अति समस्या भएका ठाउँमा मेस चलाएर खानाको व्यवस्था गरिएको धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले बताए।

तर, कैलालीमा अहिलेसम्म कति क्षती भयो भन्ने एकिन तथ्यांक भने आइसकेको छैन। ‘हामी फिल्डमै छौं,’ मेयरले वडले भने ‘तथ्यांक संकलन भन्दा राहतमै जुटेका छौं।’

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले वडाध्यक्षहरुलाई लगत संकलमा खटाएको जानकारी दिए। क्षतीको एकिन विवरण आइनसकेको उनले बताए।

वास्तविक पिडीतको तथ्यांक संकलनका लागि वडा अध्ययको नेतृत्वमा टोली गठन गरी एक द्वार प्रणलीवाट राहत वितरण गर्ने प्रशासनले जनाएको छ।

कैलालीमा हावाहुरीका कारण दुई जानको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन्। त्यस्तै कञ्चनपुरमा २३ जना घाइते भएका छन्। घाइते मध्ये ७४ जना घर फर्किसकेका छन्। गम्भिर घाइते दुई जनालाई थप उपचारका भारत र दुई जनालाई नेपालगंज पठाइएको छ।

अन्यको  स्थानिय अस्पतालमा उपचार जारी छ। कञ्चनपुरमा करिव १८५ घरमा मा क्षति पुगेको छ कैलालीका अधिकांश घरका छाना उडेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell