PahiloPost

May 15, 2024 | २ जेठ २०८१

प्रधानमन्त्री ओली आज युरोप जाँदै, यस्तो छ भ्रमण तालिका



विधुर ढकाल

प्रधानमन्त्री ओली आज युरोप जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौः प्रधानमन्त्री केपी शर्मा ओली आज युरोपका तीन देशहरूको साता लामो भ्रमणमा जाँदै छन्। आज साँझ प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डल टोली जेनेभाका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

स्वीट्जरल्याण्डको भियना हुँदै प्रधानमन्त्री ओली संयुक्त राज्य (बेलायत) र फ्रान्सको भ्रमण गर्ने छन्।

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन स्विट्जरल्याण्डको जेनेभा गएका हुन्।

प्रधानमन्त्री ओली उनी जेनेभा हुँदै बेलायत र फ्रान्सको पनि भ्रमण गरी असार १ गते नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ। जेनेभामा रहँदा प्रधानमन्त्री ओलीले जुन १० श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनका क्रममा दुई चरणमा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी हुने कार्यक्रम अन्तर्राष्ट्रिय श्रम सङ्गठन(आइएलओ)ले तय गरेको छ।

पहिलो चरणमा १०–१२ जुन र दोस्रो चरणमा १९–२० जुनमा उच्चस्तरीय सत्र हुनेछ। प्रधानमन्त्री ओली पहिलो चरणको पहिलो सत्रमा सहभागी हुने आइएलओको कार्यक्रम तालिकामा उल्लेख गरिएको छ।

स्थानीय समय अनुसार जुन १० गते सम्मेलन उद्घाटनपछि अपराह्न्न प्रधानमन्त्री ओलीको सत्र सुरु हुने छ।

प्रधानमन्त्री ओली सहभागी हुने सत्रमा इटलीका राष्ट्रपति सर्जियो माटारेला, टर्कीका राष्ट्रपति रिसप तैयप इर्डोगान, नर्वेका प्रधानमन्त्री इर्ना सोलवर्ग, दक्षिण अफ्रिकाका राष्ट्रपति सेरिल रामाफोसा, स्विडेनका प्रधानमन्त्री स्टेफन लोफ्भे, इस्टोनियाका प्रधानमन्त्री जुरी रतास, मोरोक्कोका सरकार प्रमुख साड इड्डिने अल ओट्मानी र राष्ट्र सङ्घ महासभाकी अध्यक्ष मारिया स्पिनोसा गार्सेस सहभागी हुने कार्यक्रम रहेको छ।

सम्मेलनको पहिलो चरणमा प्रधानमन्त्री डिमित्रि मेडेभेड, फ्रान्सका राष्ट्रपति इमानुयल मार्कोस, जर्मन चान्सलर एन्जेला मर्केललगायतको सहभागिता हुने छ।

१०८ औँ सम्मेलन को उद्घाटन स्थानीय समयअनुसार जुन १० मा बिहान ११ बजे सुरु हुने छ। सम्मेलन जुन २१ सम्मे चल्ने छ।

प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनका क्रममा नेपालको विकास समृद्धि तथा विश्व मानचित्रमा कामको परिवर्तित आयामको विषयमा बोल्ने छन्। त्यस्तै नेपालको समृद्धिको एजेन्डा र समानता सामाजिक न्याय तथा सामाजिक सुरक्षाप्रतिको प्रतिबद्धता जनाउने छन्।

प्रधानमन्त्री ओलीले सम्मेलनको साइडलाइनमा टर्कीका उपराष्ट्रपति फुअट ओकाट्यासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। त्यस्तै साइड लाइनमै नर्वेका प्रधानमन्त्रीसँग पनि द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस्तै प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डका पूर्व राष्ट्रपति तथा फेडरल काउन्सिलर र त्यहाँको सङ्घीय गृह मामिला विभागका प्रमुखसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओली जेनेभामा हुँदा आइएलओका महासचिवले सरकार तथा राष्ट्र प्रमुखहरूको सम्मानमा आयोजना गर्ने भोजमा सरिक हुने छन्।

प्रधानमन्त्री ओली सम्मेलनको उच्च सत्रमा सहभागी भएसँगै १० जुन मै बेलायत प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

१० जुनमा बेलायत पुगेसँगै उनले अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड युनियनले आयोजना गर्ने शान्ति प्रजातन्त्र र विकास शीर्षकको कार्यक्रममा सम्बोधन गर्ने छन्। उनले सम्बोधनका क्रममा नेपालको शान्ति र प्रजातन्त्र र समृद्धिको यात्राको विषयमा चर्चा गर्ने छन्।

त्यस्तै प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री थेरेसा मेसँग जुन ११ मा ‘१० डाउनीङ स्ट्रीट’मा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओली बेलायतको अल पार्टी पार्लियामेन्ट्री ग्रुपले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने छन्।

बेलायतमा रहँदा प्रधानमन्त्री ओलीले बीबीसी वल्र्ड सर्भिसलाई अन्तरवार्ता दिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बेलायत भ्रमण सकेर प्रधानमन्त्री ओली १२ जुनमा फ्रान्स जाने कार्यक्रम रहेको छ। उनले फ्रान्समा १३ जुनमा त्यहाँका प्रधानमन्त्री एडवर्ड फिलिपसँग द्विपक्षीय भेट गर्ने कार्यक्रम रहेको छ। त्यस्तै प्रधानमन्त्री ओली त्यहाँका राष्ट्रिय सभाको भ्रमण गर्ने छन्। उनले फ्रान्सका व्यवसायीक समुदायसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीले १५ जुनमा युरोमा रहेका नेपाली राजदूतहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ। उनले युरोपभरका देशहरूमा रहेका नेपाली राजदूतहरूलाई पेरिसमा निर्देशन दिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओलीको सम्मानमा जेनेभा, लन्डन र पेरिसमा रहेका नेपाली दूतावासले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गर्ने छन्।

को को जाँदै छन्?

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट सहभागी हुने छन्।

त्यस्तै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाको उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता समितिका सभापति विमल श्रीवास्तव, सांसद विन्दा पाण्डेलगायत प्रधानमन्त्री ओलीको भ्रमण दलमा सहभागी हुँदै छन्। प्रधानमन्त्री ओली १५ जुनमा जेनेभाबाट नेपालका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनी १६ जुनमा नेपाल फर्किने छन्।

यो पनि पढ्नुहोस्

१७ वर्ष पछि हुन लागेको प्रधानमन्त्रीको बेलायत भ्रमण: होला त गोरखा सैनिक समस्याको समाधान?

प्रधानमन्त्री ओली युरोपका तीन देशको भ्रमणमा निस्किँदै, १९ वर्षपछि फ्रान्समा नेपालबाट उच्चस्तरीय भ्रमण



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell