PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

महिला बास्केटबल लिग : पुलिसलाई हराएपनि आइएसओ काइट्स बाहिरियो, फाइनलमा गोरिल्लाज र पुलिस खेल्ने



पहिलोपोस्ट

महिला बास्केटबल लिग : पुलिसलाई हराएपनि आइएसओ काइट्स बाहिरियो, फाइनलमा गोरिल्लाज र पुलिस खेल्ने

काठमाडौं : पहिलो पटक आयोजना भइरहेको क्वीक्स महिला बास्केटबल लिगको फाइनल समिकरण पूरा भएको छ। शनिवार भएको लिग चरणको अन्तिम दुई खेलको नतिजापछि फाइनल पुग्ने टिमको टुङ्गो लागेको हो।

यसअघि नै लगातार पाँच खेल जितेको भाटभटेनी समृद्धि गोरिल्लाजले फाइनलमा स्थान पक्का गरिसकेको छ। शनिवार भएको खेलमा आइएसओ काइट्ससँग ६४-६२ को अन्तरले पराजित भएपनि नेपाल पुलिस फाइनल प्रवेश गरेको छ।

यसअघिको लिग खेलमा पुलिसले काइट्सलाई ७६-६३ ले पराजित गरेको थियो। आजको खेल काइट्सले जितेपनि दुई टोलीबीचको स्कोर अन्तरका कारण पुलिस हारेपनि काइट्स भन्दा अगाडि रहँदै फाइनल पुगेको हो।

काइट्सले पुलिसलाई पछि पार्दै फाइनल पुग्न १३ अंक अन्तरले खेल जित्नुपर्ने थियो। तर तीन क्वाटर पुलिसले आफ्नो पक्षमा पारेपछि अन्तिम क्वाटरमा काइट्सले झिनो अग्रता बनाएपनि फराकिलो जित हात पार्न सकेन।

पुलिसले पहिलो देखि तेस्रो क्वाटर क्रमश: १३-१२, १९-१७, १५-१३ ले आफ्नो पक्षमा पार्दै ५ अंकको अग्रता बनाएको थियो। अन्तिम क्वाटर काइट्सले २२-१५ ले आफ्नो पक्षमा पार्दै खेल जितेपनि फाइनल पुग्न पर्याप्त भएन। काइट्सको जितमा २१ अंक स्कवर गरेकी फिलिपिनो खेलाडी मारी जोए गालिसिया प्लेअर अफ दि म्याच घोषित भइन्।

लिगको ६ खेलपछि दुवै टिमले समान ९ अंक जोडेपनि स्कोर अन्तरका आधारमा पुलिस भाग्यमानी बनेको हो। अब उपाधिका लागि पुलिस र गोरिल्लाजबीच खेल हुनेछ।

शनिवारै भएको लिगको अन्तिम खेलमा फाइनल पुगिसकेको गोरिल्लाज साइपाल एकेडेमीसँग पराजित भएको छ। यसअघि लगातार पाँच खेल हार्दै समूहबाटै बाहिरिसकेको साइपालले अन्तिम खेलमा गोरिल्लाजलाई ७१-४१ को फराकिलो अन्तरले पराजित गर्दै पहिलो जित हात पारेको हो।

यसअघि नै फाइनल पुगेका कारण टिममा रहेका सबै खेलाडीलाई अवसर दिन साइपाल विरुद्ध नयाँ खेलाडीलाई खेलाएकोले हार बेहोरेको गोरिल्लाजकी कप्तान सदिना श्रेष्ठले बताइन्। राष्ट्रिय टिमकी समेत कप्तान रहेकी सदिनाले फाइनल आउन अझै दुई साता बाँकी रहेकोले अब राम्रो तयारी गर्ने बताइन्।

साइपालले गोरिल्लाज विरुद्धको खेल २२-७, १२-९, १८-११, १९-१४ ले जितेको हो। खेलमा ३ असिस्ट १ रिबाउण्ड ३ स्टिलसहित २६ अंक स्कोर गरेकी साइपालकी रोसनी श्रेष्ठ प्लेअर अफ दि म्याच घोषित भइन्।

दुई चरणको समूह चरणको खेलपछि गोरिल्लाज ६ खेलबाट ११ अंक जोड्दै पहिलो भयो। पुलिस र काइट्सले ३ जित र ३ हारपछि समान ९ अंक जोड्यो। तर स्कोर अन्तरका आधारमा पुलिस दोस्रो भयो। साइपालले एक जित  ५ हारपछि ७ अंक जोड्यो।

प्ले फर डिप्राइभ्ड चिल्ड्रेनले गत वर्षदेखि पुरुषको लिग सुरु गरेको थियो। यस पटक पुरुषको लिगलाई निरन्तरता दिँदै आयोजकले पहिलो पटक ४ टिमलाई समावेश गर्दै महिला लिग आयोजना गरेको हो।

यसबाट राष्ट्रिय टिममा रहेका खेलाडीहरुले समेत खेल्न पाएको कप्तान सदिनाले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell