PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

विनाशकारी हावाहुरीको हिसाबकिताव : कैलालीका २२१६ घरमा क्षति, लगत सङ्कलन जारी  



एम बम

कैलाली : विनाशकारी हावाहुरीले कैलालीमा गरेको क्षतिको विवरण सङ्कलन भइरहेको छ। हावाहुरी आएको ४ दिनसम्म पनि सरोकारवाला निकाय लगत सङ्कलनमै केन्द्रित भएकाले पीडितको समस्या भने जहीँको तहीँ छ। 

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहराज जोशीका अनुसार कैलालीमा विनाशकारी हावाहुरीले २२ सय १६ घरमा क्षति पुगेको विवरण सङ्कलन भएको छ। उनका अनुसार लगत सङ्कलनको क्रम जारी रहेकाले यो सङ्ख्या अझै बढ्ने देखिएको छ ।  ‘हामी लगत सङ्कलनमै छौँ,’ उनले भने, ‘यो सङ्ख्या अझै बढ्ने देखिएको छ।’

कैलाली जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सुदीप गिरीले क्षतिको विवरण भन्दा आफूहरू राहत र उद्धारमा केन्द्रित भएको बताए। उनले भने,  ‘क्षति कति भयो एकिन हुन त समय लाग्ला तर हामी राहत, उद्धार र पुनर्स्थापनामा केन्द्रित भएका छौँ। कैलालीमा सबै विवरण सङ्कलन गर्दासम्म ४ हजार घरमा क्षति पुगेको हुनसक्ने अनुमान हामीले गरेका छौँ।’

तर, पीडितहरूले भने राहत नपाएको गुनासो गरेका छन्। जनप्रतिनिधि लगत सङ्कलनमा केन्द्रित हुँदा आफूहरुलाई राहत र उद्धारमा समस्या भइरहेको हावाहुरी पीडितले गुनासो गरे। धनगढी उप-महानगरपालिकाका वडा अध्यक्षहरुले पनि वडास्तरबाहेक अन्य क्षेत्रबाट हावाहुरी पीडितको विषयमा खासै चासो दिन नसकेको गुनासो गरे। धनगढी उप-महानगरपालिका वडा नम्बर एकका अध्यक्ष सन्तोष मुड्भरीले भने,  ‘हामीलाई लगत सङ्कलन गर्न भनिएको थियो, त्यो हामीले सक्कायौं। तर, तत्काल दिनुपर्ने राहत र उद्धारका विषयमा कसैको पनि चासो पुगेको छैन। यो बडो दुःखद् पक्ष हो। वडामा त बजेटको कुरा गर्दा के नै पो हुन्छ र?’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell