PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

जागरण अभियानमा प्रकाशमानको आफ्नै नेतृत्वप्रति असन्तुष्टि



पी बी खड्का

जागरण अभियानमा प्रकाशमानको आफ्नै नेतृत्वप्रति असन्तुष्टि

सुर्खेत : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विगतको इतिहास भजाएर मात्रै कांग्रेसलाई जनताले विश्वास नगर्ने बताएका छन्। अब पार्टी भित्रको आन्तरिक कलह समाप्त पारेर संगठन बिस्तार र बलियो बनाउनुपर्ने उनको तर्क थियो।

आइतवार वीरेन्द्रनगरमा नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै नेता सिंहले नेतृत्व पङ्तिले विधि, विधानमा रहेर पार्टी नचलाए अब जनताले विश्वास गर्न नसक्ने दावी गरे।

‘२००७ साल, २०३६ साल र २०४६ सालको विगत इतिहास भजाएर मात्रै जनताले अव विश्वास गर्दैनन्,’ कांग्रेसको जागरण अभियानलाई सफल पार्न जिल्ला दौडाहमा निस्केका नेता सिंहले भने, ‘पार्टी नेतृत्व पङ्तिले आफूलाई विधि, विधानमा नचलाए र आन्तरिक रुपमा भइरहेको कलह समाप्त नपारे जनताको मन जित्न नसकिने निश्चित छ। अब पार्टीभित्र नयाँ संरचनामा जान आवश्यक छ।’

पार्टीको पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले आफू सच्चिएर जनता माझ पुग्नुपर्ने बेला आएको बताए। ‘पार्टीभित्र हरेक नेताले आफू सच्चिन तयार रहनुपर्ने आवश्यक छ,’ उनले भने, ‘पार्टीलाई विधि, विधान र सिद्धान्तमा हिँडेमात्रै पार्टी एक ढिक्का बन्नसक्छ।’

गाउँ जागरण अभियानका सिलसिलामा कार्यकर्ताले पार्टीलाई संस्थागत रुपमा सुधार गर्नुपर्ने, पार्टीभित्रको आन्तरिक कलह समाप्त पार्नु पर्ने, नेतृत्व पङ्तीले गम्भीर भएर सोच्नुपर्नेजस्ता सुझाव आएको उनको भनाई थियो। पार्टीभित्रका नेता तथा कार्यकर्तालाई नेतृत्व पङ्तीले कसैलाई पनि काखा र पाखा गर्न नहुने भन्दै अब यसको अन्त्य गर्नुपर्ने उल्लेख गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell