PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रहरीको लात्ती र लाठी प्रहारपछि आन्दोलन थप चर्काउने गुठियारको तयारी



सहयोग रञ्जित

प्रहरीको लात्ती र लाठी प्रहारपछि आन्दोलन थप चर्काउने गुठियारको तयारी

काठमाडौं : सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा आइतवार भएको प्रर्दशनमा प्रहरी हस्तक्षेप भएपछि आन्दोलनकारी थप आक्रोशित बनेका छन्।

नेवारहरुको साझा संगठन नेवा: देय् दबूको संयोजनमा विभिन्न नेवार संघ संगठन र गुठियारहरु काठमाडौंको माइतीघर मण्डलमा भएको प्रदर्शन कार्यक्रममा सहभागी भएका थिए।

माइतीघर मण्डलमा प्रदर्शनमा उत्रेकाहरुले सडकमा पल्टिएर विरोध गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

प्रदर्शनका क्रममा प्रहरीले नेवा: राजनीतिक अभियानका संरक्षक डा. महेशमान श्रेष्ठलाई पक्राउ गरेको छ। उनीसँगै अनिश वैद्य, कृष्णा गोपाल भायो र विकास डंगोलसमेत पक्राउ परेको अभियानले जनाएको छ।

यो पनि हेर्नुस् : माइतीघर मण्डलमा छुट्यो प्रहरीको वाटर केनन, प्रदर्शनकारीको ढाडमा लाठी र लात

प्रहरीले प्रदर्शनकारीमात्र नभइ माइतीघर मण्डल वरिपरि बसिरहेका सर्वसाधारणमाथि समेत पानीको फोहोरा प्रहार गर्नुका साथै लाठी चार्ज गरेको थियो।

प्रहरीको लाठी चार्जका क्रममा केही प्रदर्शनकारीको टाउकोमा चोट पुगेको छ। घाइतेमध्ये एक असनका सजिब बज्राचार्यको नर्भिक अस्पताल र महेश कारंजितको न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

नेपालभाषा मंकाखलका सचिव नरेशबीर शाक्यले प्रहरीले शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित पार्ने षड्यन्त्र गरेको आरोप लगाए। भने, 'हामी १५-२० मिनेट सडक अवरुद्ध गर्छौं भन्यौं। उहाँहरुले छिटो गर्नुस् भन्नुभयो। एक्कासी बल प्रयोग गरेर दमन गरियो। यो राज्य सत्ताको हेपाह प्रवृत्ति हो।'

उनले बाबुराम भट्टराई अर्थमन्त्री रहँदा इन्द्रजात्रामा खर्च कटौटी गर्दा भएको संघर्ष अहिले सत्तामा भएकाहरुले बिर्सेको भन्दै आज सरकारले दमनका कारण आफूहरु थप संघर्ष गर्ने बताए।

के छ विधेयकमा?

सरोकारवालाहरुले विधेयकमा उल्लेखित दफा २३ मा गुठी हक र दायित्व प्राधिकरणमा सर्ने, दफा २४ मा रहेको गुठियारको अधिकार स्वत: खारेज हुने, दफा २५ मा गुठीको लगत पेश गर्नुपर्ने, दफा ५४ मा हक समाप्त हुने लगायत प्रावधानहरुले गुठी व्यवस्था नै संकटमा परेको उल्लेख गरेको छ।

यो पनि हेर्नुस् : गुठीयारको अधिकार समाप्त गर्ने प्रस्तावित विधेयकको विरोधमा सांस्कृतिक आन्दोलनको घोषणा, विधेयक जलाइयो

प्रस्तावित गुठी विधेयकको दफा २३ मा हाल कायम रहेका छुट गुठी र सार्वजनिक गुठी स्वत: राजगुठीमा परिणत हुने भन्दै त्यसपछि ती गुठीको चल अचल सम्पत्ति, जायजेठामात्र नभइ देव देवीको प्रतिमा समेत रहेको गुठीयारको हक र दायित्व प्राधिकरणमा सर्ने उल्लेख गरेको छ।

यस्तै यो विधेयकको दफा २४ मा गुठीयारको हक स्वत समाप्त हुने व्यव्स्था गरिएको छ। हाल गुठी संचालन गरि आएका गुठीयारहरुले यो प्रावधान सबैभन्दा घातक भएको बताएका छन्। नरदेवी गुठीका नाय मचाराजा डंगोलले भने,' गुठीयार बिना गुठी कसरी चल्छ? अब त जात्रा संचालन गर्न सरकारले ठेक्का दिन सक्ने भयो। इन्द्रजात्रा चलाउन नि ठेक्का दिने सक्ने भयो। यो हाम्रो सम्भयता सिध्याउने प्रयास हो।'

एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तानतरण हुँदै आएको देवदेवीको पूजाको विधि र पद्धती अब प्रदेश गुठी व्यवस्थापन समितिमा पेश गर्नेपर्ने यो विधेयकले व्यवस्था गरेको छ। यो विधेयकमा आयका हिसाबमा धार्मिकस्थलको वर्गिकरण गरेकोमा पनि सरोकालवालहरुले विरोध गरेका छन्।

सरोकारवालाहरुले सरकारले तत्काल यो विधेयक फिर्ता लिएर सबैसँग छलफल गर्नुपर्ने माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell