PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

स्पोर्ट्स अवार्डलाई गोल्डस्टारको साथ, एक वर्षका लागि ११ लाखको सम्झौता



पहिलोपोस्ट

स्पोर्ट्स अवार्डलाई गोल्डस्टारको साथ, एक वर्षका लागि ११ लाखको सम्झौता

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्दै आएको बजाज पल्लर स्पोर्ट्स अवार्डलाई गोल्ड्स्टार शुजले स्पोन्सर गरेको छ।

किरण शु म्यानुफ्याक्चररको उत्पादन गोल्डस्टार र एनएसजेएफबीच आइतवार प्रायोजन सम्झौता भएको हो। नेपालको आफ्नै उत्पादन गोल्डस्टार पहिलो पटक आधिकारिक रुपमा एनएसजेएफको अवार्डसँग जोडिएको हो।

आइतवार भएको कार्यक्रममा एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी देवेन्द्र र किरण शु म्यानुफ्याक्चररका मार्केटिङ डिरेक्टर विदुषी रानाले सम्झौता पत्रमा हस्ताक्षर गरिन्।

सम्झौता एक वर्षको लागि भएको एनएसजेएफले जनाएको छ।

'हाम्रो सहकार्य यो पहिलो पटक हो। आगामी दिनमा पनि यसले निरन्तरता पाउँछ भन्ने विश्वास छ,' राणाले भनिन्।

उनले स्पोर्ट्स अवार्ड देशकै प्रतिष्ठित अवार्ड रहेकोले यससँग जोडिन पाउँदा गर्व लागेको बताइन्।

'अवार्डसँग एसोसिएट हुन पाउँदा गर्व महसुस भएको छ। खेलाडीलाई सम्मान गर्न पाउनु हर्षको कुरा हो,' उनले भनिन्।

यस्तै एनएसजेएफका अध्यक्ष सुवेदीले कर्पोरेट क्षेत्रको साथ र सहयोगले नै स्पोर्ट अवार्ड सफल हुँदै आएको बताए।

'आगामी असार १७ गते काठमाडौंमा हुने अवार्डका लागि गोल्डस्टार सह प्रायोजनको रुपमा रहनेछ र अब बजाज पल्सर स्पोर्ट्स अवार्ड पावर्ड बाई गोल्डस्टार हुनेछ,' एनएसेजएफका अध्यक्ष सुवेदीले जानकारी दिए।

एनएसजेएफले यसअघि नै मुख्य प्रायोजककको रुपमा रहेको हंशराज हुलास चन्द एण्ड कम्पनीसँग सम्झौता नविकरण गरिसकेको छ। अब गोल्डस्टार सहप्रायोजक मध्येको ठूलो प्रायोजक रहने एनएसजेएफले जनाएको छ।

'एनएसजेएफले अवार्डका लागि गोल्डस्टारसँग एक वर्षको ११ लाख बराबरको सम्झौता गरेको हो। हामीले ८ लाख नगद उपलब्ध गराउनेछौँ र बाँकी ३ लाख बराबरको सामाग्री प्रदान गर्नेछौँ। मनोनयनमा परेको ३६ जनालाई हामी भौचर र गिफ्ट ह्याम्पर प्रदान गर्नेछौँ,' गोल्डस्टारकी मार्केटिङ डिरेक्टर रानाले बताइन्।

'हामी नेपालको नम्बर वान स्पोर्ट्स शुज भनेर प्राइड लिइरहेका छौँ। स्पोर्ट्स अवार्ड पनि नम्बर वान अवार्ड भएकोले हामीद्ये सहकार्य गरेका हौं,' उनले भनिन्।

नेपाली खेलकुदकै प्रतिष्ठित अवार्डको रुपमा रहेको यस अवार्डको १६औं असार १७ गते काठमाडौंको कमलादिस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ।

यस पटकको अवार्ड कार्यक्रममा नौ विधाका खेलाडी र खेलकर्मीसहित एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ।

यसअघि नै कार्यक्रमको पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भइसकेको छ। वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने छ। यस्तै, लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेशल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा कार्यक्रमकै दिन गरिनेछ।

यसपटक पनि उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकलाई पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ। अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ।

पिपुल्स च्वाइसको अवार्डकका लागि मनोनयनमा परेका ५ खेलाडीको नाम यसअघि नै सार्वजनिक भइसकेको छ। जसमा क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी साविधा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन छन्।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको पल्सर मोटरसाइकल रहेको छ। अन्य प्रायोजकहरूमा सूर्य नेपाल प्रालि, टी.एच.टी लाईभ ३७७२२, सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, एभिन्युज खबर, केल्मी, इमेजिङ, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटी रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell