ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथलाई लगनखेलको इटी टोलबाट तानेर ल्याएको चौथो दिनमा भोटो जात्रा मनाइन्छ।
त्यसदिन राष्ट्रपति, उपराष्ट्रपति लगायत संवैधानिक निकायका प्रमुखहरु जावलाखेलमा जात्रा अवलोकन गर्न उपस्थित हुने गर्छन्।
हजारौंको संख्यामा सर्वसाधारणहरु भोटो जात्राको दृश्य हेर्न तछाडमछाड गरिरहेका हुन्छन्।
ललितपुरको गुठी संस्थानका प्रमुखले चारै दिशामा भोटो देखाउँछन् र भोटो जात्रा सम्पन्न हुन्छ। भोटो जात्रा सकेपछि रातो मछिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्गमती लगिन्छ। मानिसहरु पनि आ- आफ्नो घर फर्किन्छन्। धेरैलाई लाग्छ जात्राको समापन भयो।
तर, जात्राको रमझममा धेरैलाई जावलाखेलबाट रातो मछिन्द्रनाथलाई दिन बुङ्गमतीका मानिसहरु छ्वाली (गहुँको पराल) लिएर बस्नेबारे थाहा हुन्न।
मछिन्द्रनाथको स्वागत गर्दै बाटो देखाउन सयौंको संख्यामा मानिसहरु हातहातमा छ्वाली लिएर कुरिरहेका हुन्छन्।
रातो मछिन्द्रनाथको मुर्तिलाई नख्खु हुँदै बुङमतिमा रहेको मन्दिरमा प्रतिस्थापन गर्ने बेलासम्म ती छ्वालीहरु बालेर देवतालाई बाटो देखाउने गरिन्छ। खटमा राखिएको रातो मच्छिन्द्रनाथको मुर्ति सँगै अगाडि अगाडि यसरी छ्वाली जलाएर बुंगमतिसम्म लगिन्छ। बाटो छेउमा बस्ने युवायुवती, वृद्धवृद्धाले पनि छ्वाली जलाएर स्वागत गर्छन्।अँध्यारो नहुँदै देखिने त्यो दृश्य मसाल जुलुसको दृश्य जस्तो देखिन्थ्यो।
यसलाई स्थानीय भाषामा 'सवा लाख छ्वालीप्वाः च्याकाः लं स्ववनेगु' भनिन्छ। यसको अर्थ सवा लाख परालको मुठा बालेर देउताको बाटो हेर्न जाने हुन्छ।
पानेजु (रातो मछिन्द्रनाथका पुजारी) मदन शाक्यका अनुसार पहिला बत्ती नभएको बेला रातो मछिन्द्रनाथलाई खटमा राखेर ल्याउँदा छ्वाली बालेर लिन जाने गरिन्थ्यो। त्यो परम्परा हाल सम्म पनि निरन्तर चलिरहेको छ।
शाक्यका अनुसार पहिला त भक्तपुरबाट दीप बोकेर मानिसहरु रातो मछिन्द्रनाथलाई बाटो देखाउन आउँथे। अहिले भने त्यो परम्परा रोखिएको उनी बताउँछन्।
भोटोजात्रा सकिएपछि बुङ्गमतीसम्म पुर्याउँदाका फोटो प्रविण रानाभाटको लेन्सबाट हेर्नुस्-