PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

प्रधानमन्त्रीले आज आइएलओको सम्मेलनलाई सम्बोधन गर्ने



पहिलोपोस्ट

प्रधानमन्त्रीले आज आइएलओको सम्मेलनलाई सम्बोधन गर्ने

जेनेभाः प्रधानमन्त्री केपी शर्मा ओलीले आज अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहलाई सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले आज नै स्वीस सरकारका वरिष्ठ अधिकारी तथा सम्मेलनमा सहभागी विभिन्न देशका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ। जेनेभाका विभिन्न कार्यक्रमपछि प्रधानमन्त्री ओली आजै संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लण्डन प्रस्थान गर्नेछन्।  

 

प्रधानमन्त्री स्वागत समारोहमा 

यसैबीच प्रधानमन्त्री ओली  राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा सहभागी भए।

प्रधानमन्त्री ओलीलाई जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई तथा नियोगका अधिकारीले स्वागत गरेका थिए।

सो अवसरमा उनले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाई तीव्ररुपमा अघि बढाउनुपर्ने खाँचो रहेको बताए। ओलीले विगतमा ठूलो सङ्घर्ष तथा संविधान निर्माणको अगुवाइ लिएर आएको अहिलेको सरकार जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गरे।        

'लामो बलिदानपूर्ण सङ्घर्ष पूर्ण भएर जनताले ठूलो विश्वास यो सरकारलाई सुम्पेका छन्' प्रधानमन्त्रीले भने, 'सुशासन र तीव्र आर्थिक वृद्धि नै सरकारको मुख्य ध्येय छ।'

गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषयको माग र भावनाप्रति आफू जानकार रहेको प्रधानमन्त्रीले उल्लेख गरे।

प्रधानमन्त्री ओलीले त्यस अवसरमा स्वीट्जरल्याण्डमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरे। गैरआवासीय नेपाली नागरिक सङ्गठन स्वीट्जरल्याण्डका अध्यक्ष मणिराज गुरुङसहितका बक्ताले ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्यलाई साकार पार्ने प्रयास गर्दै मातृभूमिको सेवा र निकटतालाई प्रवासमा रहेका नेपालीले निरन्तरता दिन चाहेको बताए।

युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा सुरुमा प्रधानमन्त्री ओली आइतबार कतारको दोहाबाट जेनेभा पुगेका हुन्। जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई जेनेभास्थित स्वीस मिशनका प्रमुख  भ्यालेन्टिन जेलवेगरका साथै नेपाली राजदूतसहित नियोगका अधिकारीहरुले स्वागत गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell