काठमाडौं : तीन दिन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली बेलायत पुगेका छन्।
सोमवार जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सम्बोधन गरेसँगै प्रधानमन्त्री ओली बेलायत पुगेका हुन्। स्थानीय समय अनुसार सोमवार साँझ प्रधानमन्त्री ओली त्यहाँको हिथ्रो विमानस्थलमा पुगेका थिए। प्रधानमन्त्री ओलीलाई स्वागत गर्न बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यांकास्टर विमानस्थलमा पुगेका थिए।
यसैबीच प्रधानमन्त्री ओलीले सोमवार साँझ नै त्यहाँको अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड युनियनले आयोजना गरेको 'प्रजातन्त्र, शान्ति र विकास' विषयक विशेष कार्यक्रममा सम्बोधन गर्दै नेपालको सफल शान्ति प्रक्रिया, प्रजातन्त्र तथा विकास प्रक्रियाको विषयमा प्रवचन दिएका छन्। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपालको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई पूरा गर्नका लागि नेपालका प्राथमिकताको विषयमा कुरा गरेका थिए।
प्रधानमन्त्री केपी ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताए।
उनले नेपाल सरकारले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजाने गरी प्राथमिकतामा राखेको बताए।
प्रधानमन्त्री ओली जेनेभाबाट लन्डन पुगेसँगै हेलिकोप्टरबाट अक्सफोर्ड विश्वविद्यालय पुगेका थिए।
प्रधानमन्त्री ओलीले आज आफ्ना बेलायती समकक्षी टेरेसा मेसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यस्तै बेलायती संसद्मा नेपाल मामिला हेर्ने संसदीय समूहले प्रधानमन्त्रीको सम्मानमा कार्यक्रम आयोजना गरेको छ।
प्रधानमन्त्री ओलीले आज नै बेलायती राजपरिवारका सदस्यसँग पनि प्रधानमन्त्रीको भेटको कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाली दूतावासमा गैरआवासीय नेपाली सङ्गठन संयुक्त अधिराज्यका पदाधिकारी, पूर्वगोर्खा सैनिक सङ्गठनका प्रतिनिधि र प्रवासी नेपाली मञ्चका पदाधिकारीले भेट गर्ने कार्यक्रमसमेत रहेको छ।
नेपालको पुरानो कूटनीतिक सम्बन्ध भएको देश बेलायतमा १७ वर्षपछि भएको यो पहिलो प्रधानमन्त्री स्तरको भ्रमण हो।
प्रधानमन्त्री ओली बेलायत भ्रमण सकेर भोलि फ्रान्स जाने कार्यक्रम रहेको छ। ओलीको फ्रान्स भ्रमण नेपालबाट हुन लागेको १९ वर्षपछिको पहिलो उच्चस्तरीय भ्रमण हो।