PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

गुठी विधेयक जलाउँदै गजुरेलको आक्रोश : गणतन्त्रलाई खिसिटियुरी गर्ने प्रधानमन्त्रीले काठमाडौंलाई अमेरिकीकरण गर्न खोजे



सहयोग रञ्जित

गुठी विधेयक जलाउँदै गजुरेलको आक्रोश : गणतन्त्रलाई खिसिटियुरी गर्ने प्रधानमन्त्रीले काठमाडौंलाई अमेरिकीकरण गर्न खोजे

काठमाडौं : देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले सरकारले अमेरिकी साम्राज्यवादलाई प्रोत्साहन गर्दै काठमाडौं अमेरिकीहरुलाई सुम्पने रणनीतिका आधारमा गुठी विधेयक ल्याएको आरोप लगाएका छन्।

अमेरिकी रक्षा मन्त्रालयले १० दिन अघि सार्वजनिक गरेको एसिया प्यासिफिक रिपोर्ट २०१९ मा नेपाल अमेरिकी रक्षा (एसिया प्यासिफिक स्ट्राटेजी) नीतिको हिस्सा भएको विवरणले त्यसलाई पुष्टि गरेको बताए।

सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा नेवा: राष्ट्रिय मुक्ति मोर्चाले आयोजना गरेको विरोध र्‍यालीमा सहभागी हुँदै गजुरेलले यस्तो आरोप लगाएका हुन्।

असनबाट सुरु भएको र्‍याली भोटाहिटी, रत्नपार्क, शहीदगेट, न्यूरोड, इन्द्रचोक हुँदै पुन: असन पुगेपछि आयोजित विरोध सभामा गजुरेल लगायत नेवा: राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठ, मुक्ति मोर्चाका काठमाडौं जिल्ला अध्यक्ष नमस्ते सयामि लगायतले गुठी विधेयक जलाउँदै विधेयक खारेज नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिए।

सरकारले संघीयतालाई असफल बनाउन आफैँले बनाएको संविधान विपरीत धर्म संस्कृति मास्ने गरी ल्याएको गुठी विधेयक खारेज गर्नुपर्ने भन्दै भने, 'जनताले स्थानीय अधिकार उपयोग गर्‍यो भने संघीयतालाई बल पुर्‍याउँछ। सरकारले संघीयता सफल हुने डरले नै गुठीलाई समाप्त गर्दे स्थानीय निकाय ध्वस्त पार्ने प्रयत्न गरिरहेको छ।'

आफै बस्ने बालुवाटारको जग्गा बेचिएको थाहा नपाउने प्रधानमन्त्रीलाई लाज लाग्नुपर्छ भन्दै उनले बालुवाटार किने झै निजी गुठीका जग्गा हड्पने गरी विधेयक ल्याएको बताए। असनमै रहेको क्वथुननीकोलाई गुण्डा नाइकेलाई सुम्पने निर्णय गरेको उदाहरण दिँदै उनले सरकार भूमाफियाको कब्जामा परेको बताए।

'खिसीटियुरी गर्ने मान्छे प्रधानमन्त्री'

विरोध कार्यक्रममा गजुरेलले प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल (प्रचण्ड) सत्ता प्राप्तिका लागि लडिरहेको आरोप लगाउँदै भने, 'पहिला हामीले राजतन्त्र फाल्दै गणतन्त्र ल्याउँछु भन्दा ओलीले खिसिटियुरी गर्थे। अहिले गणतन्त्रका लागि नलडेको मान्छे प्रधानमन्त्री बने। यो इतिहासको ठूलो मजाक हो।'

त्यस्तै, उनले ओली बाहिर जाने बित्तिकै प्रचण्ड बोल्दै हिँड्ने र ओली आएपछि प्रचण्ड चुप लागेर बस्ने गरेको प्रति व्यङ्ग्य गर्दै दुई जनाको सत्तामोहले देशको सनातन धर्म संस्कृति र पहिचान नै मेटिन लागेको आरोप लगाए।

विप्लवले गरेको बन्दमा मारिएका मान्छेहरु नेपाली नागरिक नरहेको भन्ने गृहमन्त्रीको अभिव्यक्तिप्रति आपत्ती जनाउँदै गजुरेलले भने, 'ती व्यक्ति नेपाली होइनन् रे। त्यसो भए ती कहाँका हुन् अमेरिका कि भारत? गृहमन्त्रीले जवाफ दिनुपर्छ।'

कार्यक्रममा बोल्दै नेवा: राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष श्रेष्ठले सरकार संघियता विरुद्ध हिँडेको भन्दै नेवा: स्वायत्त राज्यको माग गरे। स्वायत्त राज्य नबनेसम्म नेवारको पहिचान स्थापित नहुने उनको राय थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell