PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

कैलालीका हुरी पीडितको पीडाः राहतमा एकथान त्रिपाल, स्थानीय सरकार भन्छन्, 'लगत संकलन भइरहेको छ' 



एम बम

कैलालीका हुरी पीडितको पीडाः राहतमा एकथान त्रिपाल, स्थानीय सरकार भन्छन्, 'लगत संकलन भइरहेको छ' 

कैलालीः बिहीबार बेलुका खाना खाने तयारी गरिरहेकै बेला एक्कासी हावाहुरी आयो। हुरीले घरमा भएको खाद्यान्न, लत्ताकपडा र घरको छानो पनि बाँकी राखेन। खाद्यान्न पनि नरहेपछि के खाने, उडेको घरमा कसरी बस्ने, ओढ्ने बिछ्याउने कपडा नै नभए पछि के लगाउने?

धनगढी उपमहानगरपालिका वडा नम्बर १५ की सीतादेवी चौधरीको यो पीडा कायमै छ। चौधरीमात्र हैन अन्य हुरी पीडित नागरिकको अवस्था पनि यस्तै छ।

हावाहुरीले उनको घरमा ठूलो भौतिक क्षति गर्‍यो। समयमै सचेतना अपनाउँदा मानवीय क्षति भने हुन पाएन। तर उनलाई त्यसपछिको कठिन परिस्थितिले बाँच्न पनि मुस्किल पारिदिएको छ। अहिलेको अवस्था हेर्दा स–परिवारै उडाइदिएको भए पनि हुने भन्ने उनको मनमा बेला-बेलामा चल्छ।

उनी संघर्षामा छिन्। यथास्थितिमा कसरी फकर्ने उनलाई ठूलो चिन्ता छ।

सरकारले राहतका नाममा त्रिपालबाहेक अहिलेसम्म केही पनि दिएको छैन। राहत लिन कहाँ जाने, कसरी पाइन्छ भन्नेसम्म पनि जानकारी छैन।

कैलालीमा सीतादेवी जस्ता सयौँ पीडितहरूको अवस्था यस्तै छ अहिले। वडा नम्बर १५ की शारदा बोगटीले हावाहुरीले घरमा केही बाँकी नराखेको दुःख पोखिन्। अहिले कहिले खुला त कहिल्यै छिमेकीको घरमा रात कटाउने गरेको उनको दुखेसो छ। 

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित मनहेराका भूपी सिंह पार्कीले अहिलेसम्म राहत नपाउँदा झन् समस्या भएको गुनासो गरे। घरका छानामा लगाउने त्रिपालबाहेक राहतका नाममा अहिलेसम्म अन्य केही सामग्री नपाएको उनको गुनासो छ।

स्थानीय, प्रदेश सरकार र जिल्ला विपद् व्यवस्थापन समितिले भने लगत सङ्कलन भइरहेकाले र त्रिपाल बाहेक अन्य राहत नदिएको बताएको छ। धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले तत्काल खाद्यान्न लगायत आपतकालीन सामग्रीका लागि वडाध्यक्षहरुलाई निर्देशन दिएको र अन्य पीडितको हकमा लगत सङ्कलन भइरहेको बताए। बिहीबारसम्म पीडितलाई राहतका नाममा रकम दिने वा अन्य सामग्री दिने भन्ने टुङ्गो लगाएर वितरण गर्ने उनको भनाई छ।

जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले तथ्याङ्क सङ्कलन भइरहेकाले त्यसपछि मात्रै पीडकको निवेदनका आधारमा राहत दिने बताए।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहको भनाइ पनि उस्तै छ।

‘प्रदेश सरकार गठन भए यता मृत्यु भएकाका परिवारलाई डेढ लाख, हावाहुरीबाट आंशिक वा पूर्ण क्षति भएका पीडितलाई २० हजारभन्दा मुनिका दरले मापदण्ड हेरेर राहत दिने निर्णय सरकारले गरिसकेको छ’ उनले भने ‘अब तथ्याङ्क आउने काम भइरहेको छ, हामी चाँडै पीडितको घाउमा मह्लम लगाउँछौँ।’

बिहीबार आएको विनाशकारी हावाहुरीले कैलालीमा दुई जनाको मृत्यु भएको थियो। दुई हजार २१६ घरमा क्षति पुगेको तथ्याङ्क जिल्ला विपत् व्यवस्थापन समितिसँग छ। हुरीबाट सात हजार ८४४ जना प्रभावित भएका सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell