महिला विश्वकप फुटबलको इतिहासमै सबैभन्दा ठूलो जित हात पार्ने क्रमम अमेरिकाले थाइल्याण्डलाई १३-० ले पराजित गरेको छ।
फ्रान्समा भइरहेको विश्वकप अन्तर्गत समूह एफको खेलमा अमेरिकाले एसियन राष्ट्र थाइल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको हो। रेइन्समा भएको खेलमा ३ पटकको च्याम्पियन अमेरिकाले पहिलो हाफमा ३ गोल मात्र गरेको थियो तर दोस्रो हाफमा १० गोल थपेको हो।
अमेरिकाको लागि एलेक्स मोर्गन एक्लैले ५ गोल गरिन्। यस्तै रोज लाभेले र सामान्था मेविसले २-२ गोल गरिन् भने लिन्ड्सले होरान, मेगान रापिनोए, मालोरी पुग र चार्ली लोएडले १-१ गोल गरिन्।
अमेरिकाले एकै खेलमा सर्वाधिक गोल गर्ने र पराकिलो जित हात पार्ने जर्मनीको कीर्तिमान तोडेको हो। जर्मनीले सन् २००७ मा अर्जेन्टिनालाई ११-० ले पराजित गरेको थियो।
अमेरिकाको यसअघिको फराकिलो जित सन् १९९१ मा चाइनिज ताइपेईविरुद्ध थियो। उक्त खेलमा अमेरिका ७-० ले विजयी भएको थियो।