PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

आफ्नै अध्यक्षले ३२ लाख हिनामिना गरेको उपाध्यक्षको आरोप, कर्णाली महोत्सव चर्को विवादमा



पी बी खड्का

आफ्नै अध्यक्षले ३२ लाख हिनामिना गरेको उपाध्यक्षको आरोप, कर्णाली महोत्सव चर्को विवादमा

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको प्रथम कर्णाली महोत्सव–२०७५ मा आर्थिक अनियमितता गरेको खुलेको छ। सुर्खेत चेम्बर अफ कमर्सले गत फागुन ३ गतेदेखि ११ गतेसम्म आयोजना गरेको महोत्सवमा अध्यक्ष चिन्तामणि शर्माले नै अनियमितता गरेको संस्थाकै पदाधिकारको आरोप छ।

सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष शर्माले संस्थाभित्र मनपरी गरी लाखौँ रकम हिनामिना गरेको चेम्बरका वाणिज्य उपाध्यक्ष हस्तबहादुर सावदले आरोप लगाए।

महोत्सवको आयव्यय अहिलेसम्म कार्यसमितिमार्फत कुनै जानकारी नगराएको भन्दै अध्यक्ष शर्माले ३२ लाख २० हजार ४९४ रुपैयाँ हिसाब मिलान नगरी भाग्दै हिडेको सावदको आरोप छ।

महोत्सव सकिएपछि अहिलेसम्म कार्यसमितिको बैठक आह्वान गरिएको छैन भने, बहुमत कार्यसमितिले बैठकको आह्वान गर्दासमेत अनुपस्थित हुने गरेको सावदको भनाई छ।

उनका अनुसार महोत्सवमा जम्मा आम्दानी ३६ लाख ७० हजार रुपैयाँमध्ये महोत्सवको उद्घाटन र समापनमा १ लाख चार हजार ४९० रुपैयाँ खर्च भएको छ। उक्त खर्च घटाउँदा आम्दानी जम्मा ३५ लाख ६५ हजार ५१० रुपैयाँमध्ये संस्थाको खातामा १४ लाख ६३ हजार ७७६ रुपैयाँ रहेको छ भने, बाँकी २१ लख एक हजार ७३४ रुपैयाँ अध्यक्ष शर्माले गुमराहमा पारेको प्रेस विज्ञप्तिमा उल्लेख छ। महोत्सव सञ्चालनका लागि चेम्बर र राजधानी एम्यूजमेन्ट राइट्स काठमाडौसँग ३५ लाख रुपैयाँमा सम्झौता भएको थियो।

त्यस्तै, सम्झौता भए बमोजिम महोत्सव सञ्चालन गर्ने कम्पनीले तिर्नुपर्ने रकम अध्यक्ष शर्माले ल्याइसके पनि अहिलेसम्म कार्यसमितिलाई जानकारी नगराएको गुनासो छ।

महोत्सव सञ्चालन हुनुअघि नै संस्थागत (सुर्खेत चेम्बर अफ कमर्स) रुपमा र राजधानी एम्यूजमेन्ट राइट्सकाबीच महोत्सव उद्घाटन र समापन खर्च स्वंयम आयोजकले बेहोर्ने सम्झौता भएको प्रेस विज्ञप्तीमा उल्लेख छ। कम्पनीले प्रचारप्रसारलगायत अन्य खर्च गर्ने रकम अध्यक्ष शर्मालाई प्रदान गरिसके पनि व्यवसायीले भने अझै पाउन नसक्दा संस्थाको बदनाम भएको उपाध्यक्ष सावदको भनाई छ।

महोत्सव सञ्चालनका लागि ठेकेदार कम्पनीसँग महोत्सवको उद्घाटन खर्च र समापन खर्च बाहेक अन्य मेलाको कर, प्रचार, प्रसार, सुरक्षा, पानी बत्ती, कलाकार, बिमा, उपचार अतिथि सत्कार लगाएत सम्पूर्ण खर्च दोस्रो पक्षले वेहोर्ने सम्झौता भएको थियो।

गत चैत १७ गते वाणिज्य उपाध्यक्ष हस्तबहादुर सावदको अध्यक्षतामा बसेको बैठकले महोत्सव सञ्चालन गर्ने कम्पनी र संस्थागत रुपमा भएको सम्झौता अनुसार ठेकेदारसँग हिसाब मिलान गरेर पनि बजारमा नतिरेको भन्दै संस्थाको खातामा दाखिला गर्नुपर्ने निर्णय गरेको छ।

चेम्बरका पदाधिकारीले जति सक्यो छिटो अध्यक्ष शर्माले खातामा नपुग रकम २१ लाख १ हजार ७३४ रुपैयाँ र बजारमा तिर्नुपर्ने रकम ११ लाख १८ हजार ७६० रुपैयाँ संस्थाको खातामा जम्मा गर्नुपर्ने संस्थाका कोषाध्यक्ष हिमा उपाध्यायको भनाई छ।

अध्यक्ष शर्मालाई केन्द्रको १५ दिने अल्टिमेटम

त्यस्तै, चेम्बरका बहुमत कार्यसमितिले बैठक आव्हनको लागि पत्र पठाएपनि अध्यक्ष शर्माले बेवास्ता गर्ने गरेको आरोप छ। गत चैत १९ गते बसेको कार्यसमितिको कार्यसमितिको बैठकमा समेत अनुपस्थित भएपछि कार्यसमितिलेनै अर्को बैठकका लागि आव्हन गरेको थियो। तर, उनले कार्यसमितिको बैठक बसाल्नेतर्फ कुनै ध्यान नदिएको आरोप छ।

समितिको बैठकले संस्थाको विधान बमोजिम मुद्धामामिला को (३) मा भएको व्यवस्था अनुसार चल अचल सम्पत्ती हिनामिना गरेको देखिएको भन्दै अध्यक्ष शर्मालाई निलम्बन गर्ने निर्णयसमेत गरिसकेको छ। संस्थाको आम्दानी रकम असुल उपर गर्ने निर्णयसहित समस्या समाधानका लागि नेपाल चेम्बर अफ कमर्सलाई जानकारी गराएको थियो। कमर्सले सोही बमोजिम आयव्यय विवरण सार्वजनिक गरी हिसाब मिलान गर्न नेपाल चेम्बर अफ कमर्सले १५ दिने अल्टीमेटम पत्रसमेत पठाईसकेको छ। तर, अध्यक्ष शर्मा हरहिसाब मिलान गर्न जिम्मेवार देखिएका छैनन्।

अध्यक्ष शर्माको दादागिरी

संस्थाभित्र अध्यक्ष शर्माले दादागिरी नै जमाएका छन्। उनले संस्थाको सम्पूर्ण कागजात (विवरण) आफ्नो कब्जामा लिई एकलौटी गर्ने गरेको आरोप छ। उनले कार्यसमितिको बैठक नबोलाउने र कार्यालयमा भएको सम्पूर्ण कागजात आफ्नो कब्जामा लिएर हिसाव किताब, माइन्युट लुकाउने गरेको आरोप छ। कतिपय कागजात उनले घरमा लगेको र कार्यसमितिको हस्ताक्षर कीर्ते गर्दै आएका छन्। हुदैँ नभएको खर्च देखाउँदै खर्च विवरण टार्न खोजेको भन्दै अस्वभाविक गतिविधि गरेको आरोप छ। पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार अध्यक्ष शर्माले पदाधिकारीलाई ज्यान खतरामा छ भन्दै धम्की दिने गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ। कार्यसमितिका वाणिज्य उपाध्यक्ष सावद, महासचिव रामबहादुर खड्का, कोषाध्यक्ष हिमकुमारी उपाध्याय, सह–कोषाध्यक्ष दिपेन्द्रबहादुर खड्का, लगाएत अन्य चार सदस्यसहित बहुमत कार्यसमितिले यस्तो आरोप लगाएका छन्।

यस्तो छ अध्यक्ष शर्माको आय–व्यय

यस अघिनै अध्यक्ष शर्माले गोप्य रुपमै आय–व्यय सार्वजनिक गरेका थिए। अध्यक्ष शर्माले यही चैत १८ गते गोप्यरुपमा सार्वजनिक गरिएको आयव्ययमा ४५ लाख ६८ हजार ३ सयरुपैयाँ आम्दानी भएको जनाए।

उनका अनुसार  महोत्सवमा ४५ लाख ६८ बढी आम्दानी भएपनि १८ लाख भन्दा बढी रकम उठ्न बाँकी रहेको जनाईएको छ। त्यस्तै, स्थानीयस्तरको स्टल विक्रि वापत ७ लाख १३ हजार रुपैयाँ उठन बाँकी रहेको जनाईएको छ।

अध्यक्ष शर्माका अनुसार संस्थाको बैंक मौज्दात १४ लाख ९४ हजार ८ सय १० रुपैयाँ रहेको र संस्थाले बजारमा तिर्नु पर्ने ८ लाख ४३ हजार रुपैयाँ बाँकी रहेको छ।

अध्यक्ष शर्माको समर्थनमा वरिष्ठ उपाध्यक्ष भुपेन्द्रनाथ योगी, उद्योग उपाध्यक्ष खगेन्द्रबहादुर थापा, सचिव विजय भण्डारी र सदस्य पदमबहादुर क्षेत्री रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell