PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

'जापानिज मेसी' कुबो रियल मड्रिडमा अनुबन्ध



पहिलोपोस्ट

'जापानिज मेसी' कुबो रियल मड्रिडमा अनुबन्ध

स्पानिस जायन्ट रियल मड्रिडले यस सिजन उत्कृष्ट खेलाडीलाई अनुबन्ध गरिरहेको छ। लुका जोभिच र एडेन हाजार्ड जस्ता खेलाडीलाई क्लबमा भित्र्याइसकेको रियलले जापानिस मेसीको उपनाम पाएका युवा स्टार ताकेफुसा कुबोलाई पनि अनुबन्ध गरेको छ। रियलले शुक्रवार विज्ञप्ति जारी गर्दै १८ वर्षीय कुबाई अनुबन्ध गरेको जानकारी दिएको हो।

रियलको प्रतिद्वन्दी क्लब बार्सिलोनाको एकेडेमीबाट युथ करियर सुरु गरेका कुबोले अहिले भने रियल रोजेका हुन्।

उनी जापानको टप लिग जे लिगमा एफसी टोकियोबाट गत खेलेका थिए। जहाँ उनले १३ खेल खेल्दै ४ गोल गरेका थिए। यस्तै ३ लिग कपमा १ गोल गरे। स्पानिस अनलाइन मार्काका अनुसार रियलले कुबोका लागि टोकियो एफसीलाई २ मिलियन युरो तिर्नेछ।

रियलले विश्व फुटबलमै उदाउँदै गरेको युवा खेलाडी आफ्नो क्लबमा भएको जनाएको छ।

कुबो रियलको रिजर्भ टिम कास्टिल्लामा रहने क्लबले जनाएको छ।

सन् २०११ मा ९ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा बोलाइएपछि कुबो जापानिस मेसीको उपनामबाट परिचित भएका थिए। तर उनले ४ वर्षपछि बार्सिलोना छाडे। अट्याकिङ मिडफिल्ड कुबोले युवा उमेरमै जापानको राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन्। उनले जुन ९ मा एल शाल्भाडोर विरुद्धको मैत्रीपूर्ण खेलमा जापानको लागि डेब्यु गरेका थिए।

यस्तै ब्राजिलमा हुने ४६औं कोपा अमेरिका फुटबल प्रतियोगिताको लागि पनि कुबो जापानको टोलीमा अटाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell