नेपाली सिनेमामा त्यति जमेका थिएनन्। व्ल्याक एण्ड ह्वाइट टेलिभिजनमा हिरोले हिरोइनीलाई समातेर नाचिरहेका हुन्थे। हिरोले भिलेनलाई पिटिरहेका हुन्थे। नेपाली नभए पनि हिन्दी सिनेमा गाउँका टेलिभिजन सेटमा पुगिरहेका हुन्थे। बाल मस्तिस्कमा त्यतिबेला फिल्म हेरिसकेपछि नक्कल गर्ने भुत चढ्थ्यो। गाउँमा आफ्नै उमेरका साथीहरु भेला पार्थे छ – सात वर्षका रवीन्द्र खड्का। अनि सुरु हुन्थ्यो, हिरो हिरोइनको नक्कल, फिल्मको फाइट।
काभ्रेमा जन्मिए पनि काठमाडौंमा हुर्किएका उनी हरेक जाडो बिदामा गाउँ जान भुल्दैनथे। त्यही गाउँ थियो जसले उनलाई अभिनयको भुत चढाएको थियो। गाउँगाउँ पुग्थे। सुकुलमा गाउँलेलाई बसाउथे र नक्कल गर्थे। सायद्, गाउँलेलाई नौलो लाग्थ्यो। व्ल्याक एण्ड ह्वाइट टिभीमा फिल्म र नाटक हेरेका उनीहरुलाई लाग्थ्यो होला, साँच्चीकै टिभीमा देखिएको हिरो अगाडि आएको छ। यसैले कलाकार बन्ने रवीन्द्रको चाहनामा बल दिएको थियो। र, त उनी भन्छन्, ‘ती गाउँलेहरु नै मेरा प्रेरणाका स्रोत हुन्।’
उनलाई थाहा थियो गाउँलेहरु माझ नक्कल गर्दैमा कलाकार त बनिँदैन्। केही ठूलो त गर्नै पर्यो। तर, घरमा यो कुरा मन परेको थिएन। घरमा धेरैसम्म नाटक र अभिनयमा लागेको उनका बाबुले पचाएनन्। बुबा ईन्द्रबहादुर खड्का रापस थिए। छोरोलाई पनि माननीय भएको देख्न चाहन्थे। राष्ट्रिय पञ्चायतको सदस्य (रापस)का रुपमा काभ्रेबाट प्रतिनिधित्व गर्थे उनका बुबा। छोरो पञ्चायतको सदस्य नभए पनि न्यायाधीश होस्, प्रधान न्यायाधीश होस् सबैले सम्माननीय भनुन् भन्ने थियो बुबाको इच्छा। तर, रवीन्द्रको मन अभिनयमा थियो। साथीहरु कानुन पढ्न कलेज जान्थे। उनी भने भागेर नाटक हेर्न।
आफूभित्र कलाकार बन्ने हुटहुटी लिएर हिँड्ने उनी मात्र त थिएनन्। त्यस्तो हुटहुटी बोकेको भिड नै हुन्थ्यो हरेक वर्ष प्रज्ञा प्रतिष्ठानमा। उनी २०३४ सालमा ‘भिडभाड’मै देखिए। एउटा सानो रोलमा।
त्यहीँ रोलले उनलाई कलाकारकै रुपमा चिनायो। त्यतिबेलाको २०१ रुपैयाँ अहिलेको लाख भन्दा बढी होला सायद्। सम्भवतः जीवनमा पाएको ठूलो पुरस्कार हो, त्यही ‘भिडभाड’ले दिलाएको। त्योभन्दा पनि ठूलो पुरस्कार थियो प्रज्ञा प्रतिष्ठानले दिएको कलाकारको प्रमाणपत्र। त्यतिबेला मनोहरि भण्डारीले उनलाई तलासेका थिए। ‘मजस्ता धेरैलाई कलाकार बनाउनु भयो होला मलाई पनि उहाँले नै साँच्चिकै कलाकार बनाउनु भयो,’ उनी सम्झिन्छन्।मानिस महत्त्वकांक्षी हुन्छ नै तर त्यतिले मात्र रोकिने कुरा थिएन रवीन्द्रको कलाकार बन्ने हुटहुटी। राजनीति हुन्थ्यो त माननीय भएपछि मन्त्री बन्ने लालसमा मान्छे दौडिन्थे। कलाकार नाटकदेखि फिल्ममा पुग्न चाहन्छ। नायक हुँदै निर्देशन गरेर अरुलाई नचाउन चाहन्छ।‘नाटक खेलेपछि निर्देशक बन्ने चाह थियो। कैयौंपटक अडिसनमा पनि पुगे तर हात लाग्यो शून्य,’ नेपाल चलचित्र संस्थानले बनाउने चलचित्रको अडिसन जाँदाको पल सम्झिँदै उनले भने, ‘बल्लतल्ल २०३९ सालमा बदलिँदो आकासमा सानो रोलमा अभिनय गर्ने मौका पाएँ।’
त्यतिमा सन्तुष्टि मिलेको थिएन। फिल्ममा हिरो बन्ने चाहिँ बाँकी नै थियो। उता नाटकलाई निरन्तरता भने दिइरहेका थिए रवीन्द्रले।
उनलाई चिनाएकै नाटकले हो। ‘जेमन्त’ नामक नाटकले रंगकर्मीको रुपमा चिनायो। त्यसपछि उनी रंगमञ्चमा पछि फर्किनु परेन। नाचघरमा नाटक निर्देशकका रुपमा काम गर्न थाले। यही काम गर्दागर्दै फिल्म हात लाग्यो।एउटा लाटोको रोलले उनलाई फिल्ममा दोस्रो पटक इन्ट्री दिलायो। फिल्म ‘माया पिरती’ निर्माण गर्नै भनेरै बम्बईबाट बीएस थापा नेपाल आएका थिए। फिल्मका निर्देशक थिए जीबी थापा। ‘जीबी थापा मेरो बुबाको मिल्ने साथी पनि हुनुहुन्थ्यो। त्यतिबेला मेरो निर्देशनमा नाचघरमा साउजी के ल्याटसन नाटक मञ्चन भइरहेको थियो। उहाँहरु पनि नाटक हेर्न आउनुभएको थियो। मेरो रोल तीन मिनेटको थियो। त्यो पनि लाटोको,’ उनी सम्झन्छन्, ‘उहाँहरुलाई मेरो एक्टिङ मन परेछ। फिल्ममा अभिनयको अफर गर्नुभयो।’उनलाई त्यतिबेला बीएस थापाले तीनवटा स्क्रिप्ट दिएका थिए। ‘म चाहन्थेँ दुई मिनेट नै किन नहोस् सबैले चिन्ने खालको रोल होस्। हातमा आएका तीनवटै स्क्रिप्टमा अभिनय गरेर देखाएँ,’ पहिलोपटक फिल्ममा हिरोको नाम लेख्दा आफ्नो नाम देखिँदाको खुशी उनको आँखामा अझै पनि झल्किन्छ, ‘ठूलो पर्दामा मेरो नाम देख्दा आँखा भरिएका थिए। सोचेको पनि थिइन कि नाटकको एउटा बौलाहा लाटोको रोलमा उभिएको म फिल्मको हिरोको रुपमा देखिएको थिएँ।’
२०४३ सालमा माया पिरतीमा देखिएका उनलाई अर्को फिल्ममा देखिन लामै अवधि कुर्नुपर्थ्यो। ५/६ वर्षमा एउटा फिल्म बन्थ्यो। उनको कलाकारितालाई रंगमञ्चले तिखारिह्यो। माया पिरतीपछि उनी भाग्यरेखा, रक्षा, चेली, पहिलो प्रेम लगायतका फिल्ममा देखिए।
***
कलाकारितासँगै समाजसेवा पनि उनमा जोडिँदै थियो। २०४५ साल भदौ ५ गते गएको भूकम्पले कलाकार संघको बिजारोपण गर्यो।
‘भूकम्पले हामी सबैलाई सतायो। पीडितहरुलाई सहयोग गर्नुपर्छ भनेर हामी कलाकारहरुले सहयोग जुटाउन थाल्यौं। भुवन केसी, नीर शाह, शिव श्रेष्ठ लगायतका कलाकारहरु थियौं,’ उनी सम्झिन्छन्, ‘सहयोगका लागि जुटेका हामीले किन संघ नबनाउने त? हो यही प्रश्नले संघ खोल्ने निर्णय गर्यौं। मेरै नेतृत्वमा संघ बनायौं।’
यही संघमा हुँदाहुँदै उनलाई राजनीतिले पनि नजिक बनायो। हुन त परिवार नै राजनीतिक पृष्ठभूमिको थियो। बाबु पनि यही चाहन्थे छोरो पनि माननीय बनोस्। अहिले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी निकट छन् उनी। तर, राजनीतिक गुरु भने राप्रपाका अध्यक्ष कमल थापालाई मान्छन्। बाबुकै इच्छ पूरा गर्न माननीयको बाटोमा नलागेका पनि होइनन् खड्का। २०७४ सालको मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा राप्रपाबाटै काभ्रे क्षेत्र नं.१ बाट उम्मेदवार बनाउन राप्रपाले सर्वसम्मत सिफारिस पनि गरेकै थियो।
तर, उनले राप्रपाबाट भविष्य देखेनन्, आफ्नो मात्र होइन देशको पनि। ‘सारा देशवासीको इच्छा र आशाको केन्द्र एमाले बनेका थियो। देशलाई राष्ट्र र राष्ट्रियताको सवालमा कसैको सामु घुडा नटेक्ने शक्तिको खोजी थियो, अर्को कुरा जुन उद्देश्य लिएर राप्रपाको कलाकर्मी संघको नेतृत्व गरिरहेको थिएँ त्यहाँबाट पूरा हुने अवस्था देखिन। अनि आफूले गरेका उद्देश्य पूरा गराउनकै लागि एमालेलाई सहयोग गर्नुपर्छ लाग्यो,’ आफ्ना गुरुलाई छाडेका खड्का भन्छन्, ‘तर पनि मेरो राजनीतिक गुरु त कमल थापा नै हो।’
हुन त उनी युवा हुँदादेखि नै राजनीतिमा कुनै न कुनै अवस्थामा जोडिएकै थिए। २०३९ साल देखि नेपाल युवक संगठनमा लागेका थिए। तर, राजनीति भन्दा कलाकारिता हावी हुँदै गयो उनमा। पछि माओवादी जनयुद्ध उत्कर्षमा थियो। राजाले शासन हातमा लिए। बुबाको बिँडो अब चाहिँ थाम्नुपर्छ भन्ने लाग्यो।
त्यसैले उनलाई पनौती नगरपालिकाको मेयर बनायो। उनी आफूलाई शाही कालका मेयर भने भन्न रुचाउँदैनन्।
‘स्थानीय तह खाली थिए। विकास निर्माण हुन सकेका थिएन। राजनीतिक दलहरु विभाजित थिए। त्यस्तो अवस्थामा मैले म मेयर बन्छु भने,’ त्यतिबेला उनलाई मेयर बनाउने बेलामा विरोध भएको पनि सम्झन्छन् उनी, ‘यो राप्रपामा छैन। यसलाई बनाउनु हुन्न भन्ने पनि थिए। मैले कमल थापालाई भने म कलाकार हुँ। कलाकार देशको हुन्छ। देशलाई अफ्ठ्यारो पर्दा हामीले नै गर्ने हो। राजनीति त मेरो रगतमा पनि छ। पार्टीमा पनि लागौंला भने।’
त्यतिबेला काठमाडौंमा केशव स्थापित महानगरपालिकाको मेयर भएका थिए। ‘म पनौतीको भएँ। सबै पार्टीलाई मिलाएर काम गरेको हुँ। माओवादीलाई पनि मैले मिलाएर काम गरेको हुँ,’ उनी भन्छन्, ‘म राजाको मेयर थिइन्। सबैको साझा स्वतन्त्र मेयर थिएँ। म शाहीकालमा राजनीतिमा पनि थिइन्। कतिपयले भन्थे अझै पनि भन्छन् यो राजाले ल्याएको मेयर हो। त्यतिबेला जो पनि मेयर भएका थिए। कोही नपाएर हो।’
रंगमञ्च र पर्दाका लागि अभिनय गर्ने रवीन्द्रलाई राजनीतिमा पसेपछि लाग्यो त्यहाँ पनि अभिनय नै गर्नुपर्दो रहेछ। ‘रंगमञ्चमा स्वभाविक अभिनय हुन्छ। राजनीतिमा अलि अस्वभाविक अभियन पनि गर्नुपर्दो रहेछ। सायद त्यतिबेला मैले अस्वभाविक अभिनय गरेको भए बुबाको छोरोलाई माननीय देख्ने सपना पनि पूरा हुन्थ्यो कि मन्त्री पनि बनिसक्थेँ कि,’ उनी भन्छन्, ‘तर, म कलाकार अभिनय जे भए पनि स्वभाविक हुनुपर्छ भन्ने लाग्यो।’
उनी आफूलाई सक्रिय राजनीतिक कार्यकर्ता भन्न रुचाउँदैनन्। ‘म जे भए पनि कलाकार नै हुँ। कलाकार नै रहन्छु।’
त्यसैले त फेरि उनी कलाकारहरुकै राजनीतिमा फर्किएका छन्। तीन दशक अगाडि आफैले स्थापना गरेको कलाकार संघको नेतृत्वका लागि चुनाव लडेर अध्यक्ष भएका छन्। आफैले जन्माएको बच्चा हो कलाकार संघ, तीन दशकसम्म एउटा स्थायी छत पाएन भाडाकै घरमा तीन दशक गुजार्यो। उनी चुनाव लड्दै गर्दा उनको एजेण्डा थियो- संघको भवन।
‘त्यतिबेलादेखि नै म निरन्तर रुपमा राजनीतिमा लागेको भए मन्त्री हुन्थे होला भवन बनाइ सक्थेँ होला। तर, भइन। अब यहीबाट संघको भवन बनाउँछु,’ उनी दृढ सुनिन्छन्।