PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कोपा अमेरिका : उपाधि रक्षा अभियानमा चिली, दोस्रो पटक खेल्दै जापान



पहिलोपोस्ट

कोपा अमेरिका : उपाधि रक्षा अभियानमा चिली, दोस्रो पटक खेल्दै जापान

विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिकामा पहिलो पटक सहभागिता जनाएको एसियाली राष्ट्रले कतारले सोमवार बिहान पाराग्वे विरुद्ध उत्कृष्ट प्रदर्शन गर्‍यो। ब्राजिलमा भइरहेको ४६औं संस्करणको यस प्रतियोगितामा कतारले दुई गोलले पछि परेर पनि शानदार पुनरागमन गर्दै दुई गोल फर्कायो र खेल २-२ को बराबरीमा सकायो।

पहिलो सहभागिता कतारले १ अंक जोड्यो। कतार भन्दा अघि सहभागिता जनाएको अर्को एसियाली राष्ट्र जापानले दुई शदकपछि यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ। सन् १९९९ मा पहिलो पटक कोपा खेलेको जापानले दोस्रो पटक प्रतिस्पर्धा गर्दैछ।

कतार र जापानले यस पटक पाहुना टोलीको रुपमा प्रतिस्पर्धा गरेका हुन्।

२० वर्षपछि दक्षिण अमेरिकी फुटबलमा पर्केको जापानले साविक विजेता चिलीसँग खेल्दै यस संस्करणको सुरुवात गर्दैछ। चिलीले पछिल्लो दुई संस्करणमा उपाधि जितेको थियो। सन् २०१५ र २०१६ मा चिलीले अर्जेन्टिनालाई नै हराएर उपाधि जितेको थियो।

उपाधि रक्षा गर्दै ह्याट्रिक गर्ने अभियानमा रहेको चिली र जापान भोली बिहान खेल्दैछन्। समूह सी अन्तर्गतको यस खेल नेपाली समयअनुसार भोली बिहान ४:४५ बजे सुरु हुनेछ। यस समूहमा उरुग्वेले पहिलो खेल जित्दै ३ अंक जोडिसकेको छ। उरुग्वेले आज बिहान भएको खेलमा इक्वेडरलाई ४-० ले पारजित गरेको थियो।

३१ वर्षीय डिफेण्डर ग्यारी मेडलको कप्तानीमा रहेका चिलीमा अनुभवी खेलाडीहरु छन्। ग्यारीसँगै एलेक्स सान्चेज, अर्टुरो भिदाल, गोन्जालरो जरा, माउरिसिओ इस्ला, जिन ब्युसेजोरले सय भन्दा बढि खेल खेलिसकेका छन्। यस्तै ९१ खेल खेलेका मिडफिल्डर चार्ल्स अराइङ्गुस र ८२ खेल खेलेका एड्वार्डो भर्गास पनि टिममा छन्।

एसियाको 'पावर हाउस' मानिने जापानले यस पटक १७ अनक्याप्ड खेलाडीलाई टोलीमा राखेको छ। अनुभवी खेलाडी सिन्जी ओकाजाकीले टोलीको कप्तानी गर्दैछन्। जसले सबैभन्दा धेरै ११६ खेल खेलेका छन्। यस्तै ८८ खेल खेलिसकेका गोलकिपर आइजी कावाशिमा र ३४ खेल खेलेका गाबु शिवान्स्की पनि टिममा छन्।

केही दिनअघि मात्र रियल मड्रिडमा अनुबन्ध भएका 'जापानिस मेसी' को रुपमा चर्चित ताकेफुसो कुबो पनि हेर्न लायक खेलाडीका रुपमा छन्।

दक्षिण अमेरिकाको १० र पाहुना २ गरी कूल सहभागि १२ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ। तीन वटै समूहको शीर्ष दुई टोली सिधै क्वाटरफाइनल पुग्नेछन्। यस\तै तेस्रो हुने तीन समूहको टोलीमध्ये उत्कृष्ट दुई टोली पनि क्वाटरफाइनल पुग्नेछन्।

प्रतियोगितमाको उपाधि दाबेदार मध्ये आयोजक ब्राजिल र उरुग्वेले शानदार सुरुवात गरिसकेका छन्। विश्वकै स्टार खेलाडी लिओनल मेसीको अर्जेन्टिना भने पहिलो खेलमा कोलम्बियासँग २-० ले पराजित भएको छ।

यस्तै एसियाली राष्ट्रहरु कतार जापान पनि यस प्रतियोगितालाई यादगार बनाउने योजनामा छन्। एएफसी एसिया कप विजेता कतारले सन् २०२२ मा आफ्नै भूमिमा फिफा विश्वकप आयोजना गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell