
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रमका साथै सिद्धान्तहरुलाई विकसित र परिमार्जित गरेर अगाडि बढ्ने मान्यताका साथ पार्टी एकता भएको बताएका छन्।
पार्टी एकतापछि जनयुद्धका शहीद रितबहादुर खड्काको १७औं स्मृति पार्टी कार्यालय धुम्बाराहीमा कार्यक्रममा प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन्।
'पार्टी एकता गरेर एउटा ठूलो र ऐतिहासिक असाधारण कामको सुरुवात गरेका छौँ। र हामी सिद्धान्तहिन ढंगले पार्टी एकता गरेका होइनौँ,' उनले अगाडि भने, 'हामी मार्क्सवादकै पदप्रदर्शनमा समाजवादी रणनीतितिर अगाडि बढ्ने समाजवादको लक्ष्य प्राप्त गर्नेतिर अगाडि बढेको छौं। जनताको जनवादको कार्यक्रमसहित जाने र देशलाई आर्थिक समृद्धि र विकासको नयाँ युगतिर लैजाने र त्यो प्रक्रियाबाट समाजवादको निर्माण गर्ने प्रष्ट लक्ष्यका साथ हामीले पार्टी एकता गरेका छौँ।'
उनले पार्टी एकता पूर्व तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मान्दै आएका सिद्धान्तलाई परिमार्जन गरेर अगाडि बढ्ने मान्यताका साथ पार्टी एकता भएको बताए।
'चाहे त्यो जनताको बहुदलीय जनवादको भूमिकाको कुरा होस्, चाहे त्यो २१ औँ शताब्दीको जनवादको कुरा होस् या माओवादी जनयुद्धको कुरा होस्, तिनले खेलेको सकरात्मक भूमिकाको मूल्यांकन गर्दै अब हामी अगाडि जानका लागि इतिहासका हाम्रा अनुभवहरु हाम्रा नीति कार्यक्रमलाई परिमार्जन गर्नुपर्दछ र विकसित गरेर जानुपर्दछ भन्ने मान्यताको साथमा एकता गरेका हौँ,' उनले भने।
प्रचण्डले यसअघि भएका सहमति सम्झौताको इमान्दारिताका साथ कार्यान्वयन गर्दै अगाडि बढिने समेत बताए।
पछिल्लो समय नेकपा भित्र पूर्व एमालेले जनताको बहुदलीय जनवादको विषयमा बहस उठाउन थालेका छन्। स्थायी कमिटी सदस्य ईश्वर पोखरेलले सार्वजनिक रुपमै देशव्यापी रुपमा जबजको विषयमा बहस थाल्ने उद्घोष गरेका छन्।
त्यस्तै नेकपा भित्र पार्टी एकताको अघिल्लो दिन भएको प्रचण्ड र ओलीबीचको सरकारको नेतृत्वको आलोपालोको विषयमा समेत बहस सुरु भएको छ।
'हामीले पार्टी एकताका बेलाका सहमति र समझदारी प्रति इमान्दार रहनु र तीनलाई कार्यान्वयन गर्दै महाधिवेशनसम्म गएर हाम्रा विचार र राजनीति कार्यनीतिहरुलाई अझ विकसित अझ परिमार्जित गर्नुछ,' उनले अगाडि भने, 'इमान्दारिताका साथ पार्टी एकताका कामलाई टुंग्याउने र इमानदारिताका साथ सहमतिलाई कार्यान्वयन गर्नुछ।'