PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

विश्वकप क्रिकेट : शकिबको दोस्रो शतक, बंगलादेश वेष्ट इन्डिजलाई हराउँदै पाँचौ स्थानमा



पहिलोपोस्ट

विश्वकप क्रिकेट : शकिबको दोस्रो शतक, बंगलादेश वेष्ट इन्डिजलाई हराउँदै पाँचौ स्थानमा

शकिब अल हसनले लगातार दोस्रो शतक प्रहार गरेपछि बंगलादेशले आइसीसी विश्वकप क्रिकेट २०१९ मा दोस्रो जित हात पारेको छ।

शकिबको शतक प्रेरित बंगलादेले इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकपमा सोमवार वेष्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो। बंगलादेशले विश्वकपमा वेष्ट इन्डिजलाई पहिलो पटक पराजित गरेको हो।

यसअघि शकिबले घरेलु टोली इंग्ल्याण्ड विरुद्ध पनि शतक प्रहार गरेको थियो। शकिबले १२१ रन बनाएको उक्त खेलमा भने बंगलादेश पराजित भएको थियो।

वेष्ट इन्डिज विरुद्ध शकिबले २ विकेट समेत लिए। यस्तै शकिबले एक दिवसीयमा ६ हजार रन समेत पूरा गरेका छन्। उनी ६ हजार रन पूरा गर्ने दोस्रो बंगलादेशी खेलाडी हुन्। यसअघि तमिम इकवालले मात्र उक्त उपलब्धी हात पारेका छन्।

दोस्रो जितपछि ५ खेलबाट ५ अंक जोडेको बंगलादेश अंक तालिकामा पाँचौ स्थानमै उक्लेको छ।

३२२ रनको लक्ष्य ४१.३ ओभरमा बंगलादेशले ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। लगातार दोस्रो शतक प्रहार गर्ने क्रममा शकिबले नटआउट १२४ रन बनाए। यस्तै लिटन दासले नटआउट ९४ रन योगदान गरे। विश्वकपमा चेस भएको यो दोस्रो उच्च स्कोर हो। यसअघि २०११ को विश्वकपमा आयरल्याण्डले इंग्ल्याण्डले दिएको ३२८ रनको लक्ष्य चेस गरेको थियो।

ओपनर सौम्य सरकार २९ रन बनाएर आउट भएपछि शकिबले ओपनर तममि इकवालसँग दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए। अर्धशतक बनाउन २ रनले चुकेका तमिम ४८ रन बनाउँदा रनटआउट भए।

त्यसपछि मुस्फिकर रहिम १ रन मात्र बनाएर आउट भएपछि बंगलादेशले १३३ रन बनाउँदा ३ विकेट गुमायो। तर यस विश्वकपमा पहिलो खेल खेलेका लिटन दास र शकिब हल हसनल मिलेर चौथो विकेटका लागि शतकिय साझेदारी गर्दै बंगलादेशको जित तय गरे। यी दुईले चौथो विकेटका लागि नटआउट १८९ रनको साझेदारी गरे। शकिबले ९९ बल खेल्दै १६ चौकाको मद्दतमा नटआउट १२४ रन बनाए। यस्तै लिटन दासले आक्रमक ब्याटिङ गर्दै नटआउट ९४ रन जोडे। लिटनले ६९ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे।

वेष्ट इन्डिजका लागि आन्द्रे रसेल र ओसाने थोमसले १-१ विकेट लिए।

टाउन्टनले बंगलादेशका कप्तान मोसरफे मोर्ताजाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२१ रन बनाएको थियो।

वेष्ट इन्डिजका लागि शाई होपले सर्वाधिक ९६ रन बनाए। यस्तै एभिन लेविसले ७० र शिमरोन हेतमारले ५० रन जोडे। कप्तान ज्यासन होल्डरले ३३, निकोलस पुरनले २५ र डारेन ब्राभोले १९ रन बनाए। क्रिस गेल १३ बल खेल्दै खाता नखोली आउट भए भने आन्द्रे रसेल पनि शुन्यमा आउट भए।

बंगलादेशका लागि मोहम्मद सैफुदिन र मुस्ताफिजुर रहेमानले ३-३ विकेट लिए। शकिबले २ विकेट लिए।  

शकिब : २ शतक, २ अर्धशतक
यस विश्वकपमा बंगलादेशी अलराउण्डर शकिब अल हसन सर्वाधिक रन बनाउनेमा शीर्ष स्थानमा उक्लेका छन्। चार इनिङ्समा ब्याटिङ गरेका शकिबले २ शतक र २ अर्धशतकसहित कूल ३८४ रन बनाएका छन्।

उनले दक्षिण अफ्रिका विरुद्ध ७५, न्यूजिल्याण्ड विरुद्ध ६४ र इंग्ल्याण्ड विरुद्ध १२१ रन बनाएका थिए। चार खेलमा उनले कूल ४३ चौका र २ छक्का प्रहार गरेका छन्। साथै उनले ५ विकेट पनि लिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell