PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

भोलिको आन्दोलनमा फूल बाँड्दै योगेश्वर अमात्य, गुठी विधेयक विरुद्ध अरुले चाहिँ के गर्दै?



सहयोग रञ्जित

भोलिको आन्दोलनमा फूल बाँड्दै योगेश्वर अमात्य, गुठी विधेयक विरुद्ध अरुले चाहिँ के गर्दै?

काठमाडौं : जेठ ३० गते सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गुठीयारलाई 'सामन्ती' भनिरहँदा पाटनमा गायक योगेश्वर अमात्य प्रहरीलाई फूल दिँदै थिए। गुठी विधेयकविरुद्ध माइतिघरमा प्रदर्शन गर्न पुगेका गुठीयारहरुलाई प्रहरीले लाठी र लात्ती बर्साएको सांकेतिक विरोध स्वरुप उनले प्रहरीलाई फूल दिएका थिए। अमात्यको सांकेतिक विरोधको धेरैले प्रशंसा समेत गरे।

बुधवार राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको आयोजनामा हुने विरोध कार्यक्रममा योगेश्वर सयौं युवाहरुसहित प्रहरीलाई फूल दिन माइतीघर पुग्दैछन्।

'प्रहरी र हामी त साथी हौं। उहाँहरु घाममा उभिएर बस्दा हुने तनावका बारेमा हामी बुझ्छौं,’ अमात्य भन्छन्, ‘उहाँहरुलाई फूल दिएर हामी भोलि शान्तिपूर्ण प्रदर्शन गर्ने तयारीमा रहेको बुझाउने प्रयासमा हुनेछौं। मुख्य कुरा हामी माइतीघरमा एकता देखाउने छौं।'

माइतीघरमा बुधवार हुने प्रदर्शनमा सांस्कृतिक र सांगीतिक कार्यक्रम समेत आयोजना हुनेछ। हजारौं संख्यामा आउने नेवार समुदायका मानिसहरु धिमे, भुस्या लगायतका परम्परागत बाजागाजा सहित उपस्थित हुने तयारीमा छन्। पाटन, खोकना, बालाजु, भक्तपुर थिमी, साँखु, हाडीगाउँ लगायतका स्थानबाट बाजागाजासहित मानिसहरु माइतीघर पुग्ने तयारीमा छन्।

गायक अमात्य बुधवारका लागि फूलमात्र नभइ ब्रास ब्यान्डसमेत तयारी गरेको बताउँछन्।

'सरकारलाई हाम्रो शक्ति देखाउने हो। मैले ११ वटा ब्रास ब्यान्ड ल्याउन तयारी गरेको छु। हामी नेवार र राष्ट्रिय गीतहरु प्रस्तुत गर्नेछौं,’ उनले भने।

गुठी विधेयक नेवारहरुको मात्रै सरोकारका रुपमा मात्रै प्रस्तुत गर्न खोजिएकोमा अमात्यले चिन्ता जनाउँदै भने, 'पशुपतिनाथ हामी नेवारहरुको मात्रै होइन नि। हामी सबैको हो। कमी कमजोरी भए सरोकालवालासँग छलफल गर्नुपर्छ।'

योगेश्वरलाई साथ दिन माइतीघरमा जेम्स प्रधान, बबिन प्रधान, सञ्जय श्रेष्ठ लगायतका कलाकारहरु समेत पुग्दैछन्। उनीहरुले फेसबुकमार्फत् भिडियो सन्देश दिँदै माइतीघरमा उपस्थित हुन आह्वान समेत गरेका छन्।

माइतीघरमा बेलुन उडाएर विधेयकको विरोध गर्ने, नृत्य, गीत इत्यादि प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको छ।

काठमाडौँमा अहिलेसम्मकै ठूलो प्रदर्शनको तयारी

जेठ २६ गते माइतीघर मण्डलमा करिब २०० व्यक्ति भेला भएका थिए। कालो ब्यानरका साथ मण्डलमा पुगेका उनीहरु बाजा बजाउँदै एकै स्वर लगाउँदै थिए- 'गुठी विधेयक खारेज गर!'

त्यसबेला सरकारले सदनमा ल्याएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको राष्ट्रिय सभामा छलफल हुँदै थियो। विधेयकमा गुठीयारको हक स्वत: समाप्त हुने र निजी गुठी स्वत: सार्वजनिक हुने लगायतका विवादित बुँदाहरु देखिएपछि गुठीयारहरु आत्तिएका थिए।

सांस्कृतिक आन्दोलनमा एकाएक प्रहरीले लाठी, लात्ती र पानीको फोहोरा बर्साएपछि स्थिति झन् बिग्रिँदै गयो। दमनको विरोधमा उपत्यकामा त्यही रात गृहमन्त्रीको राजीनामा माग्दै मसाल जुलुस निकालियो। त्यस दिनबाट दैनिक रुपमा उपत्यका मात्र नभई उपत्यका बाहिरसमेत विरोधसभा र मसाल जुलुसहरु आयोजना भइरहेका छन्।

त्यसको भोलिपल्ट प्रतिनिधिसभा र राष्ट्रिय सभामा गुठी विधेयक र सरकारले गरेको दमनबारे कुरा उठ्यो। भूमिव्यवस्था मन्त्रीले विधेयक संविधानसम्मत भएको भन्दै विधेयकको बचाउ गरेपछि आन्दोलन गरिरहेका गुठीयारहरु थप आक्रोशित भए। गुठी विधेयकको विरुद्धमा आवाजहरु थप बलियो हुँदै गयो।

जेठ ३० गते सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले गुठीलाई 'सामन्ती' भने पछि त सत्तापक्ष सांसदकै भाषामा त्यसले त 'आगोमा घ्यू थप्ने काम गर्‍यो।'

बाँस्कोटाले 'नेवारहरु सबैलाई सामन्ती भन्न खोजेको हो ?' भन्दै सत्तापक्ष कै सांसद रामवीर मानन्धरले त बाँस्कोटाले कि माफी माग्नुपर्ने वा राजीनामा दिनुपर्ने माग समेत राखे। मानन्धरका अनुसार चुप लागेर बसिरहेका नेवारहरुलाई गुठी विधेयकको बारेमा उठ्न बल पुर्‍याउने काम बाँस्कोटाको अभिव्यक्तिले नै गरेको हो।

प्रधानमन्त्री स्वदेश फिर्ता भएर विधेयक सच्याउन लचिलो देखे पनि गुठीयारहरु गुठी विधेयक खारेज हुनुपर्ने मागमा अडिग छन्। उनीहरु असार ४ गते फेरि माइतीघरमा भेला हुँदैछन्।

एक हप्ता अघि सांस्कृतिक आन्दोलनका क्रममा प्रहरीको लाठी र लात्ती खाएका गुठीयारहरु यसपटक केही नयाँ गर्दैछन्। उनीहरु प्रहरीलाई फूल दिएर विरोध स्वरुप शक्ति प्रदशर्न गर्दैछन्।

काठमाडौंका विभिन्न पाँच स्थान (वसन्तपुर, टेकु, कुपण्डोल, रत्नपार्क र नयाँ बानेश्वर) बाट भेला भई बिहान ११ बजे माइतीघर पुग्ने कार्यक्रम रहेको राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले बताए। 'उपत्यकाबाट मात्र नभई धरान, पनौती, हेटौंडा, बनेपा, पोखरा लगायतका स्थानबाट पनि मानिसहरु आउँदैछन्,’ श्रेष्ठले भने, ‘भोलि माइतीघरमा हुने विरोध कार्यक्रममा करिब एक लाख मानिस जम्मा हुने हामीले अनुमान गरेका छौं। सबैलाई परम्परागत बाजा र पहिरनमा आउन आह्वान समेत गरेका छौं।'

आन्दोलनमा सहभागी हुने मानिसहरुको व्यवस्थापन गर्नका लागि पाँच सयभन्दा बढी स्वयम् सेवक परिचालन गर्ने तयारी आयोजक समितिले गरेको छ। विरोधसभामा आउनेहरुका लागि खानेपानी र स्वास्थ उपचारको बन्दोबस्त मिलाइएको आयोजकले बताएका छन्।

काठमाडौं उपत्यकामा मात्रै गुठी विधेयक विरुद्ध लड्न विभिन्न संघर्ष समितिहरु बनाइएको छ। भोलिको कार्यक्रममा सबैले सहभागिता जनाउने भएकाले विरोध कार्यक्रमलाई 'गुठी विधेयक प्रतिरोध कार्यक्रम' नामाकरण गरिएको श्रेष्ठले बताए।

गुठी विधेयकको विरुद्ध संघर्ष गर्न गठित राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले पनि यही अवस्थामा आन्दोलन फिर्ता नहुने बताएको छ। हाल समितिमा ८० भन्दा बढी संघसंस्थाले ऐक्यबद्धता जनाइसकेका छन्।

**

'आन्दोलन जारी छ'

यता, गुठी विधेयकको बारेमा सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सांसद र जनप्रतिनिधिहरुसँग गुठी विधेयकबारे छलफल गरे। गुठीयारको अधिकार नै समाप्त गर्ने प्रावधान सहित आएको यो विधेयकको विरुद्ध फिर्ता लिन प्रधानमन्त्रीलाई पार्टी भित्रबाट दबाब रहेको छ। बैठकमा महेश बस्नेतबाहेकका सांसद र जनप्रतिनिधिहरुले विधेयक तत्काल फिर्ता लिन माग गरेको बुझिएको छ। प्रधानमन्त्रीले जवाफमा पार्टी र मन्त्रिमण्डलमा छलफल गर्ने निर्णय लिने बताएका थिए। सांसदहरुले मंगलवारसम्म गुठी विधेयक फिर्ता नलिए बुधवार जे पनि हुन सक्ने र अवस्था नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिएका थिए।

प्रधानमन्त्रीको छलफलमा नबोलाइएका गुठीयार र आन्लोलनरत पक्षहरु भने पहिला विधेयक फिर्ता नै हुनुपर्ने मागमा अडिग छन्। नरदेवी गुठीका नाय मचाराजा महर्जन भन्छन्, 'मन्त्रीसँगको बैठकमा जाँदा उहाँले राम्ररी प्रतिक्रिया दिनुभएन। प्रधानमन्त्रीले बैठक बोलाएको जानकारी भएन। यो सांसद र मेयरले गरेको आन्दोलन होइन। सरकारले सरोकारवालासँग वार्ता गर्नुपर्छ। वार्ता गर्न हाललाई विधेयक फिर्ता लिनुपर्छ।'

पाटनमा आन्दोलनको नेतृत्व गरिरहेको ज्यापु महागुठी संघर्ष समितिका संयोजक सत्यनारायण डंगोलले पनि सरकारले लिखित रुपमा धारणा राख्नुपर्ने बताउँछन्। भन्छन्,  'मन्त्रीहरु जथाभावी बोल्दैछन्। प्रधानमन्त्रीको आश्वासनले मात्रै आन्दोलन फिर्ता हुने सम्भावना छैन।'

राष्ट्रिय पहिचान संरक्षण संयक्त संघर्ष समितिका संयोजक श्रेष्ठले सरकारले आजसम्म आफ्नो कुराको बेवास्ता गरेको भन्दै बुधवार माइतीघरमा 'भद्र अवज्ञा आन्दोलन' गर्ने बताए। बुधवारको आन्दोलन अन्तिम शान्तिपूर्ण आन्दोलन हुने भन्दै श्रेष्ठले भने, 'सरकारले भोलिसम्म पनि 'गुठी विधेयक खारेज' नगरे हामी चरणबद्ध आन्दोलनको घोषणा गर्नेछौं। '

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्ने कार्यक्रम थियो। तर, प्रधानमन्त्रीले पहिला बोल्ने कि प्रतिपक्षले भन्ने विवादले संसद अवरुद्ध हुँदा बैठक बुधवार बिहान ११ बजेसम्मका लागि स्थगित भयो। यता, पहिला प्रधानमन्त्रीले राष्ट्रिय सभामा समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो। तर, प्रधानमन्त्रीको सो कार्यक्रम रद्द भयो। यता, प्रतिनिधि सभामा बोल्न नपाएपछि प्रधानमन्त्रीले आज बेलुकी बालुवाटारमा पत्रकार सम्मेलन गर्ने भएका छन्। उनले त्यस पत्रकार सम्मेलनमा गुठी विधेयकको बारेमा सम्बोधन गर्न सक्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell