PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सुर्खेत काठमाडौं दुई फ्लाइट: रनवे विस्तार गरी रात्री उडानका लागि उपकरण जडान गर्न ध्यानाकर्षण



पी बी खड्का

सुर्खेत काठमाडौं दुई फ्लाइट: रनवे विस्तार गरी रात्री उडानका लागि उपकरण जडान गर्न ध्यानाकर्षण

सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतको विमानस्थल स्तरोन्नति गर्नुपर्ने माग अघि सारिएको छ। विमानस्थलको धावनमार्ग र रात्रीकालिन उडानका लागि आवश्यक उपकरण जडान गर्न बुद्ध एयरले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।

धावनमार्ग छोटो हुँदा ठुला जहाज अवतरण र उडान गर्न नसकिने भएकाले थप रन–वे विस्तार गर्नुपर्ने माग अघि सारेको हो। हाल विमानस्थलको धावनमार्ग एक हजार २५५ मिटर रहेको छ। उक्त धावनमार्गमा ३४५ मिटर थप गरी एक हजार ६०० मिटर पुर्‍याउँनु पर्ने भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। सुर्खेत विमानस्थल एक हजार ६०० मिटर भए एटीआर–७२ सिटे जस्ता विमान अवतरण र उडान भर्न सकिने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीको भनाई छ।

एनका अनुसार ठूला विमान सञ्चालनमा ल्याउन सके लागत खर्च कम लाग्ने हुँदा हालको भाडादरमा थप छुट हुने उनी बताउँछन्।

‘अहिले यो धावनमार्ग छोटो छ। यसमा थप ३४५ मिटर धावनमार्ग थपियो भने एटीआर–७२ सिटे विमान पनि अवतरण र उडान भर्न सकिन्छ,’ उनले भने, ‘त्यसो भयो भने ठूला विमान सञ्चालन गर्न सके लागत खर्च कम आउने र भाडादरमा थप छुट हुन्छ।’

त्यस्तै, प्रदेश सरकारसंग खराब मौसम र रात्रीकालिन उडान भर्नका लागि विभिन्न उपकरण जडान गर्नुपर्ने बताएको छ। खराव मौसमका लागि RNAV Procedure  जडान गरे सहजै उडान भर्न सकिने उनको भनाई छ। विमानस्थलमा रन–वे लाइट र एप्रोज लाइट पनि जाडन गरी रात्रीकालिन उडान भर्न सकिने बताए।

बुद्ध एयरका इन्जिनियर उदय श्रेष्ठले सुर्खेत विमानस्थलको अहिलेको धावनमार्गको उत्तरतर्फ विस्तार गर्दा सहज हुने बताए। उनले दक्षिणतर्फ काँक्रेविहारको डाँडाले समस्या पर्ने भएकोले कठिन हुने र उत्तरतर्फ गराउँदा सहज हुने जनाए।

त्यस्तै, टोलीले आवश्यक विमानस्थल स्तरोन्नतिका लागि वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलाई समेत आग्रह गरेको छ।

 

सुर्खेत–काठमाडौं दुई फ्लाइट

प्रदेश राजधानी सुर्खेत–काठमाण्डौँ नियमित उडान गत चैत २५ गतेदेखि सुरु गरेको बुद्ध एयरले असारदेखि दैनिक दुई वटा फ्लाइट भर्ने भएको छ। हाल दैनिक विहान काठमाण्डौँ–सुर्खेत ८ बजेमात्रै उडान गरेको बुद्ध एयरले असार १ देखि काठमाण्डौँ–सुर्खेत बेलुका ४ बजे उडान भर्ने भएको हो। त्यस्तै, सुर्खेतदेखि काठमाण्डौँका लागि विहान ९:३० बजे दैनिक उडान हुने गरेको छ भने, अव बेलुका ५:३० बजे नियमित उडान भर्ने भएको छ।

 

भाडादर घटाउन यात्रुको पर्खाइ

बुद्ध एयरका बजार निर्देशक जोशीकाअनुसार यात्रुको चापका आधारमा भाडादर समायोजन गरिने बताए। अहिले तत्काल भाडादरमा हेरफेर नहुने भन्दै दैनिक बेलुकाको उडान एक महिनासम्म आधार मानेर मात्रै भाडा समायोजन गर्न सकिने बताए। हाल सुर्खेत–काठमाण्डौंको भाडादर ७ हजार ७३० रुपैयाँ र ११ हजार ३०० रुपैयाँ रहेको छ। यसरी दैनिक दुई वटा उडानले कर्णालीको नागरिकमा प्रत्यक्ष फाइदा पुग्ने भन्दै ठुला विमान उडाउन धावनमार्ग विस्तारलाई जोड दिनुपर्ने बताए। यसरी धावनमार्ग विस्तार गरी ठुला विमान अवतरण र उडान भरे हालको भाडादरमा २० देखि २५ प्रतिशतसम्म घटाउन सकिने उनको भनाई छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell