काठमाडौं: हुम्लामा यात्रुवाहक जिप कर्णालीमा खस्दा हराइरहेका यात्रुहरूको खोजी गर्ने नेपाली सेनाको हेलिकप्टर गोताखोर लिएर हुम्ला उडेको छ। मंगलबार दिनभर खोजी गरिए पनि अवस्था यकिन भएको छैन। गृह मन्त्रालयको निर्देशनअनुसार सेनाको हेलिकप्टर हुम्ला उडिसकेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।
सेनाको हेलिक्टरले सशस्त्र प्रहरीका गोताखोर लिएर गएको हो।'सशस्त्रसँग तालिम प्राप्त गोताखोर भएकाले उनीहरुलाई प्रयोग गरिएको हो,' प्रवक्ता पाण्डेले भने। कुरिनटारबाट सहायक प्रहरी निरिक्षक लक्ष्मण बहादुर बस्नेतको कमाण्डमा ४ जना गोताखोर सहित १० जनाको टोली हुम्ला गएको हो।
गोताखोर नहुँदा उद्धार कार्यमा समस्या भएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए।
मङ्गलवार हुम्लाको तल्लोखार्पुबाट सदरमुकामतर्फ आउँदै गर्दा लु १ ज ७१६६ नम्बरको जिप खार्पुनाथ गाउँपालिकाको वडा ५ मा करिब ४५ मिटर तल नदीमा खसेको थियो।
दुर्घटनामा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल (शाही), चालक मणि शाही, स्थानीय चन्द्र हमाल, नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह, कौरा दमाई र उनका दुई वर्षका छोरा गोकुल सुनार र काठमाडौँ थानकोटका मिस्त्री राजु श्रेष्ठ बेपत्ता भएका छन्।
मंगलबार दिउँसो १२ बजेको आसपासमा घटना भए पनि कठिन भूगोल र पानीको उच्च बहावका कारण खोजी कार्य प्रभावकारी भएको छैन।