
काठमाडौं : एएफसी कप २०१९ अन्तर्गत समूह चरणको पाँचौ खेलमा नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले फराकिलो हार बेहोरेको छ। बुधवार बंगलादेशी लिग च्याम्पियन अबहानी ढाका लिमिटेडसँगको खेलमा मनाङ ५-० को फराकिलो अन्तरले पराजित भएको हो।
यसअघि समूहको पहिलो खेलमै अबहानीसंग घरेलु मैदानमा मनाङ १-० ले पराजित भएको थियो। यस पटक बंगलादेशी क्लबसंग उसैको मैदानमा बदला लिने दाउ बनाएको मनाङले एक गोल समेत गर्न सकेन उल्टै ५ गोल खायो।
बंगबन्धु स्टेडियममा भएको खेलमा अबहानी ढाकाका लागि नेवाज जिबोनले ११औं, केर्भेन्स बेलफोर्टले पहिलो हाफको इन्जुरी टाइममा, एम रानाले ६३औं मिनेटमा, सन्डे चिजोबा इनवाडिएलुले ७५औं र इन्जुरी टाइममको पाँचौ मिनेटमा मामुनुल इस्लामले गोल गरे।
समूह ई मा मनाङको यो तेस्रो हार हो। अबहानीसंग दुवै पटक पराजित भएको मनाङ यसअघि चेन्नायी एफसीसँग पराजित भएको थियो। यस्तै मिनेर्भा पञ्जावसंग भने होम र अवे दुवै खेलमा मनाङले बराबरी खेलेको थियो।
समूह ई मा एक खेल बाँकी रहँदा २ अंक मात्र जोडेको मनाङ चार टोली समावेश समूहमा पूछारमा छ। यस हारपछि मनाङको अर्को चरण पुग्ने झिनो आशा पनि समाप्त भएको छ। उता तेस्रो जित हात पारेपछि ५ खेलबाट १० अंक जोड्दै अबहानी शीर्ष स्थानमा उक्लेको छ भने दोस्रो स्थानको चेन्नायीनमाथि २ अंकको स्पष्ट अग्रता बनाएको छ।
आजै भएको अर्को खेलमा चेन्नायीनले मिनेर्भासंग १-१ को बराबरी खेलेको थियो। मिनेर्भाको यो पाँचौ बराबरी हो। ८ अंकसहित चेन्नायी दोस्रो र ५ अंक जोडेको मिनेर्भा तेस्रो स्थानमा छ।